ताजा अपडेट »

फूलपाती डायरी

शनिबार, ०४ कार्तिक २०८०
2 Shares

प्रातकालीन पैदल भ्रमण सकेर घरमा आउँदा सवा छ बजिसकेको थियो । भान्साकोठामा पानी तताएँ । सबिनाले घरधन्दा सुरु गरिन् । छोरो सुत्दै थियो  । तातोपानीसँगै ओखती खाएँ । शनिवारको दिन भएकोले नजिकैको क्लिनिकमा सुगर फास्टिङ्ग परीक्षण गर्न निस्किएँ । घर फर्कि आउँदा प्याज ल्याएँ ।

हतार हतार गरी खाना पकाउन सुरु गरें । करिव ४५ मिनेटमा दालभात र तरकारी तयार भएपछि सुगरको पीपी जाँच्न ढिला हुने भएकाले एक्लैले खाना स्याम्म पारें । सवा नौ वजे खाना खाइसकेको थिएँ । खाना खाएको दुई घण्टापछि पुनः सुगर परीक्षणका लागि उत्तै क्लिनिक पुगें । डबल डोज ओखती खाँदा पनि फास्टिङ्ग र पीपी बढेको रिपोर्ट आयो । केही दिन अघिदेखि यस्तै भइरहेको छ ।

विहानको खानापछि नेपालका चर्चित नियात्राकार प्रतीक ढकालसँग क्षणभर कुराकानी भएको थियो । भारतका पूर्वराष्ट्रपति डा.एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कार  प्राप्त भएको खबरमा मैले उनलाई बधाई मिसाउन फोन गरेको थिएँ । दाइले हार्दिकताका साथ स्वीकारे । उनको पुस्तक पढ्दै देश डुलेको छु । धेरै समयदेखि डाक्टर सागर न्यौपानेसँग फोन सम्पर्क भएको थिएन । कुराकानीबाट थाहा भो–उनी दसैंमा टीका लगाउन काठमाडौं जाने तयारीमा रहेछन् ।

मध्यान्हतिर सँगै जाने निधो भयो तर उनी आउन ढिला गरे । मलाई नवलपरासीको सुनवल वडा नं. ६, विसासयसम्म हुमकान्त पाण्डेय गुरुकहाँ पुग्नु थियो । चिया खान थालेकाले ढिला भएको कारणसहित डाक्टरले सुनाएपछि मेरो मन हल्का भएको थियो । उनीसँगै इन्जिनियर रञ्जन काफ्ले काठमाडौं हिडेका रहेछन् । कुरा गर्दै हामी अघि बढ्यौं । डाक्टरले छिट्टै चिनीयाँ टोली नेपाल आउँदै गरेको र रुपन्देहीका केही स्थानीय तहहरुसँग भगिनी सम्बन्धमा दोहोरो हस्ताक्षर हुने बताए । पाल्पाको तिनाउलाई पनि सोही अवसरमा भगिनी सम्बन्ध कायम गरिदिन अनुरोध गरें ।

खैरेनी बजार नपुग्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङलाई फोन सम्पर्क गरें । उनी व्यापार संघको कार्यक्रममा व्यस्त रहेछिन् । उनलाई सधैं असार १५ हुने गरेको भेटेको छु । बिदाका दिनमा समेत उनलाई फुर्सद छैन । जनप्रतिनिधि भएकै कारण हो वा बढी लोकप्रिय भएर हो थाहा भएन । तर, उनलाई भात खाने फुर्सद पनि छैन जस्तो लाग्छ । बचत तथा ऋण सहकारी संघ,लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटासँगै केहीबेर टेलिफोन संवाद गरें । दसैंको शुभकामना दिएँ । उनी भलुही घरमै परिवारसँगै रहेछन् । सुनवल,अस्नैयाँ मिलन बोर्डिङ्ग स्कूलका मालिक गोपालप्रसाद बस्यालले भने आफ्नै स्कूलमा शुभकामना आदानप्रदान र जलपान कार्यक्रम राखेको बताए ।

सुनवल बजार नपुग्दै मेरा बालसखा नेत्र पौडेलले सञ्चालन गरेका सुनवल ब्लक उद्योगमा पसियो । पानी खाइयो । डाक्टर, इन्जिनीयर र नेत्रकाबीच केहीबेर व्यवसायिक प्रश्नोत्तर चल्यो । आर्थिक मन्दीले थिलो परेको बजार र ठूला घरानियाँ कम्पनीहरुलाई राज्य दिएको प्रश्रयले आफूजस्ता साना व्यापारीहरु दिनप्रतिदिन गल्दै गएको कुरा नेत्रले सुनाए । त्यहीबाट डाक्टर र इन्जिनियर काठमाडौंतिर लागे । नेत्र र म विसासयतिर लाग्यौं उनकै मोटरमा ।

नेत्र र म बर्दघाटमा रहेको दाउन्ने माध्यमिक विद्यालयमा २०४२ देखि ४४ सालसम्म सँगै पढेका थियौं ।  हामी बाढीपीडित गाउँमा बस्थ्यौं । उमेर र कक्षामात्र होइन हाम्रो मन खुबै मिल्थ्यो । उनका आमा,बाबाले मलाई खुबै माया गर्थे । यतिबेला हामी उस्तै भएका रहेछौं बाबाआमा गुमाउनेमा । नेत्रले व्यवसाय सुरु गरेर राम्रै घर,जग्गा र गाडी जोडेका रहेछन् । छोरीलाई अष्ट्रेलियामा बिएस्सी नर्सिङ्ग पढाउँदै रहेछन् । छोरोले भने कक्षा १० पढ्दै रहेछ ।

