माघ २१,
काठमाडौं । प्याजको मूल्य वृद्धिको मारमा परेका उपभोक्ता मूल्य घट्न नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा परेका छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकाशिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको मूल्य उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने कुखुराको मासु हाल खुद्रा बजारमाको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।
नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकाशिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघट्ने उनीहरूको भनाई छ ।
तर यता उपभोक्तावादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढ्नुको प्रमुख कारण कालोबजारी गर्नेको चलखेल रहेको बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन विगतदेखि कालो बजारी गर्न पल्किएकाहरुको कारण बजारभाउ आकाशिएको बताउछन् । केही समय अघि कुखुराको चल्ला मार्ने काम नियोजित रुपमा गरिएको भन्दै कालोबजारीका माफियाहरुलाई कारवाही नगरे सम्म यो चलिरहने उनको ठहर छ । –गोरखापत्र दैनिक
प्रतिक्रिया