तीज, नेपाली नारीहरुको सर्वप्रिय पर्व हो । हिजो र आजको तीज मनाउने चलनमा आकास जमीनको अन्तर आइसक्यो । हिजो जसरी मनाइन्थ्यो तीज, आज त्यो परिस्थिति रहेन । अवस्था परिवर्तन भयो समाजको, व्यवस्थामा परिवर्तन आइसक्यो । तरपनि व्यवस्थाको गतिलोसँग नेपाली नारीहरुले प्रयोग गर्ने अवसर पाउन सकिरहेका छैनन् ।
पञ्चायती व्यवस्था मिल्काउन नेपाली नारीहरुले तीज पर्वलाई प्रयोग गरेर जेहाद छेडेका थिए । आगो ओकलेका थिए । क्रान्तिको बिगुल फुकेका थिए । गाउँका चौतारोमा होस् कि सहरका सडक, पेटीहरुमा किन नहोस् तीजका गीतमार्फत राँको बालेका थिए ।
तीजमा नारीहरुले तामा र बोडीका तरकारीसँग दर खाएका कुरामात्र उल्लेख गरेका छैनन् बरु उनीहरुले न्यायिक समताका लागि लड्ने र सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्तिमार्फत समृद्ध नेपाल, सुखी नेपालीको सपना उनेका थिए । सदियौंदेखि नेपाली नारीहरुले श्रीमानका लागि ब्रत बस्ने कुराहरुदेखि गोडा धोएर दैनिक जल खाने कुरीति, कुसंस्कारका बिरुद्धमा आवाज उठाउँदै नेपाली नारीहरु सांस्कृतिक परिवर्तनको मूलधारमा समाहित भइरहेका छन् ।
राजनीतिक अधिकार,सामाजिक अधिकार मिल्यो तर सांस्कृतिक अधिकारमार्फत आर्थिक अधिकार कहिले प्राप्त हुनेछ नारीलाई ? यही विषयमा नारीहरु अघि लम्की रहेका छन् वर्तमानमा । अधिकार मागेर होइन, खोसेर लिनुपर्छ भन्ने क्रान्तिकारी भावले ओतप्रोत भएर तीजलाई क्रान्तिकारी तवरले प्रयोग गरिरहेका छन् नेपाली नारीहरुले । चार दिवारभित्र पुरुषको रखौटी र दैलोकूचोमा अल्झेर,समग्र परिवर्तन असम्भव ठान्न थालेका नेपाली नारीहरुले वर्तमान व्यवस्थाले आफूहरुलाई के दियो र दिदैंछ भनेर प्रश्न गर्न थालिरहेका छन् । आवाज उरालेका छन् ।
२१ औं शताब्दीमा नेपाली नारीहरु अझैपनि अवस्था परिवर्तनको खुसीमा मख्ख छन् तर उनीहरुले व्यवस्था परिवर्तनको फल चाख्न पाएका छैनन् । कारण अनेक होलान् । छन् । त्यसैले गीत÷संगीतका जानकार चिरन पुनले अवस्था परिवर्तन भयो तर व्यवस्था परिवर्तनको खाँचो औंल्याउँदै यसरी तीजको गीत लेखेका छन् –
कोही भन्छन् अवस्था बदलिए पुग्छ बरिलै
हामी भन्छौं व्यवस्था बदलिनु पर्छ बरिलै ।
नेपालीहरुले राणा शासन र पञ्चायती व्यवस्थालाई फालेर लोकतान्त्रिक गणतन्त्र ल्याइसके । तर यतिले नि पुगेन । फेरि कुन व्यवस्था ल्याउनु पर्ने हो थाहा छैन ? समाजवादी गणतन्त्रको कल्पना गरिएको हुन सक्छ । व्यवस्था सञ्चालकहरु इमान्दार नहुँदा नेपालीहरुले पटकपटक धोका खाएका छन् । दुई पटक संविधानसभाको चुनाव भइसकेर एकथान संविधान प्राप्त भएको छ । तरपनि नेपाली नारीका अवस्था सुध्रिन सकेको छैन । तीजका दिन दुःख पोखेर होस् वा रमाईलो गर्दैमा नेपाली नारीका बग्रेल्ती पीडाहरु तिनाउले बगाएर लैजान नसक्ने रहेछ ।
“अवस्था होइन,व्यवस्था बदलौं” तीज गीतमा स्वर दिएकी रीता पुनले यसरी गाउँदै थिइन् गीत–
बेचबिखन नारीलाई,हत्या र बलात्कार
कति सुन्नु समाचार ,हामी नारीले ।
………………………………
वैज्ञानिक युगमा पनि पिल्सिएर बस्नुपर्ने
समानता कहिले आउँछ,हामी चेलीलाई ?
……………………………………
अधिकार बराबर, न्यायपूर्ण समाज
हाँसीखुसी बल्ल हुन्छ,हामी नारीलाई ।
भरखरै बजारमा आएको “अवस्था होइन, व्यवस्था बदलौं” गीति भिजुअल् सबैका लागि नौलो तीजको गीत हुन सक्छ । तीजको लयमा बजारमा आएको क्रान्तिकारी गीत हो । यसमा महिला समानता, न्यायपूर्ण समाज र महिलाहरुले यो अवस्थाबाट पार पाउन नौलो व्यवस्था ल्याउनुपर्छ भनेर गीतमा भनिएको छ । मंहगी, भ्रष्टाचार, बलात्कार बिरुद्धका कुराहरु ज्वलन्त उठाइएका छन् ।
बजारमा आएको यो प्रगतिशील तीज गीत सबै नारीका माझ पुग्न सके नेपाली नारीहरुका चेतनास्तर उकासिने छ । नारायण दंगालको एरेन्ज रहेको उक्त गीतमा कोरस भोकल क्षितिजा राहदीले दिएकी छिन् । मीना बुढाथोकी र तेजेन्द्र थापाले कोरियोग्राफरका रुपमा काम गरेका छन् । गीतको भिजुअलमा करुणा राहदी, मीना राहदी,सीमाना राहदी, श्रृष्टि पुन, मञ्जु परियार लगायतको नृत्य तथा संवाद अभिनय रहेको छ ।
प्रतिक्रिया