भैरहवा । बिहान सुतेर उठ्ने बित्तिकै सम्भवतः सबैलाई चाहिने चिया होला । कालो होस, सेतो होस, हरियो होस वा तातो पानी मात्र भए पनि यसका अम्मलीहरु प्रशस्त भेटिन्छन् । साथीभाईको जमघट होस या राजनितिक गफ, चिया बिना अधुरो हुन्छ । चियाका पारखीहरु राम्रो चियाकै लागि पसल पसल भौतरिरहेका हुन्छन् । अहिले ठूला ठूला पसलहरुमा सयौ रुपैया सम्म चियाकै मूल्य रहेको छ ।
तर मर्चवारवासीलाई १५ रुपैया पर्ने भुलईको चिया नै मन पर्छ । मर्चवारी गाउँपालिका वडा नम्बर ४ देवनगढिया चोकमा सडको पेटीमा त्रिपाल र बाँसको सहारामा बनाईएको भुलईको चिया पसलमा बिहानै देखि चिया पारखीको भिड लाग्ने गर्छ । यो भिड बिहान मात्र नभई साँझ सम्म नै उस्तै हुन्छ । भुलई पनि पसलमा आएका ग्राहकहरुका लागि चिया बनाउनमै ब्यस्त रहनछन् । उनलाई श्रीमति सुनिता यादवले सहयोग गर्छिन् ।
त्यो बाटो हिड्नेहरु भुलईको चिया खाएर नै जान्छन् । तरोताजा बनाउने भुलईको चिया पारखीहरु यस क्षेत्रमा धेरै छन् । कति सम्म भने १५ रुपैयाकै चिया खान ५० रुपैया भन्दा बढीको पेट्रोल खर्च गरि भारतको कोल्हुई सम्मका मानिसहरु उनको पसलमा चिया खान आउने गरेका छन् ।
भुलईको चियाको नियमित ग्राहक स्थानिय पप्पु जयसवालले भुलईको चिया पसलमा नपसी गएको रेकर्ड नरहेको बताउछन् । उनले भुलईको चिया मात्र हैन, पकौडा, पेडा, खुवा लगायतका मिठाईको स्वाद पनि अब्बल रहेको बताए ।
केही समय भारतको बम्बईमा काम गरि भुलई पछि कोल्हुईमा हलुवाईको सहयोगी भई काम गरे । त्यहा समयमा पारिश्रमिक नपाए पछि आफ्नै सानो चिया पसल खोले । बाटो छेउमै नहरले छोडेका सानो जग्गामा उनको पसल छ । पसल पनि टिन र बाँसले बनाईएको छ । उनको पसल खुलेको पनि ६ वर्ष भई सकेको छ । अहिले उनको पसलमा भारतको कुल्हुई बजार, पैसिया बजार, मर्चवारको सेमरा, रायपुर,ओडवलिया, बगौली, अमवा लगायतका क्षेत्रबाट चिया पारखीहरु आउने गरेका छन् ।
पसलमा भुलईको मेहनत हेरेर लोभिने पनि उत्तिकै छन् । बिदेशबाट फर्किएका कतिपय युवाहरु भुलईले स्वदेशमै गरेको कर्मलाई प्रंशसा पनि गर्ने गरेका छन् । टोल बस्तीबाट केही पर रहेको उनको चिया पसलमा दैनिक ३ सय भन्दा बढीले चिया र खुवाको स्वाद लिन आउने गरेको भुलईको भनाई छ । उनको पसलमा औषतमा दैनिक ३ सय कप चिया र ६–७ किलो खुवा खपत हुने गरेको छ ।
पसल सानै छ, भित्र बस्ने ठाउँ थोरै छ, ग्राहकहरु बाहिर रुखमुनि बसेर चिया खादै आनन्द लिने गरेको भुलई यादव बताउछन् । हवाहुरीले टहरामा क्षति पु¥याएको बेला विभिन्न स्थानियले सहयोग गरी व्यवस्थापन गराउने गरेका छन् ।
प्रतिक्रिया