ताजा अपडेट »

तिलोत्तमाको सडक किनारका रुख काट्नेलाई नगरपालिकाले तिरायो ४५ हजार जरिवाना

बुधबार, ०१ कार्तिक २०८०

बुटवल। तिलोत्तमाको सडक छेउका रुखहरु काट्नेलाई जरिवाना असुल गरिएको छ । बुटवल–बेलहिया–६ लेन सडकको किनारमा लगाईएका रुखहरु काट्नेबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जरिवाना असुल गरेको हो।

गलत अफवाह फैलाउँदै ६ लेन सडकको दायावाया र बुद्ध परिपथमा लगाईएका छतिवन (एस्टोनिया)का रुखहरु काट्न थालेपछि नगरपालिकाले रुखहरु काट्नेको पहिचान गरि जरिवाना असुल गर्न थालेको हो। रुख काट्नेहरुको पहिचान खुलेपछि जनही ५ हजारका दरले हालसम्म ९ जनाबाट ४५ हजार रुपैया जरिवाना लिईएको नगरपालिकाले जनाएको छ।

पहिलोपटकलाई भन्दै जनही ५ हजार रुपैया लिएर सजग बनाएर छोडिएको नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए। तर कसलाई जरिवाना गरिएको हो भन्ने नगरपालिकाले खुलाएको छैन। ६ लेन सडक निर्माणसँगै सडक किनारमा लगाईएका एस्टोनियाका बोटहरुका बारे नकारात्मक हल्ला फैलाईएपछि सडक किनारका कतिपय स्थानीयले यसअघि पनि हुर्किसकेका बोटहरु काट्ने गरेका थिए।

नगरपालिकाका वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक समेत रहेका श्रीले एस्टोनियाको बारेमा नचाहिने अफवाह फैलाईएको र त्यसका पछाडि नलाग्न आग्रह गरे।
नगरपालिकाले पाँच वर्ष पहिले नै सुन्दर र हरियाली तिलोत्तमा बनाउने अभियानसँगै सडक किनारमा रुख रोप्ने र सरसफाई अभियान संचालन गरेको थियो। नगरवाशीको अग्रसरतामा ५ वर्ष पहिले लगाएर हुर्किसकेका बोट काटेर नगरपालिकाको अभियानलाई नै विफल पार्न खोज्नेहरुलाई कारवाही गरिएको उनले बताए।

सडक किनारमा लगाईएका एस्टोनियाको पात तथा बोक्राले गर्भवती महिला र पशुचौपायाको गर्भपतन गराउने, यसको हावाले समेत मानिसको स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने गलत हल्ला फैलाएपछि नगरपालिकाले यसको परिक्षण समेत गरेको जनाएको छ। नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले एस्टोनियाको बारेमा गलत हल्ला फैलाईएपछि विज्ञहरुसँग परीक्षण गरिएको र यसबाट मानिस वा पशुपंक्षी कसैको पनि स्वास्थ्यलाई हानी नपुग्ने पुष्टि भएको बताईन्।