वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा वीरगञ्जका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेको नेपालीहरूको मुख्य चाड दसैँ, तिहार र छठमा यात्रा गर्नेहरूको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्जको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्यद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको वडा प्रहरी कार्यालय बिर्ता प्रमुख एवम् निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीले बताए । पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट हालसम्म सयौँ यात्रुले लाभ लिएको इन्स्पेक्टर बोगटीले बताए ।
उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग आग्रह पनि आग्रह गरे । ‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो आउने गरेका छन्,’ इन्स्पेक्टर बोगटीले भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पुर्याउने हाम्रो उद्देश्य हो ।
हालसम्म यसमा सयौँ यात्रुले यसको लाभ उठाइसकेका छन् ।’ त्यस्तै यात्रा गर्ने क्रममा हुने चोरी, डकैती, लुटपाट नियन्त्रण, सवारीसाधनले मापदण्ड अनुसार बुज्रुग, महिला र अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने सहुलियतको निगरानी गर्न पनि सहायता कक्षले सहयोग पुर्याउने इन्स्पेक्टर बोगटीको विश्वास छ । प्रत्येक यात्रु साहयता कक्षमा मास्क, सेनीटाइजरको पनि व्यवस्था गरिएको छ ।
प्रतिक्रिया