रुपन्देही । बुद्धको पहिलो पाईला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीहरुको निशुल्क घुँडा प्रत्यारोपण गरिएको छ । थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर घुडा प्रत्यारोपाण स्वास्थ्य शिविर गरिएको हो ।
सिद्धार्थ सिटिनगर हस्पिटल भैरहवासँग सहकार्य गरी थाइल्याण्डको सिरीराज हस्पिटलका प्रोफेसर डा. किराती सिको नेतृत्वमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले अत्याधुनिक प्रविधि मार्फत घुँडाको प्रत्यारोपण गरेका हुन ।
निकै महगो र खर्चिलो उपचारका रुपमा रहेको घुडाको प्रत्यारोपण बुद्धजन्मस्थल लुम्बिनी र यसआसपासका बिरामीलाई केन्द्रीत गरी निशुल्क रुपमा गरिएको छ । बुधबार एक कार्यक्रमकाविच घुडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीहरुको उत्साहका लागि आयोजित कार्यक्रममा नेपालमा आधुनिक प्रविधि मार्फत घुडाका बिरामीलाई निशुल्क उपचार गरेकोमा धन्यवाद दिइएको थियो । बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकहरुको पहलमा पहिलोपटक स्वास्थ्यशिविर गरिएको आयोजकहरुले बताएका छन ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले थाइल्याण्डको चिकित्सकहरुके टोलीले लुम्बिनी क्षेत्रका स्थानीयहरुको उपचार गरेर ठूलो योगदान दिएको बताए । उनले बुुद्धको उपदेश मानवसेवा नै भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताए । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिक रुपमा विपन्नहरुलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकोमा थाइल्याण्डका बौद्धध्यान गुरु भिक्षु सुधर्मले खुशी व्यक्त गरे ।
नेपालमा स्वास्थ्य शिविर सञ्चालनका लागि भिक्षु फ्रा अनिल सुगन्धले समन्वय गरेका थिए । उनले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज हस्पिटलका चिकित्सक प्रोफेसर किराँतीको अगुवाईमा ठूलो स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताए । उनले बुद्धकै प्रभावले आर्थिक रुपमा विपन्न समुदायलाई घुँडाको प्रत्यारोप गरेर थाइल्याण्डका चिकित्सकहरुको पवित्र काम गरेको बताए । उनका अनुसार डा. किराँती नेतृत्वको बुद्धको पहिलो पाईला परियोजनाले थाइल्याण्डका पनि ग्रामिण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोँच अनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताए । लुम्बिनी आएर बिरामीहरुको उपचार गर्न पाउँदा निकै खुशी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचले बताए । उनले उपचार गरेकाहरु २ घन्टामै हिड्न सफल भएको बताए । सोमबार १४ र मंगलबार १६ जना बिरामीहरुको घुँडाको अपरेशन गरिएको थियो ।
थाइल्याण्डका राजाको जन्मदिनको अवसर पारेर गत जुलाई २७ र ३० तारिखका दिन बुद्धजन्मस्थल लुम्बिनीमा घुँडा प्रत्यारोपणका लागि निशुल्क रुपमा छनौट स्वास्थ्य शिविर गरिएको थियो । त्यतिखेर ७ सय ७ जनाको निशुल्क परीक्षण गरिएको थियो । राजकीय थाई विहार लुम्बिनीको समन्वयमा शिविर भएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगहरुको निशुल्क उपचार सेवा स्थानीयहरुले पाएको बताए । उनले लुम्बिनी र बुद्धसँग जोडेर विहारहरुले यस्ता कार्यक्रमहरु बढाउनुपर्ने बताए ।
घुँडा प्रत्यारोपणका लागि बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जना, १४ जना थोरापी र नर्स र अन्य सहयोगी टिम सहित ४५ जनाको टिम थाइल्याण्डबाट आएको थियो । उपचारका लागि एक ट्रकभन्दा धेरै विभिन्न सामान तथा उपकरण ल्याएको थियो ।
सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुवोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महंगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफुहरुको अस्पतालमा गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा घुँडाको शल्यक्रिया गरिएका बिरामीहरु हिँडेका थिए ।
कार्यक्रममा थाइल्याण्ड राजदुतावासका प्रतिनिधि, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राजकीय थाई विहार लुम्बिनीका सुफोत भन्ते, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिती रहेको थियो । मानवताका लागि प्रेम भन्ने नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज हस्पिटल १३५ बर्ष पूरानो हो ।
प्रतिक्रिया