ताजा अपडेट »

पाल्पाको तिनाउमा प्रेस चौतारी र एमाले नेतृत्वबीच समन्वय बैठक

आइतबार, २१ असोज २०८०

तिनाउ । पाल्पाको तिनाउमा प्रेस चौतारी र एमाले नेतृत्वबीच समन्वय बैठक सम्पन्न भएको छ । एमाले तिनाउ गाउँ कमिटीको संयोजन र प्रेस चौतारी, पाल्पाको आयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङले पार्टीले गरेका उल्लेखनीय कार्यहरुलाई नागरिकका बीचमा पुराउन प्रेस चौतारीको भूमिका अहम् हुने बताउँदै आलोचनात्मक चेत भएका प्रेस चौतारीकर्मीले पार्टी र नेताका राम्रा कामलाई समर्थन र गलत काम भएमा आलोचनात्मक रुपमा खण्डन गर्नुपर्ने बताए । उनले एमाले समर्थित जनप्रतिनिधिहरु र पार्टीका नेताहरुलाई सूचना र सञ्चारका बारेमा प्रशिक्षित गराउनु पनि प्रेस चौतारीको दायित्व रहेको सुनाए । बैठकमा तिनाउ पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सञ्चारकर्मीहरु राज्यको चौथो अङ्गका रुपमा रहेको र उनीहरुको भूमिका महत्त्वपूर्ण हुने बताउँदै विकास निर्माणका कामहरुलाई प्रचारप्रसार गर्नका लागि प्रेस चौतारीले विशेष पहल गर्नुपर्ने बताए ।

प्रेस चौतारीकी केन्द्रीय सदस्य एवम् पाल्पा ईन्चार्ज अमृता अनमोलले प्रेस चौतारी नेकपा एमालेको जनवर्गीय संगठन भएतापनि सबै चौतारी सम्वद्व पत्रकारहरुले कुनैपनि विषयवस्तुलाई आलोचनात्मक तरिकाले विश्लेषण गरि समाचार बनाई प्रशारण र प्रकाशन गर्ने बताईन् । बैठकमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य गोमा भण्डारी,जिल्ला कमिटी सदस्य रामबहादुर दर्जी,सावित्रा गुरुङ,यादव अर्याल,कृष्ण पाण्डेय,भगवती बस्याल,लालबहादुर दर्लामी,ऐमानसिंह चिदी,विकास अर्याल,विजय बौडेल र यमबहादुर चिदीले प्रेस चौतारी र पार्टीको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए ।

नेकपा एमाले तिनाउका अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षता,सचिव तोया लम्सालको स्वागत र प्रेस चौतारी,पाल्पाका कोषाध्यक्ष नेत्र गैरेको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।