ताजा अपडेट »

गोरखाबाट लगिएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

शनिबार, ०४ कार्तिक २०८०

बुटवल । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

यसै क्रममा हनुमानढोका दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको फूलपाती पनि भित्र्याइएको छ।
गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पूजारीसहित मगर जातिका छ जनाले पुर्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट आएका ब्राह्मण जातिका छ जनाले हनुमानढोका पुर्याउने परम्परा छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित फूलपाती भित्र्याउने गरिन्छ।