ताजा अपडेट »

'नेपाली भूमि भारत बिरोधी गतिविधिमा प्रयोग गर्न दिदैनौं'

शनिबार, ०६ असोज २०८०

भैरहवा । नेपालका सिमा क्षेत्रमा बस्ने स्थानियहरुले नेपाली भूमिलाई भारत बिरोधी गतिविधिको लागि कहिल्यै पनि प्रयोग हुन नदिने बताएका छन् ।

शनिबार भैरहवामा सम्पन्न भएको नेपाल भारत मैत्री संघ, रुपन्देहीको चौथो अधिवेशन एवम मैत्री सभा कार्यक्रममा बोल्ने वक्ताहरुले दुबै देशको सम्बन्ध रोटी बेटीमा मात्र सिमित नरहेको बताए । नेपाल र भारतको संस्कृति, पराम्परा, खानपिन मात्र मिल्ने नभई देवी देवता समेत एउटै रहेको बताउदै वक्ताहरुले यो सम्बन्ध कुनै राजनैतिक असरका कारण नमेटिने बताए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले सदियौ देखि भारतीय र नेपालीहरुको सम्बन्ध रहेको र यो भविष्यमा पनि यसरी नै चल्ने बताए । “बिच बिचमा राजनैतिक कारणले केही असमझदारीहरु आउने गरेको छ ।” उनले भने “तर यो घरको विवाद जस्तै लाग्छ, जुन प्राय सबै घरमा हुने गरेको छ ।”

उनले सिमामा बस्ने दुवै देशको नागरिकहरु नै सिमाको वास्तविक रक्षक भएको बताउदै राजनैतिक कारण विवाद नगर्न आग्रह गरे । नेपाली र भारतीय नागरिकहरुले दुवै देशमा दुख नपाउन नेपाल भारत मैत्री संघले प्भावकारी भूमिका खेल्नु पर्ने खाँनले बताए ।
कार्यक्रममा सहभागी भारत सुनौली ब्यपार मण्डलका अध्यक्ष विजय रौनियारले दुवै देशका चेलीहरु एक अर्काको देशमा गएकोले यो सम्बन्धलाई भन्सारको कुनै नियमले रोक्न नसक्ने बताए । १ सय रुपैया माथिको समानमा लाग्दै आएको भन्सार महशुल तर्फ ईगिंत गर्दै रौनियारले यसले स्थानिय ब्यवसायी एवम भारत सरकारलाई कुनै प्रकारको असर नगर्ने बताए ।

नेपाल भारत मैत्री संघका लुम्बिनी प्रदेश अध्यक्ष वासुदेव रिमालको अध्यक्षता, नगर प्रमुख ईस्तियाक अहदम खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल भारत मैत्री संघका कार्यवाहक केन्द्रिय अध्यक्ष शैलेन्द्र कुमार झा, महासचिव बोधकृष्ण सुवेदी, सचिव अरुण प्रसाद पाण्डे, केन्द्रिय सदस्य मोहनराज शर्मा, अधिवेशन तैयारी समिति संयोजक श्रीचन्द्र गुप्ता, उपभोक्ता मञ्चका अध्यक्ष भरत बहादुर केसी, नेपाल भारत मैत्री संघ धकधई उपशाखाका अध्यक्ष बेचन प्रसाद गुप्ता लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा नारायण डुम्रेले गरेका थिए ।

नेपाल भारत मैत्री संघको अध्यक्षमा श्रीचन्द्र गुप्ता नेपाल भारत मैत्री संघ, रुपन्देहीको शनिबार नै सम्पन्न भएको अधिवेशनले भगवान गुप्ता (श्रीचन्द) को अध्यक्षतामा ३ बर्षे कार्यकालको लागि १४ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा अकबाल खाँन र जया उपाध्याय चयन भएका छन् । यस्तै सचिवमा मधुसुदन खनाल, कोषाध्यक्ष चन्द्रिका मणि त्रिपाठी चयन भएको संघका सदस्य नलिन शर्माले जानकारी दिए ।

सदस्यहरुमा रुक्मागत पाण्डे, एजाज वारिस, अरुण कुमार श्रेष्ठ, भागीरथ गैरे, गनपत प्रसाद गुप्ता, टिका कुमारी भट्टराई, गणेश पौडेल, सपना हमाल र दुर्गा श्रेष्ठ चयन भएका छन् ।