ताजा अपडेट »

लुम्बिनी र बुटवलको एकसाथ बिकास आवश्यक

बुधबार, १५ कार्तिक २०८०
1 Shares

'सिंगापुर' भाषणले बन्दैन

नेपाल साच्चै विकासका लागि प्रचुर संभावना र आधार भएको देश हो । यहाँको प्राकृतिक सौन्दर्यता, हिमाल, वनजंगल, नदीनाला भौगोलिक विविधताले अन्य मुलकलाई लोभ्याई रहेको छ ।

यद्यपी हाम्रा नेतृत्व वर्ग यसको महत्व बुझेर लक्षीत योजना बनाएर अगाडि बढ्न सकेको देखिदैन । जसका कारण हामी बिकासमा पछाडि परेका हौं । विकासको मुल बहुदल, गणतन्त्र, लोकतन्त्र भएपछि मात्र सम्भव देखेका हाम्रा दलीय नेतृत्व वर्ग आन्दोलनमा सफल देखिए । हरेक आन्दोलनमा एकताबद्ध भएर अगाडि बढेरै विजयी हासिल पनि गरे । तर गणतन्त्र स्थापना भईसकेपछि संविधान कार्यान्वयन र विकास निमार्णको लागि एक जुट भएको अनुभुति नेपाली जनताले गर्न पाएका छैनन् ।

दुई तिहाई भनिएको सरकारले पनि बिकासको छनक दिन सकेन, गठबन्धन सरकार पनि सत्ता जोगाउनमै सीमित छ । जसका कारण महंगी भ्रष्टाचार बढ्दो छ जनतामा निरासा छाएको छ । हरेक पार्टि पार्टि भित्र लोभ लालच, शक्तिको चलखेल, गुटगत झगडा, पदको भागवण्डा, बिषयगत भन्दापनि ब्यक्तिगत गुटबन्दी, आर्थिक लोभ लालचतिरै उन्मुख भएको पाइन्छ । अर्थात दलालहरुले नै नेतृत्व बर्गलाई आफ्नो ईसारामा अगाडि बढाएका कारण कुनैपनि सरकार सफल हुन नसकेका हुन भन्दा कत्ति फरक पर्दैन । नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न सकेको देखिँदैन ।

पश्चिम नेपालकै औद्योगिक एवं ब्यापारीक केन्द्र बुटवलले लामो समयदेखि आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । संघीय राजधानी काठमाण्डौपछि दोस्रो आर्थिक राजधानी बन्न सक्ने रुपन्देही प्रसस्त आधार र सम्भावना भएको ठाउँ हो । बुटवललाई केन्द्र वनाएर समग्र लुम्बिनी प्रदेशको बिकास गर्न सकिने प्रसस्त आधार र सम्भावना छ ।

लुम्बिनी प्रदेशको राजधानी नवन्दैमा बुटवललाई हल्का ढंगले आकलन गनुपर्ने अवस्था हैन । राजधानीका लागि प्रसस्त आधार सम्भावना भएको रुपन्देही जिल्लाको जुन कुनामा राजधानी वनाएपनि प्रदेशवासीलाई सेवालिन निकै सुबिधा पुग्ने थियो तर त्यसप्रति रुपन्देहीका सांसदले सोच्न सकेनन् । तर पनि राजधानी नबन्दैमा बुटवल खतमै भयो, अव भविश्य सकियो भन्ने अवस्था भनी होइन ।

पहिलेको बटौली अहिलेको बुटवल

पहिलेको बटौली अहिलेको बुटवलको आफ्नै ईतिहास र पहिचान छ । राणा र पञ्चायत कालमा नुन, तेल, मरमसला, लत्ताकपडाको व्यापार, ढाक्रेहरुको चहलपहल निकै हुने गर्दथ्यो । पश्चिम नेपालकै व्यापारीक नाका भनेर चिनिने बटौली अहिले भने सुनसान छ । पञ्चायत र राणा शासनका बेला यहाँ व्यापारकै शिलशिलामा विभिन्न जिल्लाका उद्यमी व्यवसायी मालसामान जोडजामका लागि आउने गर्नाले निकै चहलपहल हुने गर्दथ्यो । त्यतिबेला तिनाउ नदिदेखि पूर्वको भागलाई खस्यौली भनिन्थ्यो । भने तिनाउ पश्चिमको भागलाई बटौली भनेर चिनिन्थ्यो ।

