ताजा अपडेट »

रोहितको अर्धशतकमा यूएईमाथि नेपालको सहज जीत

बुधबार, ०१ कार्तिक २०८०
2 Shares

काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी९२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ। यूएईले दिएको एक सय ४१ रनको लक्ष्य नेपालले १८।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा अविजित रहँदै कप्तान रोहित पौडेलले ५१ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। आसिफ शेख २३, कुशल भुर्तेल १४ र कुशल मल्ल ११ रन जोडेर आउट भए। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोड्यो। यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।

यस्तै अली नासिरले पनि ३२ रन जोडे। हमिद र नासिरबीच पाचौँ विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनिहरुले अर्धसतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। करनले चार ओभरमा केवल १९ रन खर्चिए।

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।