ताजा अपडेट »

तिलोत्तमामा सामुदायिक कुकरको बन्ध्याकरण तथा रेविज खोप

आइतबार, १९ कार्तिक २०८०
1 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामुदायिक कुकरको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु भएको छ । तिलोत्तमा नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा आइतबारदेखि सो कार्यक्रमको सुरु भएको हो ।

हर्ट नेपालको प्राविधिक सहयोगमा भएको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम कात्तिक २४ गतेसम्म संचालन हुने छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले सामुदायिक कुकुरको संख्या न्यूनिकरण आवश्यक रहेकाले बन्ध्याकरणको अभियान नै संचालन गरिएको बताए । साथै नगर प्रमुख खाँणले रेविज लागेर कसैले पनि अहिलेको अवस्थामा मृत्युवरण गर्नु भनेको गम्भीर लापरवाही भएको बताउँदै यसको नियन्त्रणको लागि सबैको साथ र सहयोग आवश्यक रहने बताए।

यस्तै उपप्रमुख जागेश्वरीदेवि चौधरीले सामुदायिक कुकरको नियन्त्रण गर्ने कुरा जटिल विषय भए पनि सबै मिलेर यसको न्यूनिकरण गर्न सकिने बताइन् । हर्ट नेपालका निर्देशक खगेश्वर शर्मा भटट्राईले कुकुर मार्नु अमानवीय कार्य भएकाले बन्ध्याकरणको माध्यमबाट नियन्त्रण गर्नु उपयुक्त हुने बताए । साथै निर्देशक शर्माले तिलोत्तमा भित्रका ३०० कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए ।

डा.विनोद भण्डारीले समुदायमा रहेका ७०/८० प्रतिशत कुकरहरुको बन्ध्याकरण भएमा ७/८ वर्षमा कुकरको संख्या धेरै कम हुने भएकाले देशभरका कुकुरहरुलाई बन्ध्याकरण गर्नु पर्ने बताए ।