ताजा अपडेट »

चर्किदो तीज

मंगलबार, २६ भदौ २०८०

देशमा आर्थिक मन्दी छ । अर्थतन्त्र कमजोर भएकै कारण सबैतिर विकराल स्थिति छाएको छ । ९१ प्रतिशत् बस्तुको आयात र ९ प्रतिशत् बस्तुको निर्यातको वर्तमान नेपाली परिवेशमा अर्थतन्त्रको कुरा धेरै गरिरहन आवश्यक छैन ।

देश यो अवस्थामा कसरी पुग्यो ? अड्कल अनेक छन् । धेरैले कोरोना काललाई सम्झिएका छन् । अर्थविद्हरुले युक्रेन लगायतको देशमा चलिरहेको युद्ध र त्यसको असरलाई औल्याएका छन् । नेपालबाट विकसित देशहरुमा अध्ययनका लागि विद्यार्थी जाँदा नेपाली मुद्रा धेरै निर्यात भएकोले वर्तमान आर्थिक समस्या भित्रिएको उल्लेख गरेका छन् ।

कतिपय राजनीतिककर्मीले सात वटा प्रदेश सरकारलाई धान्नुपर्ने बाध्यकारी अवस्थाले यस्तो आर्थिक संकत आएको बताउँदै छन् । नेपालमा उद्योगधन्दा नहुनु र आम्दानीका बाटाहरु साँघुरिँदै गएको कारणले यस्तो समस्या आएको बताउनेहरु पनि छन् । राजस्व कम असुल हुनु, सरकार स्मुथ तरिकाले चल्न नसक्नु र देशमा भ्रष्टाचार मौलाउँदै जानुको परिणाम नै आजको आर्थिक सुसुप्तता हुन सक्छ ।

यतिहुँदा पनि नेपाल चलिरहेकै छ । त्यसो हुनुमा रेमिट्यान्स नै मुख्य हो । खाडीमुलुकको रेमिट्यान्सले नेपालीहरु धानिएकै छन् । अमेरिका, जापान, अष्ट्रेलिया र क्यानडा पढ्न गएकाहरुलाई यतैबाट पैसा पठाइदिनु परेपछि देशको अर्थतन्त्रको हालत के होला ?

देश, आर्थिक अभावकै कारण कोल्याप्स हुने हो कि भनेर शंका गर्नेहरु धेरै छन् । झिनो आशा त्यही रेमिट्यान्स न हो । कुनदिन त्यो पनि थलो पर्छ । अनि, राज्य नै शिथिल भइ कोमामा नजाला भनेर कसले भन्न सक्छ ?

यस्तो विषम परिस्थितिमा नेपालीहरुका अनेक पर्वहरु घरदैलामा आइपुगेका छन् । तेत्तीसकोटी देउता भएका नेपालीहरुले एउटा देउता वा चाड मानेर कहाँ खुसी र सुखी होलान् र ? संसारमा नेपालीहरु अनौठा जातिमा गनिंदा रहेछन् । जो थोरै खुसीमा धेरै रमाउने अनि थोरै पीडामा धेरै दुःखी समेत हुने ।

यतिबेला तीज आइसकेको छ । तीजको रन्को झ्याप्पै देखिन्छ । कमाउने नि हो, रमाउने नि हो भन्ने गीतदेखि अरेली काँडैले गीत, गाउँ हुँदै बजारका ठूलाठूला पाटी प्यालेसमा पुगेर धेरैलाई तताएकै छ । दिनदिनै हाम्रा होटल, पाटी प्यालेसहरुमा नेपाली दिदीबहिनी र दाजुभाइहरुको ओइरो लागेको छ । उतिबेला महिलाहरुमात्र भेला हुन्थे । सुख, दुःखको गीत गाउँथे । अचेल त महिलाहरुलाई पुरुषले आयोजक बनेर सहयोग गर्ने, नाँच्ने, गाउने र मीठामीठा परिकारहरुको सेवन गर्ने महाचलनका रुपमा विकसित भइरहेको पाइन्छ ।

