बुटवल । बुटवल उपमहानगरपालिका-११ देवीनगरमा सार्वजनिक सम्पत्तिमाथि व्यक्तिले डोजर चलाएका छन् । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको सार्वजनिक जग्गालाई आफ्नो दाबी गर्दै त्यहाँ निर्माण भएको शिवालय मन्दिरको संरचनामा डोजर चलाइएको हो । आफ्नो जग्गासँग जोडिएको सार्वजनिक जग्गामाथि दाबी गर्दै बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले यही कार्तिक ६ गते डोजर चलाएर मन्दिरको संरचना भत्काएपछि स्थानीय टोलबासीले विरोध जनाएका छन् ।
दक्षिणतर्फ चौरालीपथ र पश्चिमतर्फ रङ्गशाला मार्गसँग जोडिएको जाग्गामा एकाविहानै दलबलसहित आएर मन्दिरको संरचना भत्काइएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए । ‘एकाविहानै लु १ ख ४३४२ नम्बरको जेसिबी आएर मन्दिरको संरचनामाथि नाचिरहेको थियो । कोही बोल्न नसकोस भनेर करिब डेढ दुई सय जना युवाहरुको जत्था लिएर उनीहरु आएका थिए ।’–पङ्गेनीले भने, ‘हामी उठेर हेर्न आउँदा लाखौंको संरचना नष्ट भैसकेको थियो, डोजर अघि गएर उभिएपछि शिवालय मन्दिर भने बचाउन सक्यौं ।’ डोजर चलाउँदा टोलबासीबाट सहयोग संकलन गरी निर्माण गरिएको २० लाख बढीको सम्पत्ति नष्ट भएको उनले बताए । सार्वजनिक जग्गा संरक्षणका लागि टोलबासीले रकम संकलन गरी ट्वाइलेट, शिवालय मन्दिर तथा ट्रस भवनको निर्माण गरेका थिए । सार्वजनिक जग्गामा डोजर चलाउने व्यक्तिहरुले आफूहरुलाई धम्क्याउने तथा थर्काउने गरेको गुनासो गर्दै उनले शान्ति सुरक्षाको समेत माग गरे ।
यसअघिका जग्गा धनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको उल्लेख गरे । भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्त नम्बरनै छुट्टिएकाले दाबी गर्न नमिल्ने उल्लेख गरे । सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्सुराम अर्यालले बताए । दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाविहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।
दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहदुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दाबी गर्दै आएका छन् । ब्लु प्रिन्टमा समेत कित्ता छुट्याउनु अघि रहेको कित्ता नम्बर ५७० नम्बरको जग्गा रङ्गशाला मार्गसँगै जोडिएको हुँदा आफूहरुको जग्गाको पश्चिम मोहडा भएको दाबी गरे । उनले आफूहरुले घर निर्माणका लागि उपमहानगरपालिकाबाट नक्सा पास पनि प्राप्त गरिसकेको र पटक–संरचना हटाउन आग्रह गर्दा पनि भएपछि डोजर लगाउन बाध्य भएको उल्लेख गरे ।
जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लगाइने बताए । ‘बुटवल उपमहानगरले तिहारपछि मात्रै नापजाँच सुरु गर्छ सोही अनुसार कसको जग्गा कुन हो भन्ने टुङ्गो लाग्छ त्यसपछि मात्रै कारबाही प्रक्रिया अघि बढ्छ ।’–क्षेत्रीले भने । हाललाई उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको उनले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।
प्रतिक्रिया