ताजा अपडेट »

सुस्ताएको साहित्य

बुधबार, ०३ असोज २०८०
2 Shares

मानवीय अभिव्यक्तिको उच्चतम शिल्प हो, साहित्य । (युवराज गौतम, मधुपर्क-२०८०) यति भनेपछि धेरै कुरा बुझ्न कठिन नहोला ! एकपटक साहित्य संगम, बुटवलमा साहित्यिक रचनाका समीक्षा गर्दै साहित्यकार दिल साहनीले भनेका थिए–पार्टटाइम जबजस्तै भएको छ साहित्य । मैले समय कालखण्ड बिर्सिएँ । प्रा.डा.हिरण्यलाल ज्ञवालीले भनेका थिए– बुटवल त साहित्यिक मरुभूमि बन्दैछ ।

साहित्य संगम, बुटवलले बुटवलको साहित्यिक गतिविधिलाई कुनै समय जुरुक्कै उचालेको थियो । अग्रज साहित्यकारका स्नेहपूर्ण निर्देशन, सार्थक सहभागिता र आवश्यक पृष्ठपोेपणले अनुज साहित्यानुरागीहरुलाई साहित्यप्रति लालयित गराएको घामझैं छर्लङ्ग छ । बटुलिएकाहरुमात्र होइनन् बुटवल वरिपरिका साहित्यकाका घनिभूत उपस्थितिले बुटवलको साहित्याकास फराकिलो बन्दै गरेको सबैलाई हेक्का भएकै विषय थियो ।

३०० औं साहित्य संगम, बुटवलको साहित्यिक श्रृङ्खला बुटवलको हिलपार्कमा २०७५ कोे मंसीरमा सम्पन्न गरिसकेपछि क्रमशः बुटवलको साहित्यिक कार्यक्रमहरु सुस्ताए कि भन्नेहरुको संख्यामा कुनै कमी छैन । उक्त रजत महोत्सवका रुपमा मनाइएको ३०० औं अंकको सबै हर्ताकर्ता हामीले साहित्यकार कपिलबन्धु (देवेन्द्र घिमिरे) लाई बनाएका थियौं । उमेरले पाका तर कामले जाँगरिला एवम् गतिशील, प्रगतिशील कपिलबन्धुको संयोजन प्रभावकारी भएको सबैले अनुभव गरेकै कुरा हुन् । उक्त अवसरमा साहित्य संगम, बुटवलको इतिहास लेखन गर्ने भनिएता पनि इतिहास लेखनका जिम्मा पाएका साहित्यकारले कागजको चिर्केटोमा पढेर सुनाउने काममात्र भएको सबैले थाहा पाएकै सन्देश हुन् ।

साहित्य संगम, बुटवल स्थापनाकालदेखि नै लूज फोरमका रुपमा विकास हुँदै गएको पाइन्छ । हलले कार्यक्रम सञ्चालनका लागि एकजना संयोजक तोक्ने र उनले तोकिएको महिनाको कार्यक्रमका लागि साहित्यकारहरुलाई सूचना प्रवाह गर्ने अनि कार्यक्रम सञ्चालन गर्ने पुरानो चलन थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले आफ्ना रचनाहरु वाचन गर्ने, उपस्थितमध्ये एकजना पाका पुराना वा नयाँ पुस्ताकालाई समीक्षकका रुपमा अघि सार्ने अनि उनले वाचित रचनाहरुका बारेमा आफ्ना समीक्षा प्रस्तुत गर्ने परम्परागत चलन थियो । कहिलेकाँही पुस्तकको विमोचन र समीक्षा समेत गरिन्थ्यो ।

धेरै साथीहरुलाई गिनेचुनेको साहित्यकार बनाउन, साहित्य संगम, बुटवलको बलियो योगदान रहेको कसैले नकार्न सक्दैनन् । यसले व्यवस्था विरोधी आन्दोलनमा समेत भूमिका निर्वाह गरेको पाइन्छ । चाहे २०४६ सालको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा होस् वा २०६२÷०६३ को आन्दोलनबाट लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि सडक साहित्यलाई जोडेर किन नहोस् ।

बुटवलको साहित्यलाई अघि बढाउनका लागि तत्कालीन बुटवल नगरपालिकाले स्थापना गरेको बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठानको नाम बिर्सिन सकिदैन । देशभरिका साहित्यकारहरुलाई बुटवलमा भेला गराएर उक्त प्रतिष्ठानले बुटवलको साहित्यिक गतिविधिहरुलाई सबैका अघि परिचित गराएको थियो । बुटवल साहित्यिक मरुभूमि होइन बरु यो त उर्वरभूमि हो भनेर देशव्यापी सन्देश दिएको थियो । उक्त कामका लागि बुटवल नगरपालिकाका साविक मेयर भोजप्रसाद श्रेष्ठ र डेपुटीमेयर बिमलबहादुर शाक्यलाई कुनैपनि साहित्यिक मनहरुले कदापी भुल्ने छैनन् ।