होटल वा पाटी प्यालेसमा दर खाने, नाँच्ने कार्यक्रम गर्नु नराम्रो हुँदै होइन । यस्तो आर्थिक संकटको बेलामा थाल खाम कि भात खाम भन्ने बेलाका होटल, पाटी प्यालेसमा कार्यक्रम गर्दा उनीहरुलाई राहतरुह तेल घसेजस्तै भएको हुनुपर्छ । दर खाँदा होटल, पाटी प्यालेसमात्र होइन अनेक व्यापार, व्यवसाय चलेको छ । फ्रेश हाउस चलेका छन् । खसी, बोकाका मासु पसल चलेका छन् । घ्यू बिकेको होला । मसिनो चामल बिकेकै होलान् । साडी पसलमा साडी किन्ने दिदीबहिनी, आमा, माइजूहरुको लर्को लागेकै होला । नानीहरुले लेङ्गा किनेकै होलान् । थोरबहुत सुनका गहना बनाइएकै होलान् । चिउराको स्वाद मिठै बन्दो होला । चुराको के कुरा गर्ने ? सेण्डिलको व्यापार राम्रै चलेको होला । मेकअपका सामानहरुको बिक्रीले नेपाली पैसा कता गएको होला सहजै अनुमान गर्न सकिन्छ ।

तरपनि यी सबै कुराहरुका लागि रकम कहाँबाट कसरी जुटे होलान् ? जो आयोजक बनेपनि आम्दानीको स्रोत कुन होला ? धन, पैसा नभइकन त्यत्रा भव्य तथा सभ्य कार्यक्रम त्यसै आयोजित हुने त होइन पक्कै ? खाँदा मिठै हुन्छ । नाँच्दा रमाइलो हुन्छ । सबैसँग भेटघाट हुने अवसर जुट्छ । दुःख मेटिन्छ क्षणिक भएपनि । मिठो, चोखो स्वाद लिन पाइन्छ । तरपनि, मन्दीका बेला पैसा कसरी कहाँबाट आयो होला ?

पूँजीवादी समाजमा धनको रवाफ देखिन्छ । हुनेले आफूलाई सर्वस्व देखाउँछ । नहुनेले अरुको हेरेर वा अरुको ईर्ष्या गरेरै दिनरात बिताउने हो पक्कै । हाम्रो तीज यस्तै बन्दै गएको हो त ? घरको कुनोमा बसेर, दुनोमा खाको चित्त बुझ्न छाडेकै हो त ? तामा र बोडीसँगै दर खाएको रुच्दैन अब ?

वर्तमान परिवेशको अर्थतन्त्रलाई हामीले कहिले बुझ्ने ? दैनिक आवश्यकता पूरा गर्न नसक्ने अवस्था प्रायः धेरैका जीवनमा आइसकेका छन् । विलाशिताको जीवन एकादेशको कथा बन्दै गएको नेपाली समाजमा फेरि पनि तीज चर्किदै गएको छ । तीजको अघिल्लो दिन वा रातमा खाइने दर महिनौं दिनदेखि खान थालिएको छ । त्यो पनि भव्य महलहरुमा । दैनिकी छाडेर नयाँ परिवेशमा तीज महँगो बन्दै गइरहेको सबै महिला संघसंगठन भनेर के लाग्यो र उनै महिलाहरु सहभागी धेरै हुन्छन् । बिरोध गर्ने पुरुष साथीहरु पनि आयोजक वा मादल बजाउने नाममा होस् वा डेक मिलाइ दिने काममा खर्चिलो तीजलाई स्वीकार गरिरहेका छन् ।

पीपल वा समी चौपारीमा बसेर होस् वा मन्दिर, पौवा वा साझा घरहरुमा बसेर दिदीबहिनी मिलेर नाँचिने र गाइने तीज आज किन यस्तो डढेलोजस्तै सल्किदै गयो । पैसा नहुँदा खर्चिलो किन बन्दै गयो । देखासिकीको तीज किन बन्दै गयो । व्रत बस्ने, दुःख, सुख साट्