माघ २४,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका- १ स्थित दानापुरमा ११ औं कञ्चन गजेडी दानापुर ताल महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य ढकालले लुम्बिनी आउने पर्यटकलाई दानापुरमा ल्याउन सकिने बताए ।
ताललाई थप व्यवस्थित गरेर लुम्बिनीका पर्यटक यहाँ बास बस्न आउन लाएक बनाइनुपर्ने जोड दिए । प्रदेश सरकार सहयोग गर्न तयार रहको उनले बताए । समयमाई सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले तालको पर्यटन प्रवद्र्धन र सिमसार क्षेत्रको संरक्षणमा तीनै तहका सरकारको ध्यानाकर्षण गराउन वृहतस्तरमा ताल महोत्सव आयोजना गरिएको बताए । ताल क्षेत्रको पर्यावरण संरक्षण गर्दै पर्यटकीय पुर्वाधारहरु बनाउन एक अर्ब रुपैयां बढीको गुरुयोजना बनेको भन्दै अध्यक्ष थापाले यसमा साथ दिन स्थानीय, प्रदेश र संघीय सरकारसंग आग्रह गरे । महोत्सव उद्घाटन समारोहमा कन्चन–१ का अध्यक्ष हरिनारायण थारु, सोमनाथ शर्मा, लेखनाथ पौडेल, बाबुराम पौडेल, यमबहादुर क्षेत्री, दिनानाथ आचार्य, भरतमणि सापकोटा लगायतले कञ्चन गाउपालिकामै पहिलोपटक वृहत स्तरमा ताल महोत्सवसंगै व्यापार मेला आयोजना हुनु सकारात्मक भएको धारणा राखेका थिए ।
समयमाई सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महोत्सवमा पर्यटन, कृषि, घरेलु उद्योग, हस्तकला तथा औद्योगिक उत्पादनका एक सय बढी स्टल रहेका छन् । महोत्सवमा कञ्चन गाउपालिकाभित्रका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, दानापुर तालमा डुंगा शयर, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, अन्तर विद्यालय बाघचाल, जोडी नृत्य प्रतियोगिता, मौलिक खाना तथा मास्टर सेफ प्रतियोगिता, बाल उद्यान आकर्षणका रुपमा रहेका छन् । फागुन ७ गतेसम्म चल्ने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको लक्ष्य रहेको छ ।
प्रतिक्रिया