फागुन १,
गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले माओवादीले गरेको जनयुद्धमा मान्छे मारिएकोमा क्षमायाचना गरेका छन् ।
पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा क्षमायाचना मागेका हुन् ।पालुङटार नगरपालिकाका जनप्रतिनिधि तथा बासिन्दासँगको अन्तरक्रियामा भट्टराईले त्याग र बलिदानबाट नै राजतन्त्र हटेर देश संघीय गणतान्त्रिक बनेको बताए ।
‘जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति म सधैं नतमस्तक रहन्छु । जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ । कैयौं मान्छेको ज्यान गयो त्यसमा दुःख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो । अत्यन्त दुःख छ, म क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने रहेछ’ उनले भने, ‘राजतन्त्र हटाउन जनयुद्ध गरिएको थियो । प्राप्त गरियो, कैयौं कुरा बाँकी छ ।’नयाँ ढंगको क्रान्ति आफूहरूले नयाँ तरिकाबाट जारी राखेको उनले बताए ।
जनयुद्ध लडेको हिजोको क्रान्तिकारी शक्ति आज भ्रष्टाचारमा डुबेको भन्दै उनले आफूहरू बाँचेर पनि मरेकोजस्तो हुने त होइन भनेर प्रश्न गरेका छन् । ‘मर्ने मरेर गए । ज्यूँदाहरू एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिनुभएको छ । कांग्रेसलाई जित्ने गरी’, उनले भने, ‘जनयुद्धका शहीदप्रति धोका भएको छ ।’-काठमाण्डु टुडे
प्रतिक्रिया