ताजा अपडेट »

दोभान बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधरणसभा

आइतबार, २८ असोज २०८०

बुटवल । तिलोत्तमाको दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार १३ औं वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सो अवसरमा सहकारी अभियन्ता दलबहादुर गुरुङले सहकारीले सदस्यहरुलाई आर्थिक ऐना र भावी योजना देखाउनु पर्नेमा जोड दिए ।

नेपालका धेरै सहकारीहरुमा आधारभूत सहकारी शिक्षाको अभाव रहेको बताउँदे उनले सहकारीहरु नीति, विधि र प्रविधिमा कमजोर रहेको उल्लेख गरे । दोभान सहकारीले आफ्नो हरहिसाव दुरुस्त राखेको, सहकारीका सदस्यहरुलाई सन्तुष्टि दिएको, वृद्धहरुलाई सम्मान गरेको भन्दै सभामा प्रमुख अतिथि गुरुङले प्रशंसा समेत गरेका थिए ।

उक्त सभामा सल्लाहकार भास्कर आत्रेयले आफ्नो सहकारीको उद्देश्य, लक्ष्य फराकिलो भएपनि सोचे अनुसार प्रगति गर्न वर्तमान आर्थिक अवस्था कारक रहेको समेत बताए । सो सभामा गंगा खरेल, दिनानाथ पन्थ, सूर्य गौतम, हेमनाथ पोखरेल लगायतले दोभान सहकारीले शेयर सदस्यहरुको वृद्धि र स्तरोन्नतिमा जोड दिएका थिए । सभामा ८५ वर्षीय निलकण्ठ पाण्डेयलाई ज्येष्ठ नागरिकका हैसियतमा सम्मान गरिएको थियो ।

उक्त सभामा संस्थाका अध्यक्ष गणेशप्रसाद भण्डारीले वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रमका साथै हरहिसावको फेहरिस्त लगाएका थिए ।