ताजा अपडेट »

पहलसिहका पहलकदमी

शनिबार, २७ असोज २०८०

पहलसिह घर्तिको घर, पूर्वखोलामा पर्ने जल्पा ढोलीमारा हो । ढोलीमारा सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष हुन् उनी । जिम्मेवारी अनुसारको काम गर्न हुरुक्क हुने पहलसिहका पहलकदमी उदाहरणीय छन् । गाउँको विकास, उन्नति र प्रगतिमा उनको नाउँ सबैतिर जोडिन्छन् ।

रमझम, सुखसयलमा भन्दापनि आफ्नै गाउँको विकास निर्माणमा परिश्रम र मिहिनेत गर्ने बानीले उनलाई धेरैका बीच परिचय दिएको छ । पहलसिह भनेर नचिन्ने सायदै होलान् । गाउँलेका आम्दानी बढाउन उनले हरेक क्षेत्रमा कोशिस गरेका छन् । प्रयास र प्रयत्न गरेका छन् । गाउँलेहरुसँग बसेर योजना बुन्छन् । चिन्तन,मनन गर्छन् । कामको जिम्मेवारी बोक्छन् । कार्यान्वयनमा निरन्तर खटिन्छन् । यही नै उनको खास परिचय हो ।

कम बोल्ने, बढी काम गर्ने उनको बानीले समाजको उन्नतिमा टेवा पुगेको छ । यतिबेला उनले ढोलीमारा बजारमा कपडा पसल सञ्चालन गरेका छन् । यही व्यवसायसँग सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिदैं अघि बढेका छन् । ढोलीमाराको अम्रिसो खेती, किवी खेती होस् वा गाउँको शयारी क्लवको संस्थापक अध्यक्ष भएर काम गर्दाको अनुभवले उनलाई पहलसिह कर्मशील हुन् भनेर चिनाएको छ ।

खेमानसिह र कुमारी घर्तिका जेठा सन्तान पहलसिहको बाल्यकाल त्यति सुखमय र सन्तोषजनक छैन । आफू नौ वर्षको हुँदा आमा गुमाएका पहलसिहले बाबाको उपचारमा आमा बित्दा फुकालेर राखेका सबै गहना बेचेका थिए । बाबाको उपचार गर्दागर्दै सम्पत्ति सिद्धिएपछि अर्काको घरमा दुई वर्ष गोठाला भएर काम गर्नुको पीडा बिर्सि नसक्नुको छ । बिरामी बाबा, भाइ र बहिनीलाई पाल्नुपर्ने सबै जिम्मा पहलसिहको काँधमा आइपरेको थियो ।

१२ वर्षको उमेरमा उनले जल्पाको तत्कालीन शम्भु प्राविबाट पाँच कक्षा उत्तीर्ण गरेका रहेछन् तर गाउँभन्दा पर कक्षा ६ पढ्न नभ्याएपछि उनको पढाईमा बिर्को लागेको रहेछ । स्कूलमा सधैं प्रथम हुने पहलसिह आर्थिक अभावका कारण शिक्षामा पछाडि पर्नुको पीडा जीवनभरका लागि अरेलीकाँडा बनेर मनको पैतलामा अल्झिरहन्छ ।

अध्ययन गर्ने काममा ब्रेक लागेपछि उनी आफ्नै इच्छालाई मनमा दबाएर पुसाइँ बलबीरसँग भारतको उडिसातिर लाहुरे बन्न उडे तर होेचा कदका उनी लाहुरे बन्न नसकेपछि भाउन्न भए ।

नेपाल फर्किन मन गरेनन् । उडिसामै औषधी पसलेको साथमा लागेर ओखतीको नाम र डाक्टरको प्रेस्किप्सन कार्ड पढ्न सक्ने भए । डाक्टरको संगतले औषधीको नाम, काम र सो बारेमा धेरै कुरा सिक्ने अवसर पाए । प्राइभेट अस्पतालमा आठ वर्ष जति काम गरे । ल्याबका बारेमा पनि जानकार भए । उडिसाको अस्पतालमा जिम्मेवारीपूर्वक काम गरे । जम्माजम्मी १० वर्ष भारत बसे । त्यतिबेला उनको उमेर २६ वर्षको थियो ।

