ताजा अपडेट »

शहीदको उपहास

विहीबार, १६ माघ २०७६

शहीदहरु हामीलाई दास हैनौँ स्वाधिन देशको स्वतन्त्र नागरिक बनाउन शहादत भएका हुन् । तथापि हाम्रा सरकारहरुले हामीलाई कुनै न कुनै रुपमा दास बनाउने प्रपञ्चमा छन् । शासीत, दास बनाउने होडमा छन् । भर्खर भएको पिएम मोदीजी र पिएम ओलीजीको भिडियो कन्फ्रेन्समा मोदीको हिन्दी भाषाबिना रुपान्तरण ओलीजीले बुझ्नै पर्ने । हामीले उनलाई हाम्रो भाषामा हैन, अंग्रेजीमा बताउनु पर्ने । दुवैले आफ्नै भाषामा बोलेको भए त्यो सबैलाई पाच्य हुने थियो तथापि भारतको भाषीक दमन त्यो कन्फ्रेन्समा मात्र हैन इतिहासदेखि नै देखिदै आएइएको छ । यो एक प्रतिनिधि उदाहरण हो । डेनीस दाशर्नीक सोरेन कि अरके गार्ड भन्छन् “तानाशाह मर्छ र उसको शासन अन्त्य हुन्छ, शहीद मर्छ र उसको शासन शुरु हुन्छ ।” यो भनाईलाई नियाल्दा शहीदको बलिदान झल्कन्छ । शहीदहरु नै तानाशाहलाई शासनबाट च्यूत पार्ने मुख्य तत्व हुन् भन्ने कुरा स्पष्ट हुन्छ । जब शहादत हुँदै जान्छ तब तानाशाहहरु डगमगाउदै जान्छन् । र अन्त्यमा ढल्छन् ।

तानाशाहहरुको ठाउँमा परिवर्तनका एजेण्डा बोकेकाहरु शहीदको सपना लिएर अगाडि आउछन् । त्यो नै अप्रत्यक्ष रुपमा शहीदको शासन हो । हाम्रा नेताहरुले दार्शनिक सोरेन कि अरके गार्डको भनाइलाई बुझेनन् । व्यवहारमा शहीदको बाटो अगाल्न सकेनन् । त्यो दुःखदायी र फरक पक्ष हो । तर वास्तविकतामा शहीदको देन नभएको भए कुनै नेताहरु आज देशको शासन सत्तामा पुग्ने थिएनन् । परिवर्तनका खातिर हाम्रा नेताहरुको नेतृत्वमा भएको आन्दोलनहरुमा शहादत पाएका शहीद आत्माहरुले शान्ति पाउन सकेका छैनन् । देशको र जनताको भलाईको लागि जीवन उत्सर्ग त गरे तर त्यसको उपलब्धि नेपाली जनताले नपाउँदा आज उनीहरुको आत्मा चहराइ रहेको छ । हिजो मर्नु भन्दा आज सपना पूरा नहूँदा लाखौँ गुणा बढी झन् पीडाबोध भइरहेको छ । त्यसैले आज ती मृत आत्माहरुले घारे हातले सराप गरी रहेका छन् परिवर्तनका अगुवाहरुलाई । जस्ले नेपाल आमाको सपना साकार पार्न भनी आन्दोलनको उद्घोष गर्यो । जस्ले राजनीतिक परिवर्तनको खातिर बलिदानी दिनुपर्छ भनेर प्रशिक्षित गर्यो । जस्ले उनीहरुलाई शहीद बन्न नेपाल आमाका छोराछोरीलाई टाउकोमा कात्रो बाँधेर तत्कालिन तानाशाहहरु बिरुद्ध लढ्न लगायो । जस्ले सपना देखायो राणा शासन, पञ्चायत, ज्ञानेन्द्रको शाहीकाल पछिको सुन्दर, शान्त, विकसित, जनसहभागिता शहीदको समृद्ध नेपालको । समृद्ध प्रजातन्त्रिक व्यवस्थाको ।