तर अहिले वारीपारी दुवै ठाउँलाई बुटवल भनेर चिनिन्छ । तरपनि गएको २० । २५ वर्ष यता खस्यौलीमा निकै बिकास निर्माणका काम भएर आधुनिक सहर वनेपनि पारी पहिलेको बटौली सुनसान हुदै गएको छ । पुराना एतिहासिक घरहरु निकै जीर्ण वनेका छन् । पछिल्लो समय बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको सिक्सलेन सडक समयमा निर्माण कार्य सम्पन्न हुन नसक्दा उजाड जस्तै भएको छ ।

एउटा ठेकेदार र हाम्रा केही उच्च पदस्थ कर्मचारी र नेतृत्वको कमजोरीले धेरै ब्यवसायी बिस्थापित समेत हुन थालेका छन् । यो दुखद पक्ष हो । यस्ता सवालमा सरोकारवाला निकायको तत्काल ध्यान जान जरुरी छ । जनताले हाम्रा जनप्रतिनिधिवाट मिसन, भिजन, गोल अर्थातचुनाबी घोषणा पत्र अनुसार काम खोजेका छन् न कि पदमा पुरुयाएर बेथिती र राजनीतीक अराजकता ? राणा र पञ्चायतकालमा व्यापारका कारण निकै चम्केको यो ठाँउ अहिले सुनसान छ ।

बुटवल उपमहानगरपालिका वडा नम्वर १ र २ मा पर्ने यो क्षेत्रको बजार वरिपरिको वातावरण प्रदुषित छ भने कतिपय पुराना एतिहासिक घरहरु भत्किएका र भत्किने अवस्थामा छन्, केही मर्मत सम्भार भएपनि योजना अनुरुप गरिएको छैन, केही ठाउँ अतिक्रमणको चपेटामा परेकाछन् । यस क्षेत्रमा रहेका मठमन्दिर जीर्ण छन् । हुन त यो ठाउँलाई निर्वाचनमा स्याटलाईट सहर, स्मार्ट सिटी वनाउने भनेर राजनैतिक दलले बिकासका नारा पनि अगाडी नसारेको होईन । भोटको राजनीती क्षणिक नै हुन्छ भने जस्तो यो ठाँउले काँचुली फेर्न सकेको छैन ।

जीतगढी किल्ला र नयाँ पूर्वाधार

यही क्षेत्रमा रहेको निकै महत्व बोकेको ऐतिहासिक जीतगढी किल्ला अहिले पनि मर्मत सम्भार भएर पनि वेवारिसे जस्तै ओझेलमा छ । जसको महत्वलाइ योजना बनाएर स्थानिय सरकारले बेच्न सकेको छैन । हुनत भारतको गुजरात, अनि सिगापुर, मलेसिया र बैकंक पुगेर फर्केपछि पटक पटक बुटवल र लुम्बिनी अञ्चलकै आर्थिक बिकासको सम्भावना देखेर त्यसवारे यस क्षेत्रको केही सम्भावना बहसकै लागि उजागर गरेको पनि थिए ।

तर पनि यसवारे यहाँका उद्योगि ब्यवसायी, जनप्रतिनिधि र सरोकारवाला निकायको खासै ध्यान गएको छैन । बुटवल पुरानो आर्थिक एवं ब्यापारीक राजधानी नै हो । रुपन्देहीको लुम्बिनी नेपालकै शान पहिल्यैदेखि अन्तर्राष्ट्रिय पर्यटकिय केन्द्र हो । चुरेकोे फेदिमा रहेको वस्ति र तिनाउ नदि अनि नेपाली वीरहरूले अंग्रेज फौजलाई हराएको जितगढि किल्ला बुटवललाई चिनाउने प्रमुख आधार हुन ।

पाल्पाको नुवाकोटगढी, बसन्तपुर त बुटवलका लागि गर्मि छल्दै पहाड हिमाल मात्र होईन बुटवल भैरहवा तराई अवलोकन गर्ने राम्रो गन्तब्य पनि हो, जुन बुटवलसंग जोडिएको छ । सडक, बैक वित्तिय सुविधा,प्रसस्त उद्योग कलकारखाना स्थापना भईसकेको यस क्षेत्रको सामाजिक,आर्थिक,पर्यटन विकासका लागि केही नयाँ सोंच र कार्य सम्पन्न गर्ने अठोट सहितको योजना दिन जरुरी छ । युवा पिडिले खोजेको विकासका नयाँ पुर्वाधार भनि अव केही थप्नु आजको आबश्यकता वनेको छ ।

