ताजा अपडेट »

यमबहादुर, तीज, बंगुर र म !

बुधबार, २७ भदौ २०८०

सानामा चाडपर्वहरुको खुबै चासो हुने । रमाईलो नि बिछट्टै ! म जन्मिएको ठाउँ, पाल्पाको दोभान झनै रमाइलो । दुई खोलाको संगम, दोभान । चिसो हावा । पौडी खेल्न, माछा मार्न अनि बगरमा खेल्न पनि टाढा जानै नपर्ने । घरबाट पाँचै मिनेटमा खोलामा पुगिने ।

वर्खामास् दोभान र झुम्सा खोला उर्लेर आउँथ्यो । साह्रै डर लाग्ने । बगाउँछ कि झैं लाग्ने । हिउँदमा भने त्यही खोला प्रिय लाग्ने । अहिलेजस्तो घरघरमा पंखा झुण्ड्याउनै नपर्ने । दोभानको चिसो सररर बग्ने हावाले मनै फुरुङ्ग !

हामी साना भएकोले हो वा खोला ठूलो भएकोले असोज महिनासम्म दोभान खोला तर्नै सारो । झुम्सा खोला तर्न भने पुष महिना नै कुर्नुपथ्र्यो । दोभान खोला फराकिलो थियो भने झुम्सा खोला डोलिएर आएको हुँदा तर्ने घाटै पाइन्थेन । दोभान खोलाको तुलनामा झुम्सा खोलामा पानी चिसो बग्थ्यो । हुन त झुम्सा खोला पहाडी क्षेत्रबाट बग्ने भएकोले होला पानी चिसो ।

गर्मीयाममा शुक्रबार स्कूल विदा भएपछि दोभान खोलामा पौडी खेल्न गइन्थ्यो । साथीहरुका लुगा ढुङ्गा मूनि लुकाइन्थ्यो । बालुवामा लडीबुडी गरिन्थ्यो । घरि भ्यागुतोझैं उत्तानो परेर सुतिन्थ्यो । नाइँटोभरि बालुवाको पर्वत बनाइन्थ्यो । घोप्टो परेर टाउको उठाएर आकासतिर हेर्ने बाजी मारिन्थ्यो । शनिवार विहानै पौडी खेल्न जाँदा घरकाले कराएर भात खान बोलाको हिजो झैं लाग्छ । अतीतका कुरा सम्झिदा पनि रमाइलो लाग्छ ।

चाडपर्वहरु आएपछि खुब खुसी भइन्थ्यो । स्कूल जान नपर्ने । होमवर्क गर्न नपर्ने । हल्लेर गाउँ घुम्न पाइने । घरकाले नि केही नभन्ने । सधैं चाड आओस् झैं लाग्ने । साल बिर्सिएँ । छिमेकी साथी यमबहादुर थापा मगरले तीजको दर खुवाउन दिदीलाई लिन जाम भन्यो । गइयो । उसको हलजोडी थिएँ म । उमेरले ऊ र म केही वर्षका फरक थियौं । तैपनि लालजोडी थियौं ।

दिदी लिन गइयो । अहिले झैं मोटर गुड्ने बाटो थिएन । साधन हुने कुरै भएन आफ्नो । दोभानको कालिका टोल(अहिलेको शान्तिटोल) बाट हामी फुच्चाहरुलाई कुसुण्डे(अहिलेको कुसुमडाँडा) जाँदा करिव एकघण्टा जति लाग्यो होला । जारकाटे, झेर्दीखोला, दमार हुँदै बाउन्ने खोलाको काठेपुल तरेर कुसुण्डे पुग्नुपर्थ्यो । सानो गाउँ, थोरै घरहरु थिए ।

हामी घरमा पुग्दा दिदी घाँस काट्न गएकी रहेछिन् । विहानको ९ बज्दैथियो होला । केहीबेरको कुराइपछि दिदी आइन् । त्यतिबेला नमस्कार गर्ने खासै चलन थिएन । यमबहादुरले भन्यो–दिदी तिम्लाई लिन आमाले पठाको । जाने रे ! आज दर खाने हो रे ! यति भनेपछि दिदीले कुरा बुझिन् । उनी घरभित्र पसिन् । हामी दुबैजना एकपाखे घरबाहिर काठको खटियामा बस्यौं ।

यतिबेला सम्भवतः म दुई वा तीन कक्षामा पढ्थे हुँला । मेरो अनुमानमात्र हो । दोभानको गणेशशटोलमा दोभान प्राथमिक विद्यालय थियो । कुलबहादुर तुलाचन हेडसर हुनुपर्छ । थोरै विद्यार्थी थियौं । एकले अर्कालाई सजिलै चिन्थ्यौं । सरहरुले पनि हाम्लाई नचिन्ने कुरै भएन । मेडम त हामीले देखेनौं । सायद त्यतिबेला महिलाहरुले स्कूल पढाउने चलन थिएन वा दोभानका महिलाहरु मेडम हुने हैसियतमा पुगेका थिएनन् । त्यहि भएर हामीले मेडमको ममता महसुस गर्ने अवसर जुरेन ।

एक्कासी दिदीले घरभित्रबाट दुईवटा सिल्भरको थालमा मासु ल्याइन् । एउटा थाल मतिर तेर्साइन् र अर्को आफ्नो भाइतिर सारिन् । यमबहादुरले तातो मासु फुक्दै तान्न थाल्यो । मासुको चोक्टो ठूलै थियो । मैले भने मासुको चोक्टो हातमा राखेर ओल्टाइपल्टाइ हेर्न थालें । मुखमा राखें । खुप चपाएँ । मेरो दाँतले चपाउनै सकेन । जवरजस्ती निल्ने प्रयास गरें । अहँ ! छिरेन । फेरि चपाएँ र निल्न खोजें । बल गरेर निल्न खोज्दा घाँटीमा अड्क्यो । घोप्टो पारेर मेरो घाँटीमा यमबहादुरले हातले हान्यो अनि मासुको डल्लो फुत्त निस्कियो ! सन्तान पृथ्वीमा खसालेकी महिला झैं हलुङ्गो भएँ । खसेको त्यो मासुको डल्लोलाई समाएर भदौरे धानको गाँजतिर हुत्त्याएँ । बाँकी थालको मासुको डल्लो पनि नखाइकन खेतको पाटातिर फालिदिएँ । मासुको डल्लो लामै समय अड्किएको भए सायद म यतिबेला यो कुरा लेख्ने अवस्थामा हुने थिइनँ ।

बाटामा ओरालिने बेला डराइडराइ दिदीलाई सोधें– दिदी हाम्लाई दिएको मासु केको थियो नि ? दिदीले छोटकरीमा भनिन्–बंगुरको । म झसंङ्गै भएँ । जीवनमा पहिलो पटक थियो मैले बंगुरको मासु मुखमा हालेको । तीनपत्रे त्यस्तो मासु कहिले खाएको थिइनँ । घर आएर नुहाइँधुवाइँ गरी धूप बालेरमात्र घरभित्र पसेको थिएँ । आजपनि तीज आउँदा त्यही तीनपत्रे बंगुरको मासु, यमबहादुर र उसको दिदीको याद आइरहन्छ । त्यतिबेला घाँटीमा अड्केकै कारणले मात्र होइन, घरायसी चलनकै कारण बंगुरको मासु आजसम्म खाएको छैन । तरपनि त्यतिबेला चपाएको अनुभव भने ताजै छ ।