तथापि आज खै ति सपनाहरुलाई जनताका माझ साकार पार्न सकेको ? १९९७ सालका शहीदहरुले आत्मसमर्पणको कागजमा सही गर भनी तत्कालिन शासकले अह्राउदा ज्यान भन्दा प्रजातन्त्र ठुलो भनी शुलीमा चढेको कसैलाई फगत नेता बनाउन र कुर्ची दिन किमार्थ हैन । लखन थापादेखि आजसम्मको बलिदान नेता उत्पादन गर्न होइन । शहीदहरुले शहादत प्राप्त गरे देशका राजनीतिक परिवर्तनका साथसाथै नेपालीको समृद्धिका लागि । उनीहरुको रगत, वलिदानीका परिणाम स्वरुप आज हामीले खोक्रो भए पनि गणतान्त्रीक नेपालमा बाँच्न पाएका छौ । आज देशमा राजनीतिक परिवर्तन भएको छ । नेताहरु सच्चिने हो भने शासन व्यवस्था सही छ । सहिदहरुको सपना भनेको केवल राजनीतिक आवरण परिवर्तन मात्र हैन । शहीदहरुको बलिदान देश निर्माण गर्दै नेपाल आमाका सन्तानहरुलाई समृद्धि तर्फ लैजानु हो । यो जिम्मा राजनीतिक दलहरुको हो । तथापि वर्षौ देखि शहीदहरुको सपना साकार भएको छैन । केवल शहिदहरूको अमर सम्झनामा स्थापित वा निर्मित चिन्ह, सालिक, कुञ्ज, द्वार आदिमा पुगेर हाम्रा नेतागणहरुबाट सम्मानको खातिर फूलमाला चढाउने काम भएको छ । यो किमार्थ शहिदको सम्मान हैन । शहीदहरु यस्ता बाहिरी सम्मान भन्दा राजनीतिक परिवर्तनले प्रत्येक नेपालीको जीवनमा सकारात्मक परिवर्तन ल्याओस भन्ने चाहन्छन् । उनीहरुको वीरताको गुणगान शब्दमा नभएर व्यवहारमा गाइयोस् भन्ने चाहन्छन् ।

वर्षमा एक पटक फुलमाला र अबिर लगाइदिएर शहीदको सम्मान हुदैँन् । शहीद भगवान हैनन् । उनीहरुको पुजा गर्नु आवश्यक छैन । पुजा त त्यति बेला गरेको मानिने छ जतिबेला नेपालीहरुले परिवर्तनको स्वाद पाउन थाल्ने छन् । जतिबेला हिजो भन्दा जनता सुसम्पन्न हुनेछन् । जतिबेला गरीब नेपालीले एक छाक खान नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । अतिबेला रोजगारी सिर्जना भई नेपालीहरु बिदेशको भूमीमा श्रम गर्न जानु पर्ने छैन् । जतिबेला देश सच्चा स्वाधीन बन्ने छ । जतिबेला मनैबाट हाम्रा नेताहरुले जनतालाई राष्ट्रियताको पाठ सिकाउने छन् । हो साँचो अर्थमा समृद्ध नेपाल निर्माण हुनु नै शहीदलाई पुजा गर्नु हो । शहीद आत्माहरुलाई माघ सोह्र गते नेताका उही पट्यार लाग्दा भाषण सुन्ने इच्छा कदापी छैन । उनीहरुले वर्षौदेखि यस्ता भाषणहरु सुनिरहेका छन् । नेताहरुमा उही प्रतिबद्धताको पुनरावृत्ति हुन्छ । जो वर्षौ देखि भइरहेको छ । शहीदहरुको भौतिक अस्थित्व हुने सवाल भएन । उनीहरु यहाँ पूनःआएर नेतागणहरुलाई झकझकाउन सक्ने कुरा सम्भव भएन । तथापि राजनीतिक आन्दोलनहरुमा देशका विभिन्न ठाँउमा प्राण त्यागेकाहरुको सम्मान हुुनु आवश्यक छ ।