यहाँका नगरपालिकाहरूले निजि क्षेत्र संगको हातेमालो र सहकार्यको साथमा बुटवल र तिलोत्तमा नगरको सिमा मगर घाटदेखि तल्लो सिद्ववावा चिडियाखोला सम्म करिव ६ किलोमिटरमा ड्याम बाधेर त्यो जलासयमा २० ̷ ३० वटा डुंगा स्टमर चलाउने व्यवस्था गर्न सके बुटलले साच्च्ौ काँचुली फेर्न सक्छ । वारी बुटवलवाट पारि नेपाली वीरहरूले अंग्रेज फौजलाई हराएको जितगढि किल्ला र पुरानो बटौलीलाई जोड्ने आकर्षक फराकिलो पुलहरु दुई तीन ठाउमा बनाई ठाउँ ठाउँमा पानीका फोहोरा र आकर्षक लाईटिनिङ दिने हो भनी यसले वालवालिका देखि युवा,प्रौढ र बृद्धसम्मको मन तान्न सक्छ ।

अनि नदीको किनारी भागमा ठाउ ठाउँमा सेल्फि जोन निर्माण गर्ने,नदि किनारमा कफि सेन्टर,रेष्टुरेन्ट तथा यस क्षेत्रको थारु,मगर,कुमाल लगायत विभिन्न जातीका कला सस्कृति,उत्पादन पाईने व्यवस्था गर्नु पर्छ । हुन त हामीलाई यस्ता कुरा असम्भव नै लाग्न सक्छ । भारतको गुजरातको अहमेदाबादमा सहरवाटै सबरमति नदी घुसायर वरिपरी पर्यटकिय पुर्वाधार निर्माण गरेर राम्रो पर्यटन विकास गर्न सकेको उदाहरण देख्न सकिन्छ ।

केही समय पहिले सिंगापुरको मेरीलायन पार्कमा पुग्दा आफुलाई बुटवलको मध्यभागवाट बगेको तिनाउ नदीमा केहीगर्न सकिन्छ, सम्भावना छ भन्ने कल्पना भएको थियो । बुटवलको तिनाउ नदिलाई लामो ताल वनाएर आकर्षित गर्न सकिन्छ ।जुन ठाँउ राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने आशा जाग्यो । नेपाल प्रशस्त प्राकृतिक साधन स्रोत भएर पनि विकासमा निकै पछाडी परेको महसुस हामीले गरेकै छौ । यहाँको वन जंगल, जडिबुटि, जल सम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् ।

तर प्रजातन्त्रको पूर्नस्थापना भएको पनि ३ दशक भन्दा बढी भयो राज्यको स्पष्ट निती नियम नबन्नु, जनप्रतिनिधिमा बिकास निर्माण प्रति दृढ संकल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । अहिलेको पिढीले भाषण भन्दा कामको परिणाम खोजेको छ तर त्यो यथार्थमा हुन सकेको छैन । तरपनि हाम्रा नेताहरुले नेपाललाई बेलाबेलामा सिंगापुर बनाउने भाषण गरिरहनु हुन्छ । एशियाका राष्ट्रहरु मलेसियाको क्वालालम्पुरमा भएको किवानिज कन्भेन्सन (प्ष्धबलष्क ब्क्एब्ऋ द्धघचम ऋयलखभअतष्यल) मा साथीहरुसहित सहभागि हुने केही दिन मलेसिया र सिंगापुर घुम्ने अवसर प्राप्त भएको थियो ।

त्यहाँको विकास निर्माण र सभ्यता देख्दा त्यो उजाड भूमीमा यो कसरी सम्भव भएकोहोला भनेर अचम्म नै लाग्यो ? प्राय त्यहाँ पुग्ने पर्यटकहरु पनि यस्तै अनुभुती गरेको भान हुन्थ्यो । त्यहाँको सडक संजाल,स्वच्छ वातावरण पर्यटकलाई आर्कषण गर्नका लागि बनाइएका विकास निर्माणका संरचना,पुल पुलेसा र नागरीकहरुको आनीबानी व्यहोरा साच्चै अनुकरणीय र उदाहरणीय नै थिए ।

