ताजा अपडेट »

गाउँमा मान्छे छैनन् !

मंगलबार, १४ कार्तिक २०८०
1 Shares

दसैंका बेला गाउँमा केही मान्छेहरु आए । सहरबाट, भारत र तेस्रो मुलुकबाट समेत । गाउँमा छिनभर चहलपहल देखियो । दसैं पनि सकियो । जमराजस्तै गाउँमा मान्छेहरु पनि सुके । घटे । गाउँलेहरु पनि आ-आफ्ना काममा फर्किने क्रम जारी छ । केही मान्छेहरु तिहार मानेर फर्किने छन् आआफ्ना गन्तव्यमा ।

दसैंभर गाउँघरका फोटो देखिए फेसबुकभरि । घर पोतेको । फूलबारीमा फूल फुलेका । बाटोघाटो चिटिक्कै पारेको । पिङ् खेलेको । रमाइलो गरेको । कोतघरमा पूजा गरेको । मार हान्दै गरेको दर्दनात्मक फोटो पनि । भाइसाथी मिलेर भुटुवा भुट्दै गरेको । भुटुवासँग थुतुवा थुत्दै गरेको पनि । कतिपयले तास खेल्दै गरेको पनि राखे ।

दिदीबहिनी, बुहारी, भाउजुले घाँसको भारी बोकेको, दाउरा ओसारेको पनि देखियो फोटोमा । गाउँमा बसेर, गाउँकै सेवा गर्नेका फोटो नदेखिएको पनि होइन तर पाहुनाका फोटोहरु भने अनौठो लाग्ने । ती सबै फोटोहरु क्षणिक प्रदर्शनीका लागि हुन् भन्ने मनले ठम्याउने ।

गाउँमा कोदो झुल्दैछ । धान काट्नेको माँचो देखियो । अर्मपर्म गर्ने कामका लागि गाउँलेको अभाव सुरु भइसक्यो । पाहुनाले पर्म गर्ने कुरो पनि भएन । धेरैजसाका खेतबारीमा वनमाराले राज्य जमाएको पनि भेटियो । हतारमा कतार गरी जानेहरुदेखि खोरियामा वन उमारेर कोरिया जानेहरुका कुरा पनि गाउँमै सुनियो । फलनाका छोरा र छोरी फलना ठाउँमा छन् । पैसा पठायो रे ! फलानाका छोरोको भिसा लाग्यो रे ! मेरा बा गाउँमा यसपाली त यस्तो सुनियो धेरै ।

विदेश नजानेको घर देखिएन । विदेश जान्छु भन्नेको कुरै चर्को । किन यस्तो भयो मेरो देश ? मेरो गाउँ ? कसरी रोक्न सकिएला गाउँका मान्छेहरुलाई गाउँमै ? पढ्न मात्र होइन धेरैजसो कामकै खोजीमा तेस्रो मुलुक गएका छन् । जाने तयारीमा छन् । राज्य, सरकार आफ्नो नागरिकलाई विदेशमा पठाएर रेमिट्यान्सको व्यापार गरिरहेको जस्तो लाग्यो । गाउँ रित्तो बनाएर अवैधानिक तरिकाले विकसित मुलुक जान थालेको राष्ट्रिय पत्रिकाको व्यानर न्यूज बनेको देख्दा कसका आँखा ओभाना होलान् र ?

गाउँमा बाटो पुग्यो । बिजुली गयो । पानीका धाराहरु छन् । स्वास्थ्य चौकी छ । स्कूलहरु छन् । सहकारी छन् । तर सबै पुगेर पनि मान्छेहरु अत्यन्तै कम छन् । गाउँघर उजाड छ । उदास छ । अर्मपर्म गर्ने छिमेकीहरु छैनन् । विहेमा जन्ती र मर्दा मलामी जानेहरु खोज्नुपर्ने दिनहरु आइसके । पूजामा प्रसादीग्रहण गर्ने भक्तजनहरुको अभाव देखिन्छ ।

विकासका मूल गाउँबाटै फुटाउने भनेको सुनेकै हो । गाउँ नै विकासको मूल आधार भनेको जानेकै हो । पञ्चायतकालमा गाउँफर्क अभियान चलाएको पढेकै हो । सबै कुरा जानेर, सुनेर र पढेर के लाग्यो र अहिले गाउँघरका मान्छेहरु जाँतोमा ओइरो हालेजस्तै विदेशतिर लागेको देख्दा अनौठो लाग्छ ।

युवा, प्रौढहरुको यो हविगत आउला भनेर सपनामा पनि चिताइएन । यतिबेला यो परिवेश कसका कारण देखा परेको होला ? राजनीतिक पार्टी, सरकार, सत्ता सञ्चालकहरु वा अरु कोही दोषी छन् ? आफ्नो देशमा बस्न पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो । नागरिकहरुको अधिकार कसले खोसी रहेको छ ?

गाउँका गाउँ मान्छेहरु तराइतिर सरेका छन् । सुविधाका लागि,कामका लागि ,सेवा भोगका लागि होला भनौं भने सबै सेवा,सुविधा गाउँघरमै पुगिसके । फेरि बसाइसराइँ किन त ? यो प्रश्न सबैका मनमा छन् । सहरतिर सबै कुराको सेवा सुविधा त छन् तर गाउँघरमा जस्तो सामीप्यता, सम्मान, माया, स्नेह र हेरविचार सहरमा पाउन मुस्किल छ । सहरमा घर नजिक होलान् तर मन टाढा छन् । गाउँघरमा घरका दूरी टाढा होलान् तर मन भने गहिरो र गाढा छ ।

नेपालमा यसरी नै बस्तुसरि मान्छेको निर्यात् हुन थालेमा के अवस्था आउला ? देशमा सरकारले को माथि शासन चलाउने हो ? को माथि राज्य सञ्चालन गर्ने हो ? सरकारमा बस्नेहरुले नेपालीलाई नेपालमा टिकाउनका लागि उद्योगधन्दा, व्यापार, व्यवसाय, कलकारखाना सञ्चालनमा ल्याउन सक्लान् ? ज्ञान,सीप,क्षमता भएका नेपालीहरुलाई नेपालमा नै आफ्ना प्रतिभा पोख्ने ठाउँ मिल्न सक्ला ? व्यवस्थापन होला ?

समाजवादोन्मुख समाजको परिकल्पना त गरियो तर त्यो सपना पूरा गर्ने कामतिर सरकार कटिवद्ध र प्रतिवद्ध हुन सक्यो त ? देखिएन सम्भावना । भएन सोही अनुसारका काम कुरो । हैरान छन् जनता । मख्ख छ सरकार, वाल्ल छन् राजनीतिक पार्टीहरु । मिसन चौरासी सबै पार्टीको अभियान छ तर चौरासीसम्म राज्यको अवस्था के हुने हो ? राज्यव्यवस्था के हुने हो, देशको अर्थतन्त्र कसरी टिक्ला ? यसको आंकलन गरेर कसैले सोचेको देखिएन । बाक्सा त थाप्लान् चौरासीमा तर बाक्सामा भोट पर्ला कि अरु केही ?