ताजा अपडेट »

गुण्डा नाइके ‘रिगल’लाई आममाफी विरुद्ध दशैंलगत्तै भारतीले फेरी सुरु गरिन अनशन

आइतबार, १२ कार्तिक २०८०

बुटवल । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध भारती मानन्धरले दशैंलगत्तै पुनः अनशन सुरु गरेकी छन्। श्रीमान् चेतन मानन्धरको खुँडा प्रहार गरि दिनदहाडै हत्या गरेका रिगललाई सरकारको निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन कैद मिनाह गरेका थिए ।

भारतीले काठमाडौंको माईतीघर मण्डलामा पुनः रिले अनशन सुरु गरेकी हुन्। २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुण्डा नाइके योग ढकाललाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएको थियो।

अभियुक्त ढकालले नेपालगन्ज–८ का मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेकोमा दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा दोषी ठहर भएका अन्य १२ जनालाई ३ वर्षदेखि १० वर्षसम्मको सजाय भएको थियो।

राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा गुण्डा नाइके रिगलसहित छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेका थिए।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी उनी सोही निर्णयविरुद्ध अनशन बसेकी हुन्। भारतीले सर्वोच्च अदालतमा दायर गरेका रिट निवेदनको सुनुवाइका लागि कात्तिक १४ मा पेसि तोकिएको छ। यसअघि गएको असोज २५ गते उक्त मुद्दामा सर्वोच्च अदालतको पुर्ण इजलासले ‘हेर्न नमिल्ने’ आदेश दिएको थियो।