जुन ठाँउ वास्तवमै नियम कानुन र सिस्टममा हिँडेका कारणले विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेण्डा भन्ने भनाई त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका लागि कहिल्लै झगडा हुदैँन, व्यक्तिगत स्वार्थ,सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरु धेरै टाढा भएको अनुभव गर्न सकिन्छ । खासै अन्न, फलफुल उत्पादन नहुने सिंगापुरमा हरेक कुरा बाहिरबाट आयत हुने गर्छ । लगानीका लागि खुल्ला रुपमा विदेशी मुलुकका उद्योगि व्यवसायीलाई अवसर दिनुले नै गएको २५÷३० वर्ष यता त्यहाँको विकासमा कायापलट भएको रहेछ ।

त्यहा पुग्नेहरुलाई पनि लाग्दो हो हाम्रो नेपालमा त हिमाल,पहाड तराईमा प्राकृतिक बर्दान नै छन् नगरेरै हो । हाम्रा नेता मन्त्री, सासंद, योजनाविद,उच्च प्रशासक पनि घुम्न त धेरै पुग्नु हुन्छ तर आएपछि वास्तबमै भुल्ने वानी छ भन्दा फरक पर्दैन । मलेसियाको राजधानी क्लालाम्पुरको पहाडी क्षेत्रमा रहेको जेन्टिन हाइल्याण्डमा रहेका संरचना हेर्नका लागि मात्र दैनिक ५० औँ हजार पर्यटक पुग्ने गर्दछन् । त्यस्तै विश्वकै ठुलो विष्णु भगवानको मुर्ति, (बटु केभ) पुत्राजया–९०० मिटर सम्म उचाई रहेको के एल एल् सिसि टावर,केएल् टावर, विभिन्न पार्कहरु, सडक संचरना, सपिङ्ग महल साच्चै अचम्म लाग्दो गरि बनाइएको छ ।

सिंगापुरमा राजा लि को पालादेखि निकै विकास भएको हो । त्यहाँ नियम, कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति पनि छैन भन्छन् त्यहाँका जनता । त्यहाँका आर्कषक संरचनाहरु सामुन्द्रिक जलयात्रा, टावर, अन्डरग्राउण्ड मार्केट, सपिङ्ग कम्प्लेक्स, ट्रेन यातायातले पनि पर्यटकहरुलाई निकै आर्कषित गरेको पाइन्छ । मलेसिया र सिंगापुर घुमेर हेर्दा नेपालमा यस्तो विकास सहजै पुरानै सोचं र कार्यशैलीले कल्पना गर्न सकिन्न । तरपनि नेपालमा संभावना भनि प्रयाप्त छ । हाम्रा नेतृत्ववर्गमा दृढ कामगर्ने ईच्छा शक्तिको खाँचो छ ।

पहिले उजाड मरुभूमी भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भुमि सिंगापुर साच्चै शुन्यबाट शुरुभई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकिय गन्तव्यको रुपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्र्दभमा हेर्दा हामी सँग सिंगापुरको जस्तै विकास गर्न अपार सम्भावना छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, झरना, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जातजाती आदि पर्यटन विकासको बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्व सँग इच्छा शक्तिको कमि र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नराम्रा पक्ष हुन् ।

नेताले देखेको सिंगापुररुपी नेपाल साच्चै असम्भव भने होइन । तर नेताहरुको कार्यशैली र आफ्नो मात्र फाइदाहुने काममा झुकाव देख्दा हामीलाई उनिहरुका भाषणहरु मजाक जस्तो लाग्नु स्वभाविक नै हो । सिंगापुर वनाउने कुरा त धेरै टाढाको कुरा हुने नेपालमा हरेक प्रदेशका आफ्ना पहिचान सहित सम्भाना भनि छन् । बुटवल देखि वसन्तपुरडाँडा र नुवाकोट सम्म केवलकार निर्माण भएकोले प्रसस्त भारतीय पर्यटक आकर्षण गर्न सक्ने सम्भावना बढेको छ तर यि क्षेत्रमा पर्यटकका लागि आबश्यक पूर्बाधार बनाउन आवश्यक छ ।

बुटवलवाट करिव २ घण्टाको पैदल यात्रामा पनि पुगिने यी दुई डाँडावाट हिमाल, तराई पहाडका दृश्य अवलोकन गर्न सकिने मात्र होईन यहाको रमणिय वातावरण र हावापानीले स्वदेसी बिदेसि पर्यटकलाई अनौठो अनुभुती पनि दिन्छ । गर्मि मौसममा बसन्तपुर र नुवाकोट डाँडामा पुग्दा जाडोको अनुभव हुन्छ ।

