ताजा अपडेट »

विश्व शान्तिका लागि लुम्बिनीमा मोन्लम पूजा

विहीबार, १६ कार्तिक २०८०
2 Shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिका लागि प्राणिधान (मोन्लम पूजा ) विहिबारदेखि शुरु भएको छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीन दिने मोन्लम पूजा शुरु गरेको हो । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि बार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितीमा खेन्छेम पेमा शेर्पा (रिपोन्छे) ले मोन्लम पूजा गराएका हुन् ।

उपाध्यक्ष लामाले लुम्बिनीमा आनीहरुको मोन्लम पूजाबाट यो वर्ष पूजाको शुरुवात भएको बताउँदै आगामि दिनमा यस्ता पूजाहरु बढ्दै जाने बताए । उनले आफू कोषको उपाध्यक्ष हुँदा नै लुम्बिनीमा लामा, गुरुहरुको उपस्थितीमा विभिन्न खालका पूजा गराउने प्रतिबद्धता जनाएको बताए । उनले अब बेलाबेलामा ठूला–ठूला मोन्लुम पूजाहरु हुने बताए ।

भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्र र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने बताए । लुम्बिनीमा धार्मिक पर्यटकहरुलाई आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलने उनले बताए ।

नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनी स्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताईन ।

 पूजाको शुरुवातका दिन कोषका उपाध्यक्ष डा. लामा सहित, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य राजेश शाक्य, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो । पूजा शनिबारसम्म चल्नेछ ।