शान्ता अधिकारी
फागुन २,
चितवन । कुखुराको दानाको मूल्य निरन्तर उकालो लाग्दै गर्र्दा अण्डाको मूल्य भने दिन प्रतिदिन घट्न थालेको छ । विगत तीन महिनाको अवधिमा दानाको मूल्य तीनपटक बढेर प्रति ५० किजी ३५० रुपियाँ पुगेको छ ।
अण्डाको मूल्य झरेर प्रतिक्रेट (३० वटा अण्डा) २३५ रुपियाँभन्दा कममा बिक्री भइरहेको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चले दिएको जानकारीअनुसार दाना उद्योग सङ्घको हालैको भेलाले ५० किलोग्राम तौल भएको प्रतिबोरा दानामा १५० रुपियाँ वृद्धि गरेको हो । सङ्घले विगत तीन महिनामा तीन पटक नै दानाको मूल्य बढाएको छ । दाना बनाउने कच्चा पदार्थ मकै र भटमासको पिनाको मूल्य अत्यधिक वृद्धि भएकाले दानाको मूल्य वृद्धि गर्नुपरेको सङ्घको दाबी छ ।
दाना उद्योगले गत मङ्सिरमा ७५ रुपियाँ, पुसमा १२५ र माघमा १५० रुपियाँ प्रतिबोरा दानाको मूल्यवृद्धि गरेको हो । दानाका लागि आवश्यक मकैको मूल्य तीन महिनाको अवधिमा बढेर ४० रुपियाँ प्रतिकिलोग्राम पुगेको छ भने भटमासको पिना ५५ रुपियाँबाट बढेर ६५ रुपियाँ प्रतिकिलोग्राम पुगेको छ । शान्ता अधिकारी /गोरखापत्र
प्रतिक्रिया