ताजा अपडेट »

राप्ती प्रादेशिक अस्पतालको निरीक्षणपछि मन्त्री बस्नेतले भने : 'दरबन्दी थपका लागि सुको पैसा छैन'

विहीबार, १८ असोज २०८०
2 Shares

दाङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले बुधबार दिउँसो करिब साढे ४ बजे तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको निरीक्षण गर्न आए । उनलाई आज नै काठमाडौँ फर्किनु पर्ने भएकाले उनी अलि हतारमा थिए । उनले समय कम भएको हुँदा थोरै कुरा राखेर नेपालगन्ज जहाज भेटाउन जाने भनी आफ्ना कुरा राख्न थाले ।

शुरुमा बोल्दै गर्दा माइकले काम गर्न छोड्यो । पछि फेरि काम गर्न थालेपछि बोल्न थाले फेरि माइकले काम गर्न छाड्यो । त्यसपछि उनले भने-‘तपाईँहरूले कम बोल भनेर यस्तै दिनु भएको होला ।' त्यसपछि उनले माइक राखे । फेरि माइकले काम गरेपछि बोल्न थाले । केही कुरा राखेका थिए फेरि माइकले काम गर्न छाडेपछि उनले 'यो कसको हो ? यसलाई धन्यवाद !'- भने । माइकले काम गर्न छाडेपछि उनी विना माइक आफ्ना केही कुरा राखेर हिँडे ।

दरबन्दी थप गर्ने एक सुको पैसा छैन !
मन्त्री बस्नेतले निःशुल्क स्वास्थ्य उपचारको अभियान लागि जोडदारका रुपमा अगाडि बढाएको बताए । बुधबार दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालको निरीक्षण गर्न आएका मन्त्री बस्नेतले दरबन्दी थप गर्ने एक सुक्को पैसा नभएको समेत बताए । उनले भने- 'मन्त्रालयमा दरबन्दी पथ गर्ने एक सुक्का पनि थिएन र अहिले पनि छैन । लामो समय हल्ला गर्दै आएपछि ३ दिन अगाडि मात्र केही दरबन्दी बढाउन सक्ने अवस्था सृजना भएको छ । त्यसका लागि कति पापड पेल्नु पर्यो, मलाई मात्र थाहा छ ।’ अब यसलाई चाँडो भन्दा चाँडो भन्दा स्थायी गराएर लोक सेवाको प्रक्रियामा जाने गरी अर्थ मन्त्रालयसँग कारबाही अगाडि बढाउन लागेको समेत उनले बताए ।

यस्तै आफू मन्त्रालयमा आउने बेला ४० प्रतिशत बजेट कटौती गरेर पठाएको भन्दै आफू आएर हल्ला गरेपछि २० प्रतिशत बजेट फेरि ल्याएको र अझै २० प्रतिशत बजेट बाँकी रहेको बताए । यस्तै उनले राप्ती प्रादेशिक अस्पताललाई तत्काल डाइलासिस मेसिनहरू पठाउने र अन्य उपकरणहरू २ महिना भित्रमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । उनले अस्पतालमा तत्काल विशेषज्ञ डाक्टरहरू पठाउन सक्ने अवस्था नभएको भन्दै आफू काठमाडौं गएपछि काहीँबाट केही गर्न सक्ने आश्वासन समेत दिए ।

उनले भने, ‘छात्रवृत्तिका डाक्टरहरूलाई अहिले ठाउँ ठाउँमा गाउँमा पठाएका छौँ । धेरै लामो समयदेखि पहुँचको भरमा काजमा बसेकाहरूलाई पनि गाउँमा पठाएका छौँ । अहिले तत्काल यो डाक्टर पठाउन सक्छौँ, भन्ने अवस्था छैन् । तर, म काठमाडौँ पुगेर केही गर्न अवस्था भएमा सहयोग गर्ने छु ।’ निरीक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल पनि आएका थिए ।

यस्तै अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपाने २०३३ सालमा हेल्थपोस्टको रुपमा स्थापना भएको यो अस्पताल अहिलेसम्म ५० बेडमा सञ्चालन भइरहेका धेरै समस्या भइरहेको बताए । उनले भने, ‘२०५४ सालमा स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास भयो । त्यसपछि २०६५ सालमा अञ्चल अस्पतालका रुपमा विकास भयो । २०७५ सालदेखि प्रादेशिक अस्पतालका रुपमा विकास भयो । तर, अहिलेसम्म ५० बेडको अनुमति रहेको छ । यहाँ दाङका मात्र नभइ अन्य छिमेकी जिल्लाका नागरिकहरू सेवा लिन आउँछन् ।’

उनका अनुसार अहिले अस्पतालमा दैनिक करिब ५ सय बिरामीहरू सेवा लिन आउने गरेका छन् । अस्पतालको सेवा बढि रहेको अवस्थामा अस्पतालको जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा दिन समस्या भइरहेको उनको भनाइ छ । अस्पतालमा आईसीयू सेवा नहुँदा धेरै बिरामीहरूलाई बाहिर रिफर गर्न बाध्य भएको भन्दै उनले आईसीयू सेवाको लागि मन्त्रीलाई ध्यानाकर्षण गराए । यस्तै अस्पतालको जग्गा व्यवस्थापन गर्नु काम बाँकी रहेको भन्दै उनले त्यसको लागि आफूहरू प्रयासरत रहेको पनि उल्लेख गरे ।

उनले अस्पतालका संरचनाहरू निर्माणका केही कामहरू बाँकी रहेको भन्दै निर्माण भएका संरचनाहरू हस्तान्तरण नभएको पनि बताए । उनले भने,‘ २ सय बेडको अस्पताल बनाउने भनेर संघीय स्वास्थ्य मन्त्रालयबाट पत्र आएको थियो । तर, जनशक्ति व्यवस्थापन नहुँदा ५० बेडको जनशक्तिले १४१ बेडको अहिले सञ्चालन गरिरहेका छौँ । अहिले लुम्बिनी प्रदेश सरकारबाट पनि २ सय बेडको बनाउन प्रक्रिया अगाडि बढेको छ ।’