माघ २६,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका स्थित गैडहवा तालको प्रर्वद्धन गर्ने उद्देश्यले ‘प्रथम गैंडहवा ताल महोत्सव–२०७६’ हुने भएको छ । गैडहवा गाउँपालिकाको आयोजनामा यही फागुन १ देखि १० गते सम्म चल्ने होत्सवको गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जिल्लाकै ठूलो प्राकृतिक ताल भएपनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हुँदा विशेषगरी तालको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको गैडहवा गाउँपालिका अध्यक्ष बेचुलाल केवटले बताए ।
विश्व चर्चित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै भएपनि तालको प्रवद्र्धनमा कमी भएको हुनाले महोत्सवसँगै तालको प्रचार–प्रसार गर्नु महोत्सवको प्रमुख लक्ष्य रहेको उनले बताए । १० दिनसम्म चल्ने महोत्सवमा तालसँगै स्थानीय परिकार,भेषभूषा र संस्कृतिको प्रदर्शन र प्रवद्र्धन गरिने महोत्सव प्रचार–प्रसार उप–समिति संयोजक भुवन राना मगरले बताए । ‘गैडहवा ताल,घुम्न जाऔं,डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष २०२० सफल पारौं।’ ,बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैडहवा ताल महोत्सव–२०७६ सफल पारौं ।’ र हाम्रो अभियान पर्यटकको मान–सम्मान,गैडहवा ताल हाम्रो शान ।’ भन्ने नारा सहित आयोजना हुन लागेको महोत्सव एकलाख दर्शकले अवलोकन गर्ने र करोडको कारोबार हुने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष तथा महोत्सवका संयोजक केवटले बताए । ८४ विगाहा क्षेत्रफलमा फैलिएको ५० विगाह जलाशय भएको गैडहवा तालको संरक्षण र प्रर्वद्धनका लागि डिपिआर तयार भएको गाउँपालिकाका प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेले बताए । तालको ३.६ किलोमिटर क्षेत्रफल समेटेर ४० करोड लागतमा बन्न लागेको संरचनाको डिपिआर तयार भएको उनले जानकारी गराए ।
तालमा पर्यटन भित्राउन र सयर गर्नको लागि गाउँपालिकाले डुङ्गा र स्टिमरको व्यवस्था गरेको छ । जसको उद्घाटन आइतबार नै गाउँपालिका अध्यक्ष केवटले गरेका छन् । महोत्सव सम्पन्न गर्नका लागि गाउँपालिकाले नगद ५ लाख प्रदान गरेको बताउँदै महोत्सवले तालसँगै स्थानीय कला र संस्कृतिको प्रर्वद्धन हुनेमा आफू ढुक्क रहेको अध्यक्ष केवटले बताए । करिब ३० लाख अनुमानित खर्च लाग्ने महोत्सवमा सर्वसाधारणका लागि रु ५० र विद्यार्थीलाई रु ३० को टिकट रहेको प्रचार–प्रसार समितिका संयोजक भुवन राना मगरले बताए । महोत्सवमा स्थानीय, राष्ट्रिय मात्र नभई भारतीय कलाकारको समेत प्रस्तुुती रहने प्रचार–प्रसार समितिका सह–संयोजक सन्दिप गुप्ताले बताए । महोत्सवको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया