ताजा अपडेट »

सामुदायिक वन समन्वय समिति तिनाउमा पदस्थापन

मंगलबार, ३० असोज २०८०

बुटवल । सामुदायिक वन समन्वय समिति तिनाउमा सोमबार पदस्थापन सम्पन्न भएको छ । समितिको २० औं वार्षिक साधारणसभा एवम् ११ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई तिनाउको अर्घाछापमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा ७८ दशमलव ३९ प्रतिशत् वनजंगलले ढाकेको क्षेत्र रहेको वर्तमान अवस्थामा यसको थप व्यवस्थापन आवश्यक रहेको बताए । सामुदायिक वन समन्वय समितिले तिनाउमा रहेमा ८४ वटा सामुदायिक वन उपभोक्ता समूहहरुको सशक्तीकरणमा जोड दिन अनुरोध गरे । यसैगरी पाल्पा डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईले वनको समुचित प्रयोग नै आजको आवश्यकता भएको उल्लेख गरे । उनका अनुसार संरक्षण पहिलो आवश्यकता रहेकोले त्यसमा समन्वय समितिको ध्यान जानुपर्ने बताए ।

वन संरक्षणका अभियन्ता डा. नारायणकाजी श्रेष्ठले वन, वातावरण र जैविक विविधता संरक्षणमा जोड दिए । वनलाई जोगाउन र साझा सहमतिमा सञ्चालन गर्न समेत डा. श्रेष्ठले अनुरोध गरे । कार्यक्रममा समन्वय समितिका पूर्वअध्यक्ष राजेश श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका उपसभापति भीमसेन कार्की, प्रेम पाण्डेय, रवीन्द्र पौडेल, पदमलाल शाक्य, दिनेश जीसी, दलबहादुर गुरुङले समन्वय समितिलाई वन, वातावरण र जैविक विविधता संरक्षणमा गतिशील गराउनु पर्नेमा जोड दिए । निर्वाचित कार्यसमितिलाई कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त राजेश श्रेष्ठले प्रमाणपत्र समेत वितरण गरेका थिए ।