ताजा अपडेट »

कोरोना संक्रमण : चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

मंगलबार, २१ माघ २०७६

माघ २१,

बेइजिङ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ४२५ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र २० हजार भन्दा बढीमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखा परेको छ ।

चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ । विश्व स्वास्थ्य संगठनले गत बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीन बाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” फिलिपिन्सका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रविन्द्र अबेयासिंघेले बताए ।

बेलायत, रसिया र स्वीडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए । चीनमा सोमबार सम्ममा कोरोना भाइरसका कारण ४२५ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ६४ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल संक्रमित व्यक्तिको संख्या १७ हजार ५०० पुगेको छ ।

व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यहीकारण करिब एक करोड १० लाख जनसंख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवातजावतमा कडाई गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब ५ करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् । -रासस