ताजा अपडेट »

भैरहवाको मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनले पठनपाठन र उपचार ठप्प

सोमबार, २९ असोज २०८०

बुटवल । विद्यार्थीको आन्दोलनका कारणले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमामा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले विद्यार्थीहरुलाई ड्रेस कोड (पाइन्ट र सर्ट) अनिवार्य गर्ने निर्णय गरेपछि एमबीबीएस र बीडीएस विद्यार्थीहरु पढाइ बन्द गराएर आन्दोलनमा छन् ।

उनीहरुको आन्दोलनमा इन्टर्न डाक्टरहरुले पनि साथ दिएपछि पढाइसँगै उपचार सेवा बन्द छ । विद्यार्थी र चिकित्सकहरुको आन्दोलनले बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् । प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए ।

विद्यार्थीहरुले प्रिन्सिपल पाठकले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड खारेज गर्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् । यी माग पूरा गर्न दबाब दिने उद्देश्यले विद्यार्थीहरुले रिले अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।