बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा सुधार गर्दै जाँदा जनविश्वास पनि बढ्दै गएको छ । अस्पतालले पछिल्लो वर्ष हासिल गरेका कार्यप्रगतिको तथ्याङ्कले अस्पतालप्रति जनविश्वास बढ्दै गएको देखिएको हो ।
अस्पतालले सार्वजनिक गरेको १ वर्षे कार्यप्रगति विवरण अनुसार पछिल्लो आर्थिक वर्ष ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरंग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो संख्या अघिल्लो आर्थिक वर्षभको भन्दा १५ हजार ७०२ ले बढी हो । अस्पतालमा अघिल्लो वर्ष (२०७८÷७९) मा २ लाख ८६ हजार ९९४ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा १ लाख २२ हजार ८६४ जनाले सेवा लिएका थिए ।
आकस्मिक कक्षतर्फ पनि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो वर्ष अस्पतालमा ६७ हजार ५६१ जनाले आकस्मिक सेवा लिएका थिए भने त्यस अघिको वर्ष २०७८÷७९ मा ५५ हजार ६२१ जनाले सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०७७÷७८ मा ४४ हजार ८१३ जनाले आकस्मिक कक्षमा सेवा लिएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालमा जनशक्ति व्यवस्थापन, कार्यशैली सुधार तथा सेवाग्राहीको गुनासो सम्बाधेन हुनेगरी नयाँ योजनाकासाथ अघि बढ्ने तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । प्रादेशिक अस्पतालप्रति जनताको विश्वास बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै उनले अझ धेरै सुधारको खाँचो औल्याए । सेवा सुधारका लागि ‘अस्पताल सञ्चालन कार्य निर्देशिका’ ल्याउने तयारी भएको बताउँदै उनले यसले धेरै कुरालाई सम्बोधन गर्ने उल्लेख गरे ।
‘हाम्रो मूल उद्देश्य नै सहज र सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा विरामीहरुले प्राप्त गरुन् भन्ने हो ।’–अध्यक्ष श्रेष्ठले भने, ‘प्रादेशिक अस्पतालको बन्दै गरेको अस्पताल सञ्चालन कार्य निर्देशिककाले सेवाग्राही विरामीहरुको मौलिक हक अधिकारलाई अझै स्पष्ट गर्ने छ । सेवा प्रदान गर्ने नर्सिङ, प्यारामेडिक्स, चिकित्सक, प्रशासन सबैलाई अझ बढी जिम्मेवार र जवाफदेही बनाउने छ ।’ विगतमा तल्लो तहमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने कर्मचारीहरुलाई पनि प्रोत्साहन प्रदान गर्नेगरी नयाँ निर्देशिकाले सम्बोधन गर्ने उनले दाबी गरे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले कम जनशक्तिबाट पनि धेरैभन्दा धेरै सेवाग्राहीलाई उपचारका लागि विभन्नि उपालयहरु अबलम्बन गरिएको उल्लेख गरे । अस्पतालमा फरक–फरक उपचारका लागि सोही अनुसार टिकट काउन्टरको वृद्धि, नयाँ भवनमा अस्पताल शैय्याको वृद्धि, उपकरण थप, इएचएस नियम लागू गरी २४ सै घण्टा उपचार सेवा लगायतका कारण उपचार सहज हुँदैजाँदा सेवाग्राहीको चाप बढ्दै गएको थापा बताउँछन् । अस्पतालमा सेवाग्राहीको चाप बढे पनि आवश्यक जनशक्ति भने अभाव भएको उनले गुनासो गरे । अस्पतालमा पछिल्लो १ वर्षमा प्रदान गरिएका सेवा तथा जनशक्तिको मुल्याङ्कन प्रतिवेदन अनुसार आवश्यकभन्दा निकै कम जनशक्तिले काम गर्नु परेको उनले बताए ।
अस्पतालमा पछिल्लो एक वर्षमा ९ हजार ६३२ जना विरामीको शल्यक्रिया गरिएको छ । त्यसअघिको वर्ष ८ हजार ९०३ विरामीको शल्यक्रिया गरिएको थियो । अस्पतालमा बेड सङ्ख्या तथा सेवाग्राहीको चापका आधारमा जनशक्ति अत्यन्तै न्युन रहेको थापा बताउँछन् । अस्पतालमा हाल ५०७ बेड सङ्ख्या रहेको छ । जस मध्ये महिला तथा प्रसुती सम्बन्धी उपचारका लागि ९२, बाल रोगका लागि २६, सर्जरीका लागि ३९, मेडिसिनका लागि ३७, पोष्ट अपरेटिभका लागि ९, ओसिएमसी १, डाइलासिस १८ तथा अर्थोपेडिकका लागि ५१ वटा बेड रहेका छन् । यसैगरी एचडियू ५, आईसियू २६, एनआईसियू ८, आकस्मिक कक्षमा ३२, अब्जरभेसन ईमरजेन्सीमा २७, क्याविन ४७, आइसोलेशन ४० तथा ४९ वटा अन्य बेड रहेका छन् ।
यसरी बेड सङ्ख्या, यहाँ आउने सेवाग्राहीको चाप र जनशक्तिमा तालमेल नमिलेको मेडिकल सुपरिटेन्डेन डा. थापा बताउँछन् । अस्पतालमा हाल प्रमुख कन्सलट्यान्ट डाक्टरहरु १३ वटा दरबन्दी मध्ये १० जना मात्रै रहेका छन् । वरिष्ठ कन्सल्टेन्टका लागि ३८ जना दरबन्दी रहेकोमा १२ जना स्थायी तथा ३ जना करारमा रहेर १५ जनाले काम गर्नुपरेको छ । यसैगरी १ जना डेन्टल सर्जन र ४७ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा ३० जना करार तथा १७ जना स्थायी पदपूर्ति भएको छ । एक जना डेन्टल सर्जन भने स्थायी नियुक्त गरिएको छ ।
प्रयोगशालातर्फ १६ जनाको दरबन्दी रहेकोमा ९ जना स्थायी तथा २ जना करार गरी ११ जनाको मात्रै पदपूर्ती भएको छ । प्यारामेडिक स्टाफका लागि ३४ जनाको दरबन्दी रहेकोमा २२ जना स्थायी तथा १२ जना करारमा नियुक्त गरिएको छ । मेडिकल रेकर्डर ३ जनाको दरबन्दी रहेकोमा १ जनामात्रै पदपूर्ति भएको छ । २३२ जना नर्सिङ स्टाफ दरबन्दी रहेकोमा ११७ जना स्थायी तथा १११ जना करार गरी २२८ जना पदपूर्ति भएको छ । व्यवस्थापन तथा लेखा शाखामा ६ जनाको दरबन्दी रहेकोमा ५ जनाले काम गरिरहेका छन् । अस्पतालमा विशेषज्ञ, चिकित्सक, स्टाफनर्स तथा विभिन्न क्षेत्रका कर्मचारी गरी ७८५ जना रहेका छन् ।
प्रतिक्रिया