ताजा अपडेट »

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीहरुको आन्दोलनले नियमित सञ्चालन होला ?

मंगलबार, १४ कार्तिक २०८०

बुटवल । उद्घाटन भएको डेढ वर्षसम्म पनि रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै यहाँका व्यवसायीले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् ।

विमानस्थल बनाउन मुआब्जासहित करिब ४० अर्ब लगानी भएको छ । विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको व्यवसायीहरुले दाबी गरेका छन् । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै यहाँका विभिन्न ३२ वटा संस्थाले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

उनीहरुले ३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । सञ्जालले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरुलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने जनाएको छ ।

यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरुलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने र नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्याली गर्ने कार्यक्रम पनि तय गरिएको छ । सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार आन्दोलनका कार्यक्रममा दुई दिन विमानस्थलको गेट अगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने तयारी रहेको छ ।

विमानस्थल पूर्ण क्षमतामा नचल्दा व्यवसायीसँगै सरकारको अर्बौं लगानी डुब्ने अवस्थामा पुगेको सञ्जालका उपाध्यक्ष सीपी श्रेष्ठले बताए । उनले काठमाडौंका केही व्यवसायीले निहीत स्वार्थका लागि योजनाबद्धरुपमा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नदिएको आरोप लगाए । संजालका महासचिव संजय बजिमयले विमानस्थललाई लक्षित गरी ठूला होटेलमा अर्बौं लगानी भए पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा व्यवसाय संकटमा परेको र सरकारले व्यवसायीका मागप्रति बेवास्ता गर्दा व्यवसायी आत्महत्या गर्ने अवस्थासम्म पुगेको बताए ।

२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सले केही समयपछि नै आफ्ना उडान रोकेको छ । यस्तै, केही समय चार्टर्ड उडान भरेको हिमालय एयरले पनि उडान रोकेको छ । अहिले नेपाल एयरलाइन्सले सातामा एक उडान मात्र गर्दै आएको छ ।