बुटवल उपमहानगरपालिकाले २०७५ सालमा ऐन पास गरेर २०७८ सालमा बुटवल साहित्य, कला, संस्कृति प्रतिष्ठानलाई झपेन्द्रबहादुर जीसीको संयोजकत्वमा गठन गरेको थियो । शिवराज सुवेदी मेयर, प्रमुख संरक्षक र डेपुटीमेयर गोमा आचार्य प्रतिष्ठानको संरक्षक रहने व्यवस्थाका साथ केही साहित्यिक गतिविधिहरु सञ्चालनमा आएका थिए । नाममा संशोधन गरी बुटवल नगर प्रज्ञाप्रतिष्ठान बनाइएको थियो । तर (अपुष्ट खबर अनुसार) त्यो प्रतिष्ठान यतिबेला खारेजीको अवस्थामा रहेको छ ।

नेपालमा भौतिक विकासलाई नै सर्वोपरि विकास ठान्ने नेपाली संस्कार भएको बेला नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास नभए देश कसरी समृद्ध हुन सक्ला ? शासकहरुले यतिकुरा कहिले बुझ्लान् ? मानवीय क्षमताको विकासविना देशको कुनै पक्ष समृद्ध हुन नसक्ने सबैले हेक्का राखे हुने थियो ।

बुटवलमा साहित्य परिषद् खुल्यो । अनेक संगमहरु वा साहित्यिक संघसंस्थाहरु खुले तर यतिबेला सबै सुस्ताएका छन् । कोरोनाकालमा समेत जुम विधिबाट साहित्य संगमको केही श्रृङ्खलाहरु सञ्चालनमा आएपनि यतिबेला यो संगम आइसियूमा छ । सायद थप साहित्यिक उपचार र सुसार नपाए भेण्टिलेटरमा जाने छ ।

बुटवलमा यतिबेला केही युवाहरुले बुटवलको साहित्यिक श्रीवृद्धिका लागि आफ्नै गाँस कटाएर पैसा उठाउँदै पाठक मञ्च, बुटवल सञ्चालन गर्दै आइरहेका छन् । कहिलेकाँही प्रकाशक वा लेखकहरुसँग हात थापेका छन् कार्यक्रम सञ्चालनका लागि । उनीहरुको यो बाध्यता बुझ्ने कसले हो ? बुटवलको पठन संस्कृति विकास हुँदा घाटा कसलाई हुने होला ? किन घैंटामा घाम लाग्दैन जिम्मेवार पक्ष वा निकायहरुका ?

बुटवलका केही दैनिक पत्रिकाहरुले शनिवार साहित्यिक खुराक पस्किदै आएका छन् । उनीहरुको बाध्यता पनि कम्तिको छैन तरपनि साहित्यिक दियोमा तेल थप्ने काममा उनीहरु क्रियाशील छन् भन्दा खुसी लाग्छ । केही एमएम रेडियो र स्थानीय टिभीहरुले पनि छोटो समयको साप्ताहिक साहित्यिक कार्यक्रमहरु सञ्चालन गरेर यहाँको साहित्य, कला र संस्कृतिको विकासमा टेवा पुराएका छन् ।

बुटवलका सरकारी एवम् संस्थागत विद्यालयहरुले समेत साहित्यकारहरुको जन्मदिन, जन्मजयन्ती मनाएर भएपनि नेपाली साहित्यमा आफूलाई नि अंशियार बनाउँदै आएका छन् । विभिन्न साहित्यिक विधामा प्रतियोगिता गराएका छन् । पुरस्कृत गरेका छन् । साहित्यकारहरुलाई निर्णायकका रुपमा बोलाएर साहित्यिक चेष्टा जगाएका छन् ।

बुटवल किन यसरी साहित्यमा सेलायो वा सुस्तायो ? कि देशभरि नै साहित्य सुस्ताएको हो त ? त्यसो भने होइन । टाढा जानुनै पर्दैन बुटवलको छिमेकी सहर, भैरहवामा रहेका सिद्धार्थ साहित्य परिषद् र सिर्जनशील साहित्य समाज उदाहरणका लागि काफी छ । उनीहरुको एकतावद्ध साहित्यिक गतिविधि, व्यवस्थित कार्यालय, कार्यक्रमको गतिशीलता, उनीहरुले जोडजाड गरेर भएपनि दिने साहित्यिक पुरस्कार एवम् सम्मानले उनीहरुका कर्मलाई सलाम गर्न सकिन्छ ।

