ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघमा पूर्व अध्यक्षहरुलाई साथमा राखेर श्रेष्ठ प्यानलको उम्मेद्वारी घोषणा

विहीबार, ११ असोज २०८०

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औ वार्षिक साधारण तथा २५ औ अधिवेशनमा दिनेश प्रसाद श्रेष्ठ प्यानलले विहीबार पूर्व अध्यक्षहरुलाई साथमा राखेर भब्य समारोहका बीच उमेद्वारी घोषणा गरेको छ । श्रेष्ठको अध्यक्षतामा

टंक प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, नविन प्रसाद श्रेष्ठ (नवराज) उद्योग उपाध्यक्ष, विमलराज भट्टराई वाणिज्य उपाध्यक्ष, बाबुराम वि.क. महासचिव, प्रकाश कुमार श्रेष्ठ कोषाध्यक्ष, प्रतिक पौडेल सचिव तथा जाकिर हुसेन सह–कोषाध्यक्ष रहनेगरी चुनावी प्यानलको घोषणा गरिएको छ । घोषणा सभामा उक्त प्यानललाई साथ दिँदै पुर्वअध्यक्षहरु जीवन ओझा, नवराज श्रेष्ठ, निर्मल प्रसाद लाकौल, महेशमान सिंह, सुरेन्द्र श्रेष्ठ, अर्जुनमान शैजु, खेम हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजुले उपस्थिती जनाएका थिए ।

केही समयसम्म दुवै पक्षको साझा उम्मेदबार भनिएका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्ष विमल भट्टराई पनि श्रेष्ठको प्यानलमा भएको घोषणा सहित टिमको प्रतिवद्धताहरु सार्वजनिक गरे । कार्यक्रम संचालन गरेका पुर्वअध्यक्ष सुरेन्द्र श्रेष्ठले उम्मेदवारको ब्यावसायिक र सामाजिक योगदानबारे प्रकाश पारे । बुटवलको ब्यवसायसँगै सामाजिक कार्यमा संघको योगदान रहेको समेत उनले बताए ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले आफनो प्रतिवद्धता जनाउँदै बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रीय शहर एवं बजारहरुसँग प्रतिष्पर्धी बनाउन पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सीमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरि जागरण ल्याउने, ब्यावसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने लगायतका प्रतिवद्धता जनाए ।

यसैगरी सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, ब्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्यको पहल गर्ने, बैक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग पहल गर्ने बताए ।