ताजा अपडेट »

दशैं : ऋण काढेर घ्यू !

बुधबार, ०१ कार्तिक २०८०
3 Shares

दशैंमा अरु पर्वको तुलनामा बढी बिदा पाइन्छ । गाउँघरमा अत्यन्तै रमाइलो पनि हुन्छ । परदेश गएका अनि सहर पसेकाहरु पनि गाउँघर आइपुग्छन् । घटस्थापना अघि गाउँघरमा सरसफाइ थालिन्छन् । मन्दिर,देवलहरुलाई ध्वजा पतका लगाएर सुन्दर बनाइन्छन् । पानी पँधेरा, धाराहरु पनि रहर लाग्दा देखिन्छन् ।

भुराभुरीदेखि ठूलामान्छेहरुले पनि दशैंका दिन एकछिन भएपनि भूमि छाड्नु पर्छ भनेर पीङ्ग खेल्छन् । कतै लाठेपीङ्ग,कतै चर्केपीङ्ग । केही नभए केटाकेटीलाई भएपनि घरको खाँबोमा नाम्लोको बरियो बाँधेर पीङ्ग हाल्छन् । पीङ्गमा मच्चिनुको मज्जा नै बेग्लै ।

केटाकेटीमा हो रहेछ, दशैंको रन्को लाग्ने । आफ्ना घरमा टीका थापेर छिमेकी र आफन्तीकहाँ दिनभर टीका थाप्दै र जमरा घुर्सादै हैरान । नयाँ लुगा लगाएर गाउँघर डुल्नुको स्वादै बेग्लै । मासु,चिउरा,सेलरोटी मुखमा हुल्नै हतारो । दशैं पछिल्लो समय सांस्कृतिक पर्वका रुपमा परिभाषित गरियो । यतिबेला सामाजिक पर्वका रुपमा रुपान्तरण भइरहेको पाउन सकिन्छ ।

विभिन्न संघ-संस्थाहरु, राजनीतिक पार्टीहरुले समेत दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छन् । धेरैलाई भ्याइ नभ्याइ भएको छ । हतारो उस्तै छ । यसले सामाजिक सम्बन्ध स्थापित गरेको छ । भाइचारा सम्बन्ध गाँसेको छ । एक आपसमा सद्भाव र सम्मान गरेको छ । दशैं, दशा हो कि भन्नेलाई सामाजिक पर्वको नमूना हो भनेर सूचिकृत गरेको छ ।

रमाइलो गर्ने,नाँचगान गर्ने, पाका-पुरानाबाट दसैंमा टीका र आशीर्वाद थाप्ने,पुराना साथीसंगीहरुसँग सम्बन्धलाई नवीकरण गर्ने, गाउँघरका दुःख, सुखमा सामेल हुने अनि पीडामा परेकालाई प्रोत्साहन दिने र पीर साट्ने पर्व समेत दसैं हो । दसैंमा खुसीमात्र होइन दुःखको पसारोलाई पन्छाउने अवसर समेत मिल्दछ ।

दशैंका बेलामा खानपिनमात्र होइन, गाउँघरको फेरो लगाउने, विकास निर्माणका कामहरुलाई अवलोकन गर्ने, गाउँको धार्मिक, सामाजिक, सांस्कृतिक, पुरातात्विक एवम् पर्यटकीय विकासका आयामहरुलाई केलाउँदै भइरहेका विकासका अवस्थामा नजर डुलाउने र आवश्यक रायसुझाव एवम् सक्दो सहयोग गर्न हातेमालो गर्नुपर्ने देखिन्छ । यसो हुन सकेमा गाउँघरको विकासमा हातेमालो गरेको ठहरिने छ ।

सुरुआतको समयमा दसैंलाई धार्मिक पर्वको रुपमा मनाइन्थ्यो । तराईतिर रामलीला गरेर भव्यरुपमा मनाउने चलन यतिबेला कमजोर हुँदै गएको पाइन्छ । आधुनिक समाज, आधुनिक मनोरञ्जनका साधनले पुराना परम्परागत चलनहरुलाई ठाडो चुनौती दिन थालेका छन् । पर्वहरुलाई प्रविधिमैत्री बनाउन नसकिएमा पक्कै पनि समस्याहरु सिर्जना हुनेछन् ।

