ताजा अपडेट »

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बजेट ६ करोड ४७ लाख

शुक्रबार, २९ भदौ २०८०

भैरहवा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत चालु आर्थिक बर्ष २०८०/०८१ को लागि ६ करोड ४७ लाख १६ हजार रुपैया बिनियोजन भएको छ । रुपन्देही तथा नवलपरासी (पश्चिम) को जोन एवम सुपर जोनको लागि चालु तथा पूंजिगत गरि उक्त रकम बिनियोजना भएको एक कार्यक्रमका बिच शुक्रबार भैरहवामा सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ भैरहवाका प्रमुख नारायण काफ्लेले संघिय शशर्त अनुदान तर्फ रुपन्देहीका स्थानिय तहहरुलाई पकेट विकास कार्यक्रम सञ्चालनका लागि १ करोड ४६ लाख प्रदान गरिने जानकारी दिए । यस्तै नवलपरासी (पश्चिम) को स्थानिय तहहरुलाई ७० लाख तथा प्रदेश सरकारका जिल्ला स्थित कृषि तथा पशुपंक्षी क्षेत्र हेर्ने कार्यालयलाई ब्लक विकास कार्यक्रमको निरन्तरताको लागि दुबै जिल्लालाई समान १९ लाख रुपैयाका दरले बजेट बिनियोजन भएको छ ।

चालु आर्थिक बर्षमा कुल बजेटको ६५ प्रतिशत अर्थात ४ करोड २० लाख ८७ हजार परियोजना अन्र्तगतका बिभिन्न कार्यक्रमहरुमा खर्च गरिने छ । ३० प्रतिशत अर्थात १ करोड ९६ लाख ३९ हजार रुपैया पूंजिगत तर्फ र ५ प्रतिशत अर्थात २९ लाख ९० हजार रुपैया व्यवस्थापन बजेटका लागि छुट्टयाईएको काफ्लेले जनाए ।

स्थानिय तहहरुमा रहेका पकेट विकास कार्यक्रमहरुलाई यस पटक निरन्तरता मात्र दिने र कुनै नया पकेट थप नगर्ने उनले बताए । पकेट कार्यक्रमको निरन्तरताको लागि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकालाई ५ लाख तिलोत्तमा नगरपालिकालाई १२ लाख, देवदह नगरपालिकालाई ५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकालाई १० लाख, सिद्धार्थनगर नगर पालिकालाई ११ लाख, सैनामैना नगरपालिकाको लागि ७ लाख, ओमसतिया गाउँपालिकामा १२ लाख, कन्चनमा ६ लाख, कोटहीमाईमा १० लाख, गैडहवामा ११ लाख, मर्चवारी, रोहिणी र शुद्धोधनमा १२ लाख रुपैयाका दरले पठाईने छ । यस्तै मायादेवीमा ११ लाख एवम सम्मरीमाई र सियारीमा ५ लाख रुपैयाका दरले पकेटका लागि कुल १ करोड ४६ लाख रुपैया स्थानिय तहमा पठाईने छ । रुपन्देही जिल्लामा अनुगमन तथा समन्वय कार्यक्रम, पशु सेवा बिभाग, कृषि बिभाग गरि कुल ९ करोड ८० लाख रुपैया बजेट प्राप्त भएको छ ।

यस्तै नवलपरासी (पश्चिम) मा पकेट विकासको निरन्तरताको लागि बर्दघाट नगरपालिका, पाल्हीनन्दन गाउँपालिकामा १० लाखका दरले बजेट पठाईने छ । रामग्राम नगरपालिका, सुनवल नगरपालिका र सरावल गाउँपालिकामा ११ लाखका दरले तथा प्रतापपुर गाउँपालिकामा १२ लाख र सुस्ता गाउँपालिकामा ५ लाख गरि जिल्लामा कुल ७० लाख बजेट छुट्टयाईएको छ । नवलपरासी (पश्चिम) जिल्लामा अनुगमन तथा समन्वय कार्यक्रम, पशु सेवा बिभाग, कृषि बिभाग गरि कुल ५ करोड ६३ लाख रुपैया बजेट प्राप्त भएको छ ।

स्थानिय तह स्तरमा सञ्चालन हुने गरि पकेट क्षेत्र पहिचान गर्ने र कृषि तथा पशुको उत्पादनको लागी पकेटको विस्तार गर्दै ब्लकमा परिणत गर्ने एवम् रितले ब्लकहरु मिलाएर जोनको निर्माण गर्ने र जोनको माध्यमबाट सुपरजोन बनाई कृषिजन्य उद्योगमा रुपान्तरित गर्ने परियोजनाको उद्देश्य रहेको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट संचालन हुने गरि सुरु भएको थियो । १० वर्षे परियोजना २०७३ साउनबाट सुरु भई २०८२ को असारमा सकिने परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायण काफ्लेले बताए ।

प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरु बीचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने परियोजनाका लक्ष्य रहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरणका प्रमुख नारायण काफ्लेको अध्यक्षता, जिल्ला समन्वय रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न बजेट सार्वजनिकिकरण कार्यक्रममा जिल्ला समन्वय प्रमुख नवलपरासी (पश्चिम) का प्रमुख भगवती यादव, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल लगायत सम्वद्ध कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो ।