बुटवल । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’-भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरु भएको अभियान अन्तरगत दशै अवधिभर १२२ जना सडकाश्रित मानवको उद्धार भएको छ । मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरु भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ शनिबार विहान बुटवल आइपुगेको हो ।
अभियान अन्तरगत बुटवलबाट ३ जना सडकआश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान पश्चिम महाकालीमा पुगेर समापन गरिने उनले बताए । प्रसिद्ध गायिका आनिछोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन, मानसिक तथा सामाजिक रुपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।
अभियानमा सहभागीहरुलाई बुटवलमा स्वागत गर्दै बुटवल उमपहानगरका प्रमुख खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे । बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धारपछि बोल्दै बुटवल उपमहानगरका प्रमुख पाण्डेले उनीहरुको व्यवस्थापनका लागि सम्पूर्ण दायित्व पूरा उपमहानगर तयार रहेको बताए । श्रक आश्रितहरुको परिवारसँग पुनः मिलन हुन सकोस भन्ने उद्देश्यसहित उद्धार र मानव सेवाको कार्यमा उपमहानगर विगतदेखिनै सहकार्य गर्दै आएको र आगामी दिनमा पनि तयार रहेको बताए । एक व्यक्तिले र बुटवल उपमहानगरको दायित्व मात्र नभई सम्पूर्ण मानव जातिले सेवाभावको सोच बिकास गर्न जरुरी रहेको उनले बताए ।
यसैगरी प्रसिद्ध गायिका आनिछोइङले हर मानवमा करुणा भाव हुन आवश्यक रहेको उल्लेख गरिन् । ‘मानव सेवाका लागि सधैभरी हामीले गोजीबाट पैसा निकालेर दिनुपर्छ भन्ने छैन, हामीले गर्ने व्यवहार र बोल्ने बोली सधै सकारात्मक भए अभियान सार्थक हुन्छ ।’–उनले भनिन् । अभियान अन्तरगत बुटवलमा भएको मावनउद्धार कार्यमा मानव सेवा आश्रमका अभिभावक लोकनाथ भुसाल, शेरबहादुर गौतम, आश्रमका लुम्बिनी संयोजक सरु अधिकारी, रुपन्देही संयोजक टिकामाया थापा लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आश्रमका सदस्यहरुको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रमले देशका २४ वटा सेवाकेन्द्रबाट हालसम्म १ हजार ६ सय बढीको उद्धार गरी आश्रमको व्यवस्था गरेको छ । रुपन्देहीमा १८० जना सडकाश्रितहरुलाई उद्धार गरी उनीहरुलाई बासको व्यवस्था गर्दै आएको छ । मुलुकलाई सडकआश्रित मानव मुक्त बनाउने अभियान अन्तरगत मानव सेवाआश्रमको सहकार्यमा हालसम्म बुटवल उपमहानगरपालिकासहित १३ वटा स्थानलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको छ ।
प्रतिक्रिया