पर्वहरुले सबै किसिमका मानिसहरुलाई जोड्ने कसीका रुपमा काम गर्दै आइरहेका छन् । पर्वलाई सीमित जाती र सम्प्रदायको पर्वका रुपमा परिभाषित गर्नुका साटो राम्रो र अनुसरण गर्न लायक पर्वलाई सबैले स्वीकार गर्दा धार्मिक,जातीय एवम् सामाजिक सहिष्णुता कायम हुने गर्दछ । यसले सामाजिक जिम्मेवारी, दायित्व र मैत्रीपूर्ण भावनाको विकास गर्दछ ।

३६५ दिन नै नेपालीका अनेक पर्वहरु छन् । फरक जातिले फरक तरिकाले मनाउँदै पनि आएका छन् । पर्वहरुले पीडा बिर्साइ दिन्छ, पीर बिसाउने चौपारी दिन्छ तर कहिलेकाँही यहि पर्वले पीरको भारी बोकाउन पनि सक्छ । फजुल खर्च, अनावश्यक दौडधूपले आर्थिक एवम् स्वाथ्यमा समेत हानी पुराएर पीडा थप्न समेत सक्दछ ।

दशैं भनेर जाँडपानी दन्काइ दिने हो भने रोगको भारीले पीर थप्नेछ । दशैं त हो भनेर जुवामा नारिने भने जिउँ, धनको सुरक्षा त हुँदै हुन्न अनि पैसा हारेर घरवारविहीन हुनु पर्दाको अवस्थाले सामाजिक प्रतिष्ठामा आँच आउन सक्छ । दशैंका मौकामा बढी चिल्लो, पीरो खाँदा स्वास्थ्यमा प्रतिकूलता देखिन सक्छ । त्यतिबेला पैसा त जान्छ नै मानिसको ज्यान जान समेत सक्छ ।

दशैंको बेलामा दुर्घटना बढी हुने गरेको छ । साधन थोरै, यात्री धेरै । हाम्रा बाटाघाटाहरु खाल्डाखुल्डी अति । वर्खापछिको समय, कच्ची सडकमा अति समस्याहरु छन् । खोला, खोल्साहरुमा पुल बन्न सकेका छैनन् । यीनै कारणले गर्दा दुर्घटना बढेका छन् । ओभर लोड पनि समस्या नै हो । मापसेका कारणले पनि सवारी दुर्घटना बढेका छन् ।

दशैंका बेला खुल्लेयाम रक्सीपानी बेच्ने, खाने, तासजुवा खेल्ने कामले सामाजिक सद्भावमा आँचमात्र होइन बरु यसले दुर्घटना समेत गराउन सक्ने भएकोले बेलैमा स्थानीय प्रहरी प्रशासन चनाखो हुनुपर्ने देखिन्छ ।

दशैं एउटा पर्व न हो । यसले सम्बन्धहरुलाई प्रगाढ बनाउँछ । मित्रतालाई बलियो बनाउँछ । आफन्तका बीचमा घनिष्टता कायम राख्न सिकाउँछ । यसले क्षणभर भएपनि दुःख बिर्साउँछ । दुःख र सुखको मिलन गराउँछ । टाढा गएकाहरुलाई घर फर्काउँछ । गाउँघरमै भएकाहरुसँग पुनर्मिलन गराउँछ । सांस्कृतिक पर्व हो । सामाजिक सम्बन्ध जोड्ने पर्व हो । धार्मिक संस्कारलाई पनि सम्झना गराउँदछ ।

जे छ, त्यही खाने हो । जस्तो छ त्यस्तै लगाउने हो । तर दसैंका नाममा फजुल खर्च, अनावश्यक तामझाम र विलासीपना देखाउनु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु सरह हुने भएकोले दसैंलाई किफायती तरिकाले भव्य अनि सभ्य तरिकाले मनाऔं । आर्थिकमन्दी छ । जटिल अवस्था छ । ऋण काढेर घ्यू खाने संस्कार, परम्परा र चलनलाई रोक्न सक्नुपर्छ । पर्वले पीडा थप्नु हुँदैन ।