ताजा अपडेट »

समाजवादी मोर्चा लुम्बिनी प्रदेशले बृहत अन्तरक्रिया गर्ने

मंगलबार, ०९ असोज २०८०


बुटवल । समाजवादी मोर्चा, नेपाल लुम्बिनी प्रदेशले ‘नेपाली विशेषताको समाजवाद’ बारे बृहत अन्तरक्रिया गर्ने भएको छ । यहि असोज ९ गते सम्पन्न मोर्चाको लुम्बिनी प्रदेश समितिको बैठकले नेपाली परिवेश सुहाउँदो समाजवादको अन्तरवस्तुबारे छलफल गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशका तीन जिल्लाहरु रुपन्देही, दाङ र बाँकेमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मोर्चाले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला तथा स्थानीय तहहरुमा मोर्चाको केन्द्रीय कार्यविधि अनुरुप प्रत्येक पार्टीका दुई÷दुई जना सदस्य रहनेगरी यहि असोज मसान्तभित्र जिल्ला समितिहरु तथा कात्तिक १५ गतेभित्र स्थानीय तह समितिहरु गठन गर्ने निर्णय गरेको मोर्चाका प्रदेश समिति सदस्य मनिकर कार्कीले बताए ।

त्यस्तै मोर्चाले राष्ट्रियता, समाजवाद र जनजिविकाका सवालमा जनजागरणमुखी संघर्षका कार्यक्रमहरु संचालन गर्ने तथा लुम्बिनी प्रदेश सरकारलाई समसामयिक जनचासोका विषयमा ध्यानाकर्षण गर्ने समेत निर्णय गरेको कार्कीले बताए । सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच समाजवादी मोर्चा बनेको हो ।

सो मोर्चाले गत भाद्र १२ गते लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय सन्देशसभा गरी मोर्चाको लुम्बिनी प्रदेश समिति घोषणा गरेको थियो । मोर्चाको प्रदेश समितिमा प्रत्येक पार्टीका तीन÷तीन जना गरी कूल १२ सदस्य रहेका छन् ।
मोर्चाको कार्यविधि अनुसार मोर्चामा आवद्ध प्रत्येक दलले ४/४ महिनाका लागि आलोपालो प्रणाली अनुसार नेतृत्व गर्नेछन् । सोही प्रावधान अनुरुप सुरुको मोर्चाको केन्द्रीय समितिको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् भने लुम्बिनी प्रदेश समितिको सुरुको नेतृत्व नेकपाका बसन्त सीले गरेका छन् ।

नेपाली मौलिकता र विशेषता अनुरुपको समाजवादी कार्यदिशा तय गर्ने लक्ष्यका साथ घोषित समाजवादी मोर्चाले संघर्षका सबै मोर्चामार्फत खबरदारी गर्दै जनजिविका र जनसंघर्षका कार्यक्रमहरु मार्फत समाजवादको आगामी मार्ग पहिल्याउने योजना तय गरेको मोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त सीले बताए ।