ताजा अपडेट »

भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता

शनिबार, ०४ कार्तिक २०८०

बुटवल । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ६ गतेदेखि भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सफल पार्न सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले महोत्सव भैरहवाको पहिचान भएकाले यसलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उद्योग व्यापार संगठन, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको सल्लाह–सुझाव कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले सिंगो प्रदेशलाई समेट्ने महोत्सव सफल पार्न सबैको साथ र सहयोग अवश्य हुने विश्वास व्यक्त गरे । उनले विगतका वर्षहरुको महोत्सव भन्दा यस वर्षको महोत्सव अलि फरक रहेको बताए । उनले निजी क्षेत्रको अवस्था दर्दनाक रहेकोले मन फुकाएर सहयोग गर्न संघ–संस्था तथा सरकारलाई आग्रह गरे ।

संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव यस क्षेत्रकै पहिचान भएको बताए । उनले भैरहवामा आयोजना गरिने महोत्सवलाई सफल पार्न स्थानीय सरकार र प्रदेश सरकारलगायत सबैलाई आग्रह गरे । उनले भने, ‘लुम्बिनी प्रदेशमा यो महोत्सव आयोजना गरिएकोले प्रदेश सरकारले स्वामीत्व लिनुपर्छ । सबैले सहयोग गरेर महोत्सव सफल पार्नुपर्छ । ’ भण्डारीले चाडपर्वको बेला समेत रमाइलो वातावरण हुन नसकेको गुनासो गरे ।

संगठनका अध्यक्ष दर्पण श्रेष्ठले यस्तो विषम परिस्थितिमा जोखिम मोलेर महोत्सव आयोजना गरिएकाले सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको बताए ।