बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले रुपन्देहीमा अवरुद्ध बिकास योजनाहरु बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आम्दा अस्पताल बुटवलको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै गिरीले यहाँका निर्माणधिन बिकास योजनाहरुलाई पूर्णता दिनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथी भएर उपस्थित कार्यक्रमको मञ्चमा बोल्दै गिरीले बेलहीय–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रा योजनाहरु बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरु निरास छन् ।’–गिरीले भने, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरु उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गिरीले चिकित्सा क्षेत्रसँग जोडिएका बुटवलका शैक्षिक संस्थाहरु बन्द भएको समेत जानकारी गराए । बुटवल एक महत्वपूर्ण मेडिकल हबको रुपमा बिकास हुन सक्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय सैय्याको बनाउनका लागि टेन्डर प्रक्रिया रोकिएकोप्रति ध्यानाकर्षण गराए । उक्त अस्पतालको मुद्दा सर्वोच्चमा गएर अड्किएको बताउँदै बुटवल मेडिकल कलेजको सञ्चालनको कामलाई समेत अघि बढाउन आग्रह गरे ।
प्रतिक्रिया