महानगरको गुरुयोजना आवश्यक

यो क्षेत्रमा सम्भावना भएपनि यस क्षेत्रका सरोकारवाला निकायले कहिल्यै पनि मसिनो गरि सम्भाव्यताको अध्ययन गरेको पाईदैन । यी सम्भावना पुरागर्नका लागि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्वार्थनगर नगरपालिका जोडेर महानगर वनाएर गुरु योजना वनाउन हिम्मत गर्न जरुरी छ । र, निजी क्षेत्र संग हातेमालो गरे वजेटको पनि खासै समस्या देखिदैन । अनि यस क्षेत्रको बिकासका लागि तिनाउ गाउँपालिका संग हातेमालो गर्नपनि त्यत्तिकै आवश्यक छ ।

यहाँका सम्भावनाप्रति हाम्रा योजनाविद र सरकार चलाउनेहरुको पटक्कै ध्यान जान सकेको छैन । पर्यटनको प्रचुर संभावना छ, उत्पादित वस्तुहरुका लागि राम्रो बजारको सम्भावना भएको विशाल छिमेकी मुलुक चीन र भारत रहेका छन् । तर नेपालीले आफ्नो देशमा केही अवसर नपाएर विदेशी मुलुकमा कामको खोजिमा जान तछाड मछाड देखिन्छ ।

साच्चै नेपालको विकास गर्ने हो भने विकास निर्माण र रोजगारको स्पष्ट निति निर्माण गरेर युवा शक्तिलाई विदेशीनबाट रोक्न जरुरी छ । हामीले लुम्बिनीको माटोलाई प्रयोग गरेर एउटा कोशेली (उपहार) मात्र बनाएर बिक्री गर्न सक्ने हो भनेपनि प्रसस्त आम्दानी गर्न सकिन्छ, थुप्रैले रोजगार पाउँछन् । तर बिडम्बना विदेशी बौद्धमार्गिहरुले लुम्बिनीको महत्व बुझे पनि हामी नेपालीले नै विश्व प्रख्यात लुम्बिनीको महत्व बुझ्न सकेका छैनौ ।

यसै बिच कातिक १४ गते नेपाल भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेर सान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई अपिल समेत गरेका छन् । लुम्बिनी आएका उनले मायादेबि मन्दिर परिसरबाट संबोधन गर्दै बुद्धका सन्देश पञ्चंशील सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दो जुल्दो भएको बताए । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पुगेर महासचिव गुटेरेसले बिश्वलाई शान्तिको आग्रह गदै लुम्बिनी घुम्न पनि सबैलाई आग्रह गरेकाले यो पबित्र शान्ति भुमी लुम्बिनीले बिश्वसामु पुन महत्व र चर्चा पाएको छ । तरपनि लुम्बिनी गूरु योजना ४० बर्ष बित्दा पनि पुरा हुन सकेको छैन् ।

रुपन्देही भारतीय सिमासंग जोडिएको जिल्ला जहाँ नेपालकै दोस्रो ठूलो बेलहिया सुनौली भन्सार नाका छ । यहाँको बिकासमा यहाँका ब्यापारीक प्रतिष्ठान बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थनगर उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही ब्यापार संघ, होटल ब्यवसायी लगायत अन्य विभिन्न संघ सस्थाको सक्रियता निकै सह्रानिय छ । यहाँ पहिल्यै देखि उद्योग कलकारखनाको राम्रो बिकास हुदै आउनु र पछिल्लो समय भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण, सेजको स्थापना, बुटवल भैरहवा सिक्सलेन सडक निर्माण, बुद्ध सर्किट, बुटवलमा अन्तराष्ट्रिय सभाहल, तिलोत्तमा नगरमा पाँचतारे टाईगर प्यालेस रिसोर्ट लगायत संरचनाको निर्माण जस्ता कारणले पनि यहाको पहिचान, महत्व र सम्भावना प्रचुर छ ।

तसर्थ पुरानो आर्थिक केन्द्र बुटवल र बिश्व प्रख्यात लुम्बिनी यथार्थमा स्वदेशी बिदेशीको संगमस्थल बन्न सक्छ । अनि भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलवाट नियमित उडान सुरु हुन सके यस क्षेत्रले साँच्चै बिकासमा काचुली फेर्नेछ र यस क्षेत्रको सामाजिक, आर्थिक र धार्मिक पर्यटनको बिकासमा थप टेवा पुग्ने छ ।