बुटवल । रुपन्देही उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित एक कार्यक्रममा ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको पदस्थापन सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम तथा निर्वाचन समितिका संयोजक यमलाल खनालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शपथ गराउदै प्रमाणपत्र वितरण गरेका थिए । पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले उद्योगीहरुका समस्याहरुको सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास र औद्योगिक बातावरण बन्न नसक्ने बताए । उनले लुम्बिनी प्रदेशलाई औद्योगिक हव बनाउन प्रदेश सरकार र उद्योगीहरुवीचको सम्बन्ध राम्रो हुनु पर्ने धारणा राख्दै उद्योगीहरुसंग समन्वय गरेर अगाडी बढ्न आग्रह गरे ।
आफू उद्योग मन्त्री र मुख्यमन्त्री बनेको समयमा उद्योगीहरुका समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको स्मरण गर्दै उद्योग नीति तथा ऐनहरु निर्माण गर्दा उद्योगीहरुले दिएको सुझाव समावेश गर्न सकेमा आत्मनिभर अर्थतन्त्र स्थापना गर्न सहज हुने विश्वास आफूले बोकेको धारणा राखे । सम्बोधनका क्रममा गिरीले राजनीतिक परिवर्तनले मात्र आर्थिक विकास हुन नसक्ने हुदाँ राष्ट्रको समृद्धिको लागि स्वदेशी उत्पादन बढाउँदै त्यसको प्रयोगमा सबैको ध्यान जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले उद्योगीहरुमा संस्कार परिर्वतन गर्नु जरुरी भएको बताउँदै संघले सामाजिक क्षेत्रको उत्तरदायित्व अन्तरगत अगाडि बढाएको मुटु अस्पतालको स्थायित्वको लागि गम्भिर बन्न आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार उद्योगीहरुको समस्यामा सधै गम्भिर रहेको उल्लेख गर्दै उनले नीजि क्षेत्रसँग स्थानीय सरकार सहकार्य गरेर अगाडि बढ्दै आएको र आगामी दिनमा पनि ठोस कार्यका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले पछिल्ला दिनमा उद्योग व्यवसाय क्षेत्र संकटमा परेको उल्लेख गर्दै औद्योगिक मुद्दाहरुलाई राज्यले सम्बोधन गर्न नसकेको भन्दै गुनासो गरे । कार्यक्रममा स्वागत गर्दै अध्यक्ष माधव प्रसाद पौडेलले संघको गरिमा र लक्ष्यलाई आफ्नो कार्यकालमा तलमाथि हुन नदिएको उल्लेख गर्दै संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई आगामी दिनमा पनि नयाँ कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले प्रतिवद्धता मन्तव्य राख्दै उद्योगीहरुका तमाम समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसुर बा“की नराख्ने बताए । उनले उद्योगी, व्यवसायीहरुका साझा समस्या समाधानका निम्ति रुपन्देही जिल्ला र जिल्ला बाहिरका अन्य व्यवसायिक संघसंस्थाहरुस“ग निरन्तर सहकार्य गरी अघि बढ्ने विश्वास दिलाउदै संघको संस्थागत विकास, उद्योगीका क्षमता विस्तार र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाए ।
दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष माधव प्रसाद पौडेलले र सञ्चालन महासचिव हरिबहादुर खत्रीले गरेका थिए भने दोस्रो चरण नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले कार्यक्रमको अध्यक्षता र महासचिव हिरामणी भट्टराईले संचालन गरेका थिए ।
प्रतिक्रिया