ताजा अपडेट »

भारत एक असहज मित्र

बुधबार, ०१ कार्तिक २०८०
2 Shares

नेपाल कतै दुई छिमेकी मित्रहरू भारत र चीनको राजनीतिक खिचातानीको थलो बन्ने त होईन् ? मुलुकको राजनीतिमा दशकौँदेखि यस्तो आशंका थियो। वर्तमानमा त्यो आशंकाको संकेत देखिन थालेको छ। काठमांडू स्थित भारतीय र चीनियाँ महामहिमहरूको हालैको अभिव्यक्ति र ट्विटले त्यो संकेतको पुष्टि गर्दछ। त्यसैले नेपाल भारत विशेष सम्बन्धको युग समाप्ति सँगसँगै पञ्चशीलमा आधारित असंलग्न वैदेशिक नीतिको आधारमा सबै राष्ट्रहरूसँग सम्बन्ध स्थापित गर्दै विश्व राजनीतिमा आफ्नो पहिचान बनाउने नीति अवलम्बन गर्यो। ‘दुई ढुङ्गा बीचको तरूल’ नेपालको भूराजनीतिक वास्तविकताको आधारमा समदूरीको सिद्धान्तलाई विशेषतः भारत-चीनसँगको सम्बन्धको गाइडलाइनको रूपमा स्थापित गर्यो।

चीनबाट जतिपनि सहयोग प्राप्त भयो ती सबै नेपालको आत्मनिर्भरता प्रति लक्षित थियो। भारतीय विरोधको बाबजुद काठमांडूलाई चीनसँग जोड्ने मेरूदण्डको रूपमा स्थलमार्ग कोदारीको निर्माण संचालन भयो। औद्योगिक विकासद्वारा आत्मनिर्भर र समृद्धिको अवस्थामा पुग्न चीनियाँ सहयोगमा स्थापित विभिन्न उद्योगहरूबाट उत्पादित वस्तुहरूको पर्याप्त आन्तरिक खपतसँगसँगै निर्यातको अवस्थामा मुलुक पुगेको थियो । तर दलीय नेतृत्वगण समदुरीको सिद्धान्तलाई निरन्तरता दिन असफल रहे।

निःसन्देह भारतबाट नेपालले राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक लगाएत भइपरि आउँदा यथेष्ट सहयोग प्राप्त गर्दै आएको छ। विकासका महत्वपूर्ण पूर्वाधारहरू मध्ये सडक निर्माण र विस्तार तर्फ उल्लेख्य सहयोग प्राप्त रह्यो। नेपालबाट कच्चा पदार्थहरूको आयात गर्ने र निर्यातद्वारा आफ्नो उत्पादन नेपालको गाउँ गाउँसम्म पुर्याउने भारतीय मकसद रहँदै आएको छ। यथार्थमा औद्योगिक विकास होइन बजारीकरण नै भारतीय सहयोगको प्रमुख लक्ष्य रहेको स्पष्ट छ। यस्तो सहयोगले मुलुकलाई आयातको बाध्यात्मक अवस्थामा पुर्याउँद छ। त्यो भनेको निर्यात नाममात्रको हुने र आयात मै मुलुकको जनजीवन निर्भर रहने अवस्था हो। अर्थात् भारी असन्तुलन । ट्याक्कै यही अवस्था नेपाल भारत बीच विद्यमान छ।