पाका पुराना साहित्यकारहरुको निर्दिष्ट निर्देशन, सहयोगी भावना र साथले नै भैरहवाको साहित्य फुरेको छ । युवाहरुको सार्थक सहभागिता,अध्ययनशील भावना र साहित्यिक संगतले समेत भैरहवा उन्नतिशील बन्दै गइरहेको छ । यसो भनिरहँदा सबैले मनन गर्नुपर्ने भएको छ, साहित्य किन र कसका लागि ? देवदहका युवाहरु समेत साहित्यमा फड्को मारिरहेका छन् ।

बुटवलमा साहित्यिक कार्यक्रम गर्ने स्थायी थलो छैन । कहिले बुटवल बहुमुखी क्याम्पस, कहिले ज्ञानज्योति पुस्तकालय, कहिले नवजागृति पुस्तकालय, कहिले जीवराज आश्रित स्मृति प्रतिष्ठान कहिले कता, कहिले कता, बिरालाले पाठापाठी सारेजस्तै साहित्यिक कार्यक्रमका लागि सर्न परेपछि हालत के होला ? यसका बारेमा सोच्ने कोही भएनन् । साहित्य नै नबुझेपछि कसलाई किन दोष दिने र ?
भन्नेहरुले साहित्यिक कार्यक्रमहरुको औचित्य सिद्धियो भन्छन् पनि । महिनामा एक दिन एउटा रचना सुनाउन घण्टौं पर्खेर बस्ने जमाना गयो । तत्कालकै तत्काल सामाजिक सञ्जालमा आफ्नो रचना पोष्ट गर्यो । तत्कालै कमेन्ट समेत आइहाल्छ । लाइक भइहाल्छ । दुनियाँभरका मानिसले संसारभर क्षणभरमा हेर्छन्,देख्छन् र पढ्छन् । कोठाको कुनामा सुनाएको रचना, भौतिक उपस्थित भएका बाहेक अरुले सुन्न पाउँदैनन् भन्नेहरु छन् ।

कतिले देशको विषम परिस्थितिमा मात्र साहित्यिक कार्यक्रम प्रभावकारी हुनेमा अड्कल काट्छन् । यतिबेला कुनै व्यवस्था परिवर्तन गर्न पनि छैन । अवस्था परिवर्तन भइहाल्यो । विपक्षी भूमिकामा देखिने साहित्यकारहरुको भाग अनेक राजनीतिक पार्टीहरुले खोसिदिएका कारण पनि साहित्यिक कार्यक्रमहरु ओझेल परेका छन् भन्नेहरुको ताँती लामै छ ।

यसो भए अब बुटवलमा साहित्यिक कार्यक्रमको जरुररी छैन । साहित्यिक संघसंस्थाको कुनै काम छैन । पठन संस्कृतिको विकास गफमात्र हो ? समाज २१ औं शताब्दिमा गुडेको बेला, उठेको बेला, पखेटा फुकाउन मुस्किल साहित्य यसै ठहरै पर्ने हो त ? बुटवल चिनाउने पुस्तक अझ्ै प्रकाशन हुन सकेको छैन । बुटवलको साहित्यिक पहिचान खोज्न सकिएको छैन । कलाको विकास सम्भव छ, नाइँ भन्न सकिएको छैन । संस्कृतिले विकृतिको रुप लिन थाल्दा बुटवलको अवस्था कहाँ पुग्ने हो ? कसैलाई मतलबै छैन ?

दुई, चारवटा पुल बन्दैमा, दुई चारवटा गार्डेन र ताल, तलाउ बन्दैमा, दुई चारवटा पुस्तकालय बन्दैमा बटौलीका मान्छेहरु धनी बन्दैमा यहाँको साहित्य, कला र संस्कृतिको उन्नति होला ? मापदण्डमा उत्कृष्ट देखिएला ? सायद धेरैले भन्दै आएका छन्, बुटवल तिनाउको किनारमा रहेको प्राचीन सहर हो । यसको सभ्यता र प्रागैतिहासिक कथा लामो र उत्कृष्ट छ । तर प्रचार खोइ ? यहाँको संस्कृतिको फैलावट खोइ ? यहाँको सभ्यताको बयान कहाँ पुग्यो ? यहाँको अमूल्य कलाको प्रसार खोइ ? साहित्य पनि तिनाउमै बग्यो कि कसो ?

पहिलो जिम्मेवार पक्ष भनेकै साहित्यकार हुन् । कलाकार हुन् । संस्कृतिकर्मी हुन् । उनीहरु सुस्ताएका छन् । सेलाएका छन् । तताउने निकाय वा संरचनाहरु पनि चिस्सिएका छन् कि कसो ? बिंड बनेकाले सोचून्–तावा त्यसै तात्दैन ।