ताजा अपडेट »

सम्झनाको तरेलीमा दशैँ

आइतबार, ०५ कार्तिक २०८०
1 Shares

बडा दशैँ घटस्थापना देखि नै सुरु हुन्थ्यो । पहिलापहिला स्कुल बिदा घटस्थपना देखि हुन्थ्यो । दशैँ आउला, खाउला पिउला , चोरी लिउला, धत म त छुट्टै बसौला भनेर औला भाच्दै रमाइलो गर्थ्यौ । घटस्थापनाका दिन जमरा राख्दा अर्कै अनुभव हुथ्यो । घरको अध्यारोमा टपरीमा मलिलो माटो राखेर जौका जमरा जमाउथ्यौ । ती जमरामा दिनदिनै पानी राख्थ्यौ । बिहान सबेरै उठेर हातमुख धोएर चोखनित गरेर आम्खोरामा पानी लगेर हाल्थ्यौ । जमरा कहिले टुसाउछ । कहिले उम्रन्छ भनेर निकै सारौ उत्सुकता हुन्थ्यो । जब टुसाउथे, कहिले ठुलो हुन्छ भन्ने गथ्यौ । जमरा औलाले दिनदिनै नाप्थ्यौ कति ठुला भए भनेर ।

दशैँ लागेपछि विभिन्न देविदेवताका शक्ति पिठहरुमा पुजाआजा हुन्थ्यो । हामिले शक्ती पिठलाइ कोट भन्छौं । धुर्कोट( गुल्मी), अर्घाकोट( अर्घाखाँची) त्यहाका चर्चित कोटहरु हुन अहिले पनि । अन्यत्र पनि कोटहरु छन् । बर्षको एकपटक दशैँको बेला सबै कोटहरुमा बिधिपुर्वक पुजा हुन्छ । सत्तमी देखि ती कोटहरुमा धुप, ध्वाला, चामल, भेटी पैसा फुल प्रसाद लिएर जान्थ्यौ । एकदुई जनाले गाउभरिका धुप ध्वाजा लगेर जानू पर्थ्यो ।

यद्यपि अहिले पनि यो चलन छ । कहिले मालारानीको कोट, कहिले खड्क छत्र धुर्कोट, फाप्रे, उल्क, अर्घा लगायत ठाउहरुमा सत्तमी देखि नवामीसम्म धुपध्वजा लगेर जान्थ्यौ । यसरी धुप ध्वाजा चडाउदा मनका इच्छा पूरा हुने बिश्वास थियो र छ । आफना भाकल(सन्कल्प)पूरा भएपछी वा पूराहुने कामना सहित शक्तिपिठको आराधना गरिन्थ्यो । धुपध्वजा प्रसाद चडाइल्थ्यो । बलि पनि दिइन्थ्यो । मनोकामना पुरा गर्नको लागि खास गरेर यस्तै शक्ति पिठ कोट एवम् झाक्री देवता र सुपादेउरालीलाइ भाकल गरिन्थ्यो र अहिले पनि गरिन्छ ।

घटस्थपना पछी नै गाउमा माटोले बनेका घरहरु लिप पोत गरिन्थ्यो । रातोमाटो र सेतोमाटो कमेरोले घर लिपेर चिटिक्क पारिन्थ्यो । अहिले पनि दशै शुरु भयो की यस्तै काम शुरु हुन्छ । पिपलधारा(धुर्कोट गुल्मी)को माथी अर्तोसमा रातामाटो पाइन्छ । त्यो ठाउँ अहिले पनि रातो माटोले चर्चित छ । छिमेकी साविकका गाविसहरुका बासिन्दाहरु पनि त्यहा माटो लिन आउथे ।

गहिरो खाल्टो खनेर माटो निकालिन्थ्यो । सारै जोखिम लाग्थ्यो । रातोमाटो लिनेको भिडाभाड हुन्थ्यो । मैले पनि धेरै पटक माटो बोकेको छु । सबैले बोक्थ्यौ ।माटो बोक्दा एकपटक कुकुरले झन्डै परलोक पठाएको थिएन । चोरपानीबाट निस्केर माटो खन्ने दिदिको घरबाट गएको थिए । कुकुर खतरै रहेछ । झ्वाम्मै म माथी पर्यो । कुकुर र मेरो फाइट नै चल्यो एकछिन । पछी आत्मसमर्पण गर्ने बाध्यता भो । दगुरेर भाग्दाभाग्दै बारिको डिलमा पुगेको थिए ।

कुकुरले लखेट्दै थियो । वारिको डिलमा ढुंगाको पर्खाल रहेछ । त्यहीबाट अर्को मुनिपट्टीको बारीमा हाम फाल्छु भनेको त त्यो पर्खाल नै भत्कियो । त्यही ढुङ्गासगै अग्लो ढिक(डिल)बाट तलसम्म गोलमोटल लोटियो(लडियो) । तल गएर बल्लतल्ल उठे तर शरीर चलाउन भएन फेरि पल्टिए । खै को सँग हो एकजनाको सहयोगमा बल्लबल्ल लैरो(लठ्ठी )टेकेर घर गएको थिए । सम्झिदा आङ्गै जिरिङ्ग हुन्छ । धन्न बाचिएछ ।