साहित्यकार हुमकान्त पाण्डेय गुरुकहाँ पुग्नु अघि हामीले बाटाभरि अतीतलाई फर्केर हे¥यौं । स्पष्टवक्ताका रुपमा रहेका नेत्रले पुराना कुरा कोट्याइ रहँदा बाटो काटेको हेक्कै भएन । गुरुकहाँ पुग्यौं । दुईतले पक्की घरका अघि तीन थान प्लाष्टिकका कुर्ची थिए । हामी त्यहाँ पुग्न नपाउँदै गुरुजीसँग अभिवादन चल्यो । उनले छोरा मित्र पाण्डेयलाई समेत परिचित हुन बोलाए । उनी खासमा चरा तथा वन्यजन्तु विशेषज्ञ रहेछन् । सोही विषयमा नै उनले उच्चशिक्षा हासिल गरेको कुरा परिचयपछि थाहा भयो । मलाई उनीसँग पहिलादेखि नै भेट्ने रहर थियो । संयोग शनिवार नै भेट्ने दिन परेछ ।

हामीले केहीबेर चरा र वन्यजन्तुका बारेमा उनका कुरा ध्यानपूर्वक सुन्यौं । हाम्रा सामुदायिक वनका कार्ययोजनामा वातावरणीय सेवा भुक्तानी र वन्यजन्तुका कारण पुग्न गएको क्षतिका बारेमा आवश्यक कुराहरु समाहित गर्ने कुरामा जोड दिए । कहीबेर वैज्ञानिक वन व्यवस्थापन,वनका उपभोक्ताहरुका वर्तमान हैसियत र वनलाई जीविकोपार्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा वार्तालाप गर्यौं । यी कुराहरु गरिरहँदा साथी नेत्र र हुमकान्त गुरु पनि सँगै थिए । फरासिला,वजनदार विषयवस्तु सँगैको प्रस्तुति र छलफलमा आफ्ना तार्किक कुरा पस्किरहेका मित्रलाई मैले पाल्पा तिनाउको दोभानमा सामुदायिक वन समन्वय समितिका साथीहरुलाई राखेर छलफल गर्ने मनसुवाले निम्तो गरेको छु ।

त्यतिञ्जेल हामीलाई गुरुकी सहृदयी जेठी बुहारीले पानी,चिया र फलफूलले स्वागत गर्न भुलिनन् । साधारण र संस्कारी उनै बुहारीले अंग्रेजीमा स्नातकोत्तर गरेकी रहेछिन् । स्नेहपूर्ण सत्कार,मैत्रीपूर्ण पारिवारिक वातावरण अनि प्राकृतिक हराभरा बीचमा रहेको घरको सुन्दरताले मनै लोभ्यायो । गुरुका कुरा धेरै सुन्ने अवसर भने यसपाली मिलेन । उनका छोरा मित्रले हामीलाई छिनभरमै मित्र बनाइ छाडे । हिड्नेबेला गुरुजीसँगै हामीले फोटो खिच्यौं । खुसी भयौं । हार्दिकतापूर्ण विदा भयौं । गुरुले हामीलाई ‘कर्णालीका लोककथा’र ‘हुम्लाको लोक साहित्य’ पुस्तकसँगै ताजा दुईथान भोगटे सम्झनाका लागि उपहार दिए ।

बाटामा साथी नेत्रले गुरु र  परिवारजनका उच्चप्रशंसा गरे ।  स्वागत,सत्कार र सम्मानमा कुनै अपुग नरहेको कुरा सुनाइरहँदा गुरुको घर व्यवहारिक रुपमा संस्कृति र संस्कार सिक्ने थलो भएको मैले अनुभव गरें । पढालेखा मानिसको घरको संस्कार, शिष्टता र सभ्यता नै फरक हुने कुरा नेत्रले बताइरहेका थिए ।

सुनवल बजारमा खाजा खायौं । खाजा खाँदातस हामीले राजनीतिक कुराकानी समेत गरेका थियौं । मलाई बसमा चढाएर नेत्र आफ्नै मोटरमा हुँइकिए । सुनवलबाट बुटवल आउँदा अचेल मोटर भाडा ७५ रुपैयाँ पुगेको रहेछ । बुटवलदेखि ३९ किलोमीटर दूरीमा रहेको बर्दघाटको मोटर भाडा २०४२ सालतिर सायद ६ रुपैयाँ थियो होला ! समयले कति नेटो काटेको रहेछ । पुराना दिन,पुरानो साथी नेत्रलाई खुब सम्झिएँ ।

घरमा आइपुग्दा मेसेन्जरमा संस्कृतिविद् घनश्याम कोइरालाले फूलपातीको विशेष सन्देशः मातृसत्तामा सबैको रेखदेख शीर्षकको लेख पठाएका रहेछन् । थाहा भयो शनिवारको दिन त फूलपाती पो रहेछ । फूलपातीको दिन भेटघाट,कुराकानी र छोटो यात्राले मनै फुरुङ्ग भो ।