उनीहरुको सालिक बोल्न सक्दैन । न त केही देख्न नै सक्दछ । तर उनीहरुको प्राणपखेरुले यहाँ भएका सबै कुरा अनुभूति गर्न सक्छन् । उनीहरुले नेपालीको सपना साकार पार्न प्राणको समेत आहुतिदिइ शहीद बनेका छन् तर अपसोच निर्णायक तहमा रहेका नेतागणहरु यी आवाजहरु साकार पार्न पटक्कै तात्दैनन् । फगत शहीद दिवस मनाउछन् । अनि रुवाउछन् शहीद आत्माहरुलाई वइयातको सम्झनामा डुबाएर । शहीदको सच्चा सम्मान भनेको नेपाली जनतालार्इ आर्थिक, भौतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक रुपमा सम्पन्नतातिर उन्मुख गराउनु हो । अभाव र पीडाबाट मुक्ति गराउनु हो । कम्तिमा पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र स्वतन्त्रताको न्यूनतम ग्यारेण्टि गर्नु हो । गरिबी, भोकमरी, दमन, भेदभाव, पक्षपात अन्त्य भई न्यायमा सबेको पहँुच पुग्नु हो । मानब अधिकारको सुनिश्चितता हुनु हो । तथापि कुनै पनि क्षेत्रमा आशातित परिवर्तनले छुन नसक्नुले प्रष्ट पार्छ कि यहाँ शहीदहरुको अपमान भएको छ । उनीहरुको उदेश्य माथि कुठाराघात भएको छ । उनीहरुको रगतमा भ्रष्टाचार भएको छ । उनीहरुको आशामा तुषारापात भएको छ । वास्तवमा शहीदलाई खोलो तर्यो, लौरो बिर्सियोको अवस्थामा पुर्याइएको छ । किन्तु, परन्तु, तर, तथापि आदि आदिमा अल्झेको राजनीतिले शहीदलाई सधै यिनै शब्द जालमा अल्झाएर रन भुल्ल मात्र पारिरहेको छ ।

त्यसैले त भन्न मन लाग्छ कि वास्तवमा शहीद दिवसका नाममा शहीद स्तम्भहरुमा गएर फुलमाला अर्पण गर्नु शहीदको सम्मान नभएर चाप्लुसी गर्नु हो । आफ्नो राजनीतिक जीवन जीवन्त राख्ने एक प्रपञ्च हो । जनतामा लाज पचाउने काइदा हो । हिजो रगतको होली खेलाएकाहरुले सो काम सही हो भनी पुष्ट्याउने चतुर्याई हो । त्यसैले शहीदलाई सम्मान गर्ने नै हो भने ०७६ को शहीद दिवसको दिनबाट केही वर्षको लागि नेताहरुले जनताको भलाईका लागि एकताबद्ध भएर लाग्ने प्रण गर्नु पर्छ । अहिलेको के.पि. ओली नेतृत्वको सरकार लगभग दुई तिहाई बहुमतको छ । यो सरकारबाट जनताले केही आशा गरेका थिए पनि । यो सरकारले केही समृद्ध नेपालका केही आधारहरु तयार पनि गरेको पनि हो । तथापि गरीबको घरमा अझसम्म त्यो समृद्धी पुगेको छैन । देशले आशातित फड्को मार्न सकेको छैन । अन्त्यमा आफ्नो जीवन सुम्पने वा आत्मोत्सर्ग गर्ने शहीदहरु प्रति कम्तिमा पनि यो स्तम्भकार सम्मान गर्दछ । आजतक नेताले शहीदको सच्चा सम्मान गर्न नसके पनि अब आउने दिनमा यो कुरा सच्चिने छ भन्ने आशा व्यक्त गर्दछ । जय शहीद दिवस ।