ताजा अपडेट »

नेपाल राष्ट्र बैंक भैरहवामा क्युआरबाट नयाँ नोट, असोज २९ देखि वितरण

बुधबार, १७ असोज २०८०

भैरहवा । नेपाल राष्ट्र बैंक भैरहवा स्थित सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुबाट संकलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ । यससँगै आउदो दशैंलाई लक्षित गरि वितरण गरिने नयाँ नोटमा केही सहजता आउने भएको छ ।

बैंकका निर्देशक सत्येन्द्र राज सुबेदीले आफ्नो आन्तरिक विल फछयौट गर्ने क्रममा कार्यालयलाई बुझाउनु पर्ने रकम क्युआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रुपमा शुरुवात गरेका हुन् । कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रा लगायत अन्य विदेशी मुद्रा र सिक्का खरिद गर्न अब नगद नोट नै बोक्नु पर्ने झण्झट हटेको छ ।

यस्तै पाँच रुपैयादेखि माथिको दरका सुकिला तथा नयाँ नोट लिन पनि बैंकले क्युआर सञ्चालन गरेको छ । अन्य बैंकको एटिएममा प्रयोग गरे बापत निश्चित रकम भुक्तानी गर्ने बाध्यता पनि अब हटेको छ । कार्यालय खुलेको समयमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयमा गई निःशुल्क रुपमा क्युआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिनसक्ने निर्देशक सुवेदीले जानकारी दिए ।

“नेपालमा हुने सम्पूर्ण कारोवारहरुलाई क्रमश नगद रहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोवार गर्न नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुदेखि नै प्रयास गरिरहेको थियो,” सुवेदीले भने “ बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट लिनुपर्ने रकम पनि सुरक्षित र भरपर्दो विद्युतीय माध्यमबाट लिन सकिने गरी व्यवस्था गर्न शुरु गरेका हौं ।” नेपालमा क्युआर माध्यम मार्फत हुने कारोवारलाई स्वीकार गरी सम्बन्धित बैंकको खातामा रकमान्तर गर्न दुईवटा कम्पनी फोन पे र नेपाल पे ले इजाजत लिएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरु ती कम्पनीहरुमै आवद्ध रहेका छन् । ग्राहकको सुविधालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले दुईवटै कम्पनीको क्युआर राखेको छ । यसका लागि कार्यालयले एनआइसी एसिया बैंक लिमिटेड र माछापुच्छ्रे  बैंक लिमिटेडसँग सम्झौता गरेको छ ।

सुकिला नोट प्रयोग गर्न अपिल
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले नया नोट संगै कार्यालयमा रहेका सफा नोट पनि प्रयोग गर्न सेवाग्राहीहरुलाई अपिल गरेको छ । दशै लगायतका चाडपर्वमा पूर्वसन्ध्यामा वितरण गरिने नयाँ नोटमा अविर, अक्षेता लगायतका कारण बैंकिङ्ग प्रणालीमा छिटो आउने गरेको छ । यसरी बैंकिङ्ग प्रणालीमा आएका ती नोटहरुलाई नष्ट गर्नुपर्ने हुन्छ, यसले राज्यको ठूलो रकम नोक्सान हुने बैंकका भैरहवा निर्देशक सुवेदीले बताए ।

ठूलो विदेशी मुद्रा खर्च गरी छपाईएको नेपाली नोटको अधिकतम सुरक्षा हुनेगरी जतनसाथ उपयोग गर्नुपर्नेमा निर्देशक सुवेदीले जोड दिए । “विगतका वर्षहरुमा वितरण गरिएको नोटहरुमध्ये अधिकांश नोटहरु एकपटक मात्र प्रयोग भई नेपाल राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेका छन् ।” उनले भने “लामो समयसम्म त्यतिकै रहँदा ढुकुटीमै काम नलाग्ने अवस्थामा पुग्नसक्ने सम्भावना भएकोले सकेसम्म सफा नोटको माग गर्न आग्रह गरेका हौं ।”

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले असोज २९ देखि कार्तिक ३ गतेसम्म सर्वसाधारणलाई लक्षित गरी पाँच रुपैया देखि १०० रुपैया सम्मको एक एक प्याकेट प्रति व्यक्तिलाई नयाँ नोट सटही गरिने व्यवस्था मिलाएको छ । यसका लागि सम्भव भएसम्म क्यूआरबाट सटही गर्न सम्बन्धित सबैमा अनुरोध गरिएको छ । यस संगै सुकिला नोट चाहिएको समयमा र चाहिएको परिमाणमा बैंकबाट प्रदान गरिने सुवेदीले बताए ।