नेपाल भारत आर्थिक सम्बन्ध ‘उद्योग व्यापार’ असन्तुलित छ। भारत आफैमा ठूलो बजार हो। भारत जस्तो विशाल क्षमता सम्भाव्यता भएको देश छिमेकी भएर पनि नेपालले लाभ लिन नसक्नु दुर्भाग्य नै हो। नेपालको लागि चीनियाँ राजदूत चेन सोङले नेपाल भारत व्यापार सम्बन्धमा फोकस गर्दै गत महिना दिएको अभिव्यक्ति नेपाललाई भारत विरूद्ध उस्काउन खोजे जस्तो भान हुन्छ। प्रधानमन्त्री पुष्प कमल दाहालले चीन भ्रमणको क्रममा चीनियाँ राष्ट्रपति सि जीन पिङसँग भेटवार्ता गरिरहँदा नेपाल स्थित भारतीय दूतावासको ट्विट ‘२३ सेप्टेम्बर २०२३, आश्विन ६ २०८० ’ पढ्दा प्रधानमन्त्री दाहाललाई मनोवैज्ञानिक खबरदारी गर्न खोजे जस्तो आभास हुन्छ। वास्तवमा चीनियाँ राजदूतको अभिव्यक्ति र भारतीय दुतावासको ट्विट भारत चीन खिँचातानको एउटा ज्वलन्त नमूना हो।

नेपालमा कम्युनिस्टहरू चिरा चिरामा विभक्त छन तापनि मुलुकको राजनीति तिनीहरूको पकडमा छ। वामपन्थी नेताहरू भ्रमण र भेटवार्ताको सिलसिलामा चीन जादा, चीनियाँ पदाधिकारी नेताहरू नेपाल आउदा, भेटघाटमा व्यस्त रहदा भारतीयहरूमा आवश्यकता भन्दा बढी घबराहत हुन्छ।सशंकित हुन्छन्। यस्तो किन ? सन् १९६२ ‘नोभेम्वर डिसेम्बर’ भारत चीन युद्धमा भारतीय सेनाको पाइजामा अत्यन्त गिलो भएको थियो। तब देखिन् भारतीयहरूमा चीनियाँ फोबिया देखिन थाल्यो।हुनत अहिले त्यो अवस्था छैन । तरपनि केही धङ्धङ अझै छ। भारतीय दुतावासको ट्विट त्यही धङ्धङ मध्य कै एउटा हो।

नेपाललाई आफ्नो स्थिति र अवस्थितिको ज्ञान छ। चेत छ। सचेत पनि छ। भारतसँग बहुआयामिक सम्बन्ध छ। एउटा हितैषी मित्र र छिमेकीको नाताले भारत प्रति सहज छ। इमान्दार छ। आशावादी पनि छ। तैपनि नेपालको भूभाग अतिक्रमण गर्ने भारतीय नीति यथावत छ। नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो नक्शामा गाभेको विरोध गर्दै नेपाल सरकारले पठाएको कूतनीतिक नोटको रेस्पोन्स नगर्नु, आश्विन १२, अक्टूबर २६ नेपालको भूमि कालापानी पुगेका भारतीय प्रधानमन्त्री मोदीले गुन्जीका नेपालीहरू संग पनि सम्वाद गरेको नेपाल सरकारलाई जानकारी नगराउनु, छिमेकी भूमिमा प्रवेश गर्दा अपनाउनु पर्ने कूटनीतिक मापदण्ड लाई बेवास्ता गर्नु, आफ्नै भूमिमा पुगेर आफ्नै जनता संग सम्वाद गरेको कुटिल सन्देश मोदीले दिन खोज्नु, प्रधानमन्त्री दाहाल चीन भ्रमणको दौडान चीनियाँ राष्ट्रपतिसंग भेटवार्ता गरिरहँदा नेपाल स्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय सहयोगको हाइलाइट गर्दै मनोवैज्ञानिक खबरदारी गर्न खोज्नु, भारतको संसद भवनमा सम्राट अशोक कालीन भव्य शिलालेखमा सांस्कृतिक रेखाङ्कन द्वारा लुम्बिनी लाई पनि भारतीय सांस्कृतिक नक्सामा देखाउनु बाट प्रष्ट हुन्छ कि नेपाल भारत बीच जतिसुकै गहिरो प्रगाढ मित्रता रहेतापनि वास्तवमा भारत एक असहज uneasy मित्र हो।