ताजा अपडेट »

अमेरिकामाथि ओमानको शानदार जित

विहीबार, २३ माघ २०७६

माघ २३,

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमानले अमेरिकामाथि शानदार जित हात पारेको छ । बिहिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । ओमानका लागि अकिब इल्यास र मोहमद नदीमले अर्धशतकीय इनिङ्सको योगदान दिए । ११० बलको सामना गरेका अकिबले ७२ रन जोड्दा नदीमले अविजित रहँदै ५५ रन बनाए । यस्तै, खवर अलिले ३१ रन तथा सुरज कुमार ३३ रनमा अविजित रहे । अमेरिकाका लागि सौरभ नेत्रवालकर, रष्टी थेरन, इयान हल्याण्ड तथा स्टेभन टेलरले समान एकएक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यसमा सात चौका सामेल थियो । अक्षय होमराजले ३३ रन बनाए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिए । बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई/दुई तथा कलिमउल्लाहले एक विकेट लिए ।

जितसँगै ओमानले लिगको शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी गरेको छ । ९ खेल खेलेको अमेरिकाको १२ अंक छ भने ८ खेल ओमानले १२ अंक जोडेको छ । बुधबार भएको पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।