त्यसरी माटो बोकेर घर थारा(गोठ बङ्गाला) छेपिन्थ्यो(लिपिन्थ्यो) अहिले पनि यसै गरिन्छ। दसैमा सबैका घर चिटिक्क हुन्थे । झ्यालढोकामा रङ्ग लगाइन्थ्यो । रंग सारै बसाउथ्यो । झार गोडेर चिटिक सफा हुन्थे सबैका घर । एकदिन डुवाको( घरमा निकाशबाटो) सफा गर्दथ्यौ । खनखोरस गरेर बाटा हिड्न सजिलो बनाउथ्यौ ।

दुर्गा लागे पछि घटस्थपाना पछाडिका दिनहरु कोटकोटमा बिहान बेलुका बाजा बज्दथे । बिहानबिहान बाजाले नै ब्युझयाथ्यो । संयोग नै त्यस्तै हो कि आकाशमा त्यतीबेला समूहसमुहमा थुप्रै चराहरु उत्तरबाट दक्षिण तर्फ जान्थे । हामिले तालतरा भन्थ्यौ । सायद तालमा बस्ने चरा भएर तालचरा भनेको होजस्तो लाग्छ । आकाश माथीमाथी आउदा हामीले साथीभाइ दिदीबहिनी मिलेर पारीपारी टाडा माथि धित नमरुन्जेल हदेर्थ्यौ । अति आनन्दित मन हुन्थ्यो । सारै रमाउथ्यौ ।

हिन्दुहरुको महान चाड दशै तिहार चाडपर्वका राजा नै हुन । अघि पछी बर्षभरी पढ्ने लक्ष्यका साथ वा दाम कमाउने उद्धेश्यका साथ गाउँ बाहिर गएका सबैजना आफ्नो जन्मस्थल प्यारो गाउ सम्झेर फर्कन्थे । त्यतिबेला खास गरेर भारतको सिलाङ्ग, दिल्ली, पन्जाव, कर्नाल, लुधीआना, चन्डीगढ, बम्बइ आदि लगायतका भारतका अन्य ठाउमा रोजगारीको लागि जान्थे ।

कोहि भारतीय सेनामा भर्ती हुन्थे । सबै मुग्लानीहरु दसै तिहारमा आफ्ना मातापिता, आफन्तजन, प्रियजन, आफ्ना लालाबालालाइ भेट्न दुइचार दिन भए पनि आफ्नो परिवारसँग बस्न जन्मघर सम्झेर आउथे । अनि रमाउथे । बिदेश जानेलाई हामी लाहुरे जाने भन्थ्यौ । फलनो लाहुर गयो । फल्नो लाहुरे भयो । फलनो लाहुरे गाउमा आएछ्न भनेर कुरा गरेको हामी सुन्थ्यौ । आफ्नो, आफ्नो परिवार र आफ्ना सन्ततिको जिजिभिषाको लागि भिसा नलगाइ भारत पस्ने लर्को नै लाग्थ्यो । गाउमा खेती किसानी गरर पनि बर्षभरी खान नपुग्ने र गाउमा आम्दानीका अन्य बिकल्प नहुने दाजुभाइहरुलाइ परिवार छोड्नुको मनभरी पीडा लिएर आखाभरी धन कमाउने सपना बोकेर मुग्लान बस्नु पर्ने बाध्यता थियो । एकआद बाहेक सबैे सबैको साझा समस्या थियो । अहिले पनि अवस्था उस्तै हो ।

अहिले नेपाली दाजुभाइ दिदीबहिनी भिसा लगाएर हवाइजहाज चडेर अलि टाढा मात्र पुगेका हुन । समस्या उस्तै हो पीडा र दर्दका घाउहरु उनै हुन । आफ्नो जन्मदिने बा आमा, प्रिय जीवन सङ्गेनि र दुइटा दात उम्रेका तोते बालक छोडेर मुग्लान पस्ने कहालीलाग्दो बिवसता शब्दमा व्यक्त गर्न सकिदैन ।

यस्ता पीडा कैयौं पिडि र पुस्ताले गुजार्दै आए । अझै कति पुस्ताले गुजार्नुपर्ने हो ? थाहा छैन । कतिपय दाजुभाइ लाहुर गएर उतै हराएको र लामो समय घर नर्फकेको हामीले पनि जान्यौ । खोइ किन नर्फेकेका होलान तिनीहरु । आफ्नो सन्तान मुग्लानबाट नफर्कीदाको पिडा झन दर्दनाक हुन्थ्यो । बृद्ध बुवाआमा आफ्नै मुग्लानी सन्तानको बाटो हेरेर बस्नुपर्ने बाध्यता थियो । आखा भरी आशुका धारा टिलपिल टिलपिल गरेरका बृद्ध बुबाआमा देख्दा मनमा साह्रै पिडा बोध हुन्थ्यो र असय पिडा हुन्छ अहिले पनि ।

लहलाउदी आफ्नो जिवन संगेनी र आफ्ना प्राण प्रिय सन्तानको माया बिर्सेर किन मुग्लानी भएहोलान ? मनमा यस्तै भावना उज्जेलीत हुन्थ्यो । उता प्रदेशीको विवसता के थियो कसलाइ थाहा थिएन । मर्दोजिउदो केही थाहा हुने थिएन । बिलाशिताले भुल्यो वा विवसताले आफ्नो जन्मभुमी भुल्यो केही थाहा हुदैन्थ्यो । रोगले थलिएर बित्यो वा मुग्लानी गल्लीमा पागल भएर भौतारिएरकोछ केही थाहा हुने थिएन । लाहुर पसेका मुग्लानीहरु बेलाबेलामा चिठी पठाउथे घरमा ।

मलाइ ती चिठीहरु पढ्न दिएको याद छ । पढ्ने कामलाई चिठी बाच भन्थे । मैले चिठी पढ्दा प्रदेसीका बुवाआमा र जिवन साथीको आखाभरी अाँशु भरिन्थे । कतिपय त आफ्नो सन्तान सम्झेर, कतिपय आफ्नो जिवन सहयात्री पति सम्झेर हिक्क हिक्क गरेर रुनु हुन्थ्यो । पढ्दै गर्दा कती पटक मन थाम्न सकेको थिएन मेरो आँखाको आँशुले चिठी नै भिज्थ्यो । यस्तो लाग्थ्यो त्यतीदबेला यती धेरै पिडा किन ? किन यत्रो विवसता ? के नेपालमा जन्मनु अभिशाप हो ।

किन यस्तो ? खान नपुगेर, लगाउन नपुगेर बिदेश पस्ने बाध्यता किन ? के यो देशमा केही पनि सम्भव छैन ? के हामी सधै बिदेशीको गुलाम, उनीहरुको नोकरचाक्कर गरेर बस्ने हो ? के हाम्रो र लालावालाको भविश्यको लागि बिदेश पसिरहनुपर्ने हो ? यो पिडा अझै कति पिडीले भोग्नु पर्ने हो ? यस्ता यावत गम्भिर प्रश्नले मेरो मुटुलाइ अहिले पनि छियाछिया बनाउछ । अहिले पनि अवस्था उस्तै छ । फरक त्यती हो पहिला भारत जान्थे, अहिले अलि टाढा गएकाछन । साउदी कतार लगायतका खाडि मुलुक , पुर्व एसीयाली मुलुक मलेसिया , कोरिया, जापान, त्यस्तै अमेरिका क्यानडा एवंम अस्ट्रेलिया, बेलायत लगायतका संसारका थुप्रै देशमा कामका लागि जानुपर्ने बाध्यता अहिले पनि छ । लाखौं नेपालीहरु अहिले पनि मुग्लानी बनेको अवस्था छ ।

बिदेशका बिवसताका पिडा र दर्दहरुलाइ एक्कैछिन भएपनि बिर्सन र बिश्राम गर्न घर आउनुहुन्थ्यो । सायद घर सम्झेर आउन कति हतार हुन्छहोला उनै प्रदेसीको मनलाइ थाहाहोला । घरको प्रतिक्षा अझै हतार र अत्यासलाग्दो हुन्थ्यो । जेजस्ता पिडा मनमा तिर बनेर बसेपनि मुग्लान पसेका सबै दशै तिहार सम्झेर आउथे । सबैभन्दा धेरै खुसी ल्याउथे । रगत सुकाएर, पसिना बेचेर पैसा पनि ल्याउथे ।

घरमा चाहिने लत्ताकपडा बेडिङ्गमा बाधेर ल्याएको हामिले पनि देख्यौ । जे जे ल्याए पनि हामी केटाकेटीलाई लाहुरका चक्लेट नै प्यारा लाग्थे । चक्लेट खान पाइने हुदा कहिलेकाही मेरो बुबा पनि लाहुरे गए हुन्थ्यो जस्तो लाग्थ्यो । बुबा भने लाहुर जानू भएन । खेतीकिसानी, आधुनिक तरकारी खेती नर्सरी , दुकान र पुजापाठको काम गर्नुहुन्थ्यो । त्यसैबाट हाम्रो दैनिकी चल्दथ्यो । उबेला बुटवलबाट सयौं भरिया बोकाएर सामान लगेर व्यापार शुरु गरेको किस्सा बुबाले सुनाउनुहुन्थ्यो ।

जेहोस दशैको माहोलले मनै फुरुङ्ग र उल्लास हुन्थ्यो । अहिले सम्झिदा पनि त्यस्तै अनुभव हुन्छ। ति साथी, त्यो ठाउँ, ति आशीर्वाद दिनुहुने सबै सबै मान्यजनहरु सबैको याद मानसपटलमा अभिराम ताजै छ। सबै प्रति सम्मान, सम्झना र शुभकामना छ ।