पहलसिहसँग कामको अनुभव त थियो तर हातमा प्रमाण पत्र भने थिएन । नेपाल आएपछि बुटवलका औषधी व्यवसायीसँग मिलेर केही समय काम गरे । अस्थायी ओखती बेच्ने प्रमाण लिएर गाउँमै क्लिनिक चलाए । स्वास्थ्य सेवा गाउँमै दिए । त्यतिबेलासम्म उनको एक छोरा र एक छोरी जन्मिसकेका थिए ।

गाउँमै उनले २५ वर्षसम्म औषधी पसल थापेर गाउँलेहरुलाई स्वास्थ्य सेवा दिए । अहिले पनि उनलाई गाउँलेहरुले डाक्टर भन्न छाडेका छैनन् । नियम कानून कसिलो बन्दै गएपछि उनले औषधी पसल छाडेर कपडा पसल थापेका छन् ।
जीवनसंगीनी नरमायाको सहयोगमा सन्तान हुर्काउँदै गए उनले । सन्तानको पढाईमा कुनै कमी गरेनन् । पाल्पा सदरमुकाम तानसेनमै राखेर संस्थागत विद्यालयमा छोराछोरीलाई पढाए, लेखाए । नरमायाले सन्तानलाई हुर्काउँदै झोला बुन्ने, कपडा सिलाउने काममा ध्यान दिइन । पैसा कमाइन् । छोराछोरी दुबैको घरजम भइसक्यो । छोरीले नर्सिङ्गमा स्नातक गरेर अष्ट्रेलिया छिन् । छोरोले पनि आइटीमा ब्याचलर गरेर उतै छ । दुबैले उतै आफ्ना व्यवसाय गरेर बसेका कुरा सुनाउँदै थिए पहलसिहले ।

छोराछोरीले उता परदेश बोलाउँदा पनि खासै ध्यान दिदैनन् । बाध्यताले घुम्न गएपनि मन भने नेपालमै छाडेर जान्छन् । छिट्टै फर्केर गाउँ आइपुग्छन् । सात समुद्र पार गरेर जाँदा पनि गाउँकै मायाले तानिरहने नरमतिले सुनाइन् ।

गाउँमा बसेर संस्कृति र प्रकृति संरक्षणमा निरन्तर खटिरहेका छन् पहलसिह । यहाँको क्लव, सांस्कृतिक कार्यक्रम, कृषि, पर्यटन र सामाजिक कामले सधैं बेफुसर्दिला छन् पहलसिह । दलगत स्वार्थभन्दा माथि उठेर गाउँकै विकासमा कम्मर कसेका पहलसिह, गाउँलेहरुका साथ र सहयोगमा अघि बढिरहेका छन् ।

गाउँमा यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुलाई तान्न होमस्टे खोलेका छन् । सांस्कृतिक कार्यक्रम गरेका छन् । पञ्चेबाजा बजाएका छन् । गाउँको उत्पादन देखाएका छन् । किवी खेतीमा किसानलाई जोडेका छन् । कबुलियती वनमार्फत अम्रिसो खेतीले गाउँलेका मुहार फेरेका छन् । तरकारी खेतीले आत्मनिर्भर बनेका छन् । पर्यटनलाई नै परिवर्तनको आधार बनाएका छन् ।

पहलसिह मुसुक्क हाँस्छन् चित्त बुझ्यो भने । खासै रिसाउँदैनन् । कम बोलेर सबैका मन जितेका पहलसिहका अनेक पहलकदमी छन् गाउँ विकासका लागि । नमूना योग्य काम गरेर गाउँलेहरुको नयाँ परिचय दिन तल्लीन छन् उनी ।