ताजा अपडेट »

कुरा वनकाे : प्रसङ्ग वैभवकाे

शुक्रबार, १७ कार्तिक २०८०
1 Shares

"भाले बाघहरु प्रेममा पागल बनेपछि आफैले बीजारोपण गरेका डमरुहरु मारिदिने रहेछन् ।" याे कुरा पढेपछि मलाई अनाैठाे लाग्याे । याे संसार बिचित्रकाे छ । काेही आफन्ती छैनन् क्या हाे याे दुनियाँमा लाग्याे !

"चरा नै बसाइँ सरिदिएपछि वन नै सखाप हुन बेर लाग्दैन किनकि थुप्रै बिरुवा कीराकाे आक्रमणबाट छिटाे प्रभावित हुने खाले हुन्छन् । ती कीराका नियन्त्रक चरा हुन् । चरा अन्यत्र सरिदिए भने कीराले बिरुवा सखाप पार्छ । परिणामत : धेरै वन सुक्छ । वन जति सुक्याे गर्मीयाममा उति डढेलाे लाग्छ ।" माथिका दुई प्रसङ्ग मेरा लागि राेचकमात्र हैन गम्भीर भएर साेचक लाग्याे । मैले दुबै प्रसङ्ग ददि सापकाेटाद्वारा लिखित "वनकाे वैभव"पुस्तकमा राताे धर्काे लगाएर पढेकाे हुँ ।

उनी लेखक हुन् ,पत्रकार हुन् । यतिबेला नेपाल आएका छन् ,फ्रान्सबाट । पन्छी जगत,त्याे नेपाल र दुखेकाे युराेप पुस्तक प्रकाशन भईसकेका छन् । उनका लेखाइ सरल छन्  ,मिठासपूर्ण छन् अनि पढिरखुँ पनि । वनकाे वैभवमा चराकाे स्वभाव,वन्यजन्तुका क्रियाकलाप,भाव, नक्कल अनि यसबाट मानिसले सिक्ने कुरा मज्जाले उल्लेख गरेका छन् ।

पुस्तक रङ्गीन छ,चित्रहरु छन् । कागज पनि चिल्लाे छ । आँखा दाैडाईरहन मन लाग्छ । साँच्चिकै पुस्तकमा ईकाेसिस्टम,यसकाे बुझाई र प्रभावकाे बारेमा गहन अध्ययन पनि छ । उनी लेख्छन् - काेस्टारिकाबाट गाेल्डेन टाेड नामक पाहा हराएकाे छ । हामीलाई याे सूचनाले कतै हाम्रा जलचर,थलचरहरु क्रमश: बिलीन हुँदै त छैनन् ,लाग्छ ।  मानव सभ्यताकाे विकास हुनु अघि नै प्रकृतिमा जीवजनावरहरुकाे उत्पादन भईसकेकाे पुस्तकमा उल्लेख गरिएकाे छ । यी सबै कुराहरु उनका गफ हाेईनन् बरु हुन् त नेपाल लगायत अन्य देशमा गरिएका खाेज, अध्ययन र अनुसन्धानका परिणामहरु । पुस्तकमा तथ्य छन् , तथ्यांक छन् । उनका मिहिनेत प्रष्ट झल्किएका छन् ।

जनावरका संगीत,त्यीनका ताल र प्रभावलाई लेखकले मिठाेरुपमा पस्केका छन् पुस्तकमा । निष्ठुरी चरा,दयालु चरा ,इमानी अनि बेईमानी चराका बारेमा समेत लेखकले खुलस्त पारेका छन् । शाेकमा परेका चराले  पीडालाई अभिव्यक्त गर्ने तरिका समेत उल्लेख गरेका छन् । शाेकमा सामेल हुन दिईने सूचना पद्धति  झन् उल्लेखनीय लाग्याे । ददि सापकाेटा उनी आफै वन विज्ञानका विद्यार्थी भने हाेईनन् तर उनकाे निरन्तरकाे खाेज,अध्ययन र अनुसन्धानले वन, वातावरण र जैविक विविधतामा राम्राे अध्ययेता बनायाे ।

धेरै कुरा त उनलाई चितवनकाे परिवेशले सिकायाे । सानैमा उनले आफ्नै छरछिमेकबाट,त्यहाँ उपलब्ध हुने गैंडा,हात्ती लगायतका जीवजन्तूबाट प्रशस्त सिक्ने अवसर प्राप्त गरे । आफ्नै भूगाेल,भाषा र भावनाले उनलाई प्रकृतिप्रेमी बनायाे । उनले बाघ आफैमा नरभक्षी हाेईन भन्ने कुराकाे प्रमाण जुटाएका छन् । सकेसम्म बाघ मानिससँग तर्किन खाेज्छ तर लुक्दालुक्दै पनि जम्काभेट हुँदा आफ्नाे सुरक्षाका लागि मानिसमाथि जाईलाग्नु उसकाे बाध्यता हुने बुझियाे ।

मानिसले जीवजनावरबाट अनाहकमा मृत्युवरण गर्नुपर्ने बाध्यताले वन संरक्षणमा लागेकाहरुलाई ठूलाे चुनाैती थपिदिएकाे छ । मानिस र वन्यजन्तुकाबीचकाे द्वन्द्वका कारण दिनप्रतिदिन संरक्षणकर्मीहरु तनावमा छन् । व्यवस्थापनका विषयमा छलफल धेरै भए बरु क्षतिपूर्तिका लागि पहल हुनुपर्नेमा जाेड दिन थालेका छन् । लेखक सापकाेटाले आफूलाई पर्यटनकर्मी समेत ठान्छन् । जीवजन्तू र पंक्षीहरुलाई संरक्षण गर्दै पर्यापर्यटनमा जाेड दिन सकिएमा आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई नेपालमा भित्र्याएर मनग्ये आर्थिक लाभ प्राप्त गर्न सकिने उनकाे लेखबाटै थाहा पाउन सकिन्छ ।

जीवजन्तू र पंक्षीका भाषा बुझ्न कठिन छ । उनीहरुका स्वभाव र सरलता बुझ्न सक्ने वातावरणकर्मीहरु न्यून छन् । प्रकृतिप्रदत्त उनीहरुलाई जाेगाएर देशलाई वैभव बनाउन सकिने लेखकले पुष्टि गरेका छन् । वनमा पाईने हरेक वस्तुहरुलाई जाेगाउँदै समुचित प्रयाेग गर्न सकिएमा वनबाटै समुन्नतिकाे गाेरेटाेमा राष्ट्र उक्लिन सक्छ । वन नै वैभवकाे मुहान हुन सक्ने लेखकले ठाेकुवा गरेका छन् । तर आज देश वन देखाएर धन अन्तै खर्चिन बाध्य छ ।

नियम छन् ,कार्यान्वयनमुखी छैनन् । वनमा ढलापडा काठ छन् तर फर्निचर विदेशबाट ल्याईएका छन्  । डढेलाेले खरवाैंका काठ जलेर खरानीमात्र भएका छैनन् बरु देश जाेगी बन्दैछ । वनकाे वहुप्रयाेग गर्न सकिएमा देशलाई वैभवतिर लैजान सकिन्थ्याे ! नदी हेरेर जग्गा काकाकूल भएकाे देश नेपाल,वन र मन डढाएर कसरी समृद्ध नेपाल,सुखी नेपालीकाे आकाङ्क्षा पूरा गर्न सकिएला र ?