काठमाडौँ । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार) पनि काठमाडौँमा प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।
शिक्षकहरुको विरोध प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। माइतीघरमा जारी प्रदर्शनका कारण बानेश्वर, बिजुलीबजार र थापाथली सडकमा सवारीसाधन जाममा परेका छन् ।
नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ। जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ ।
प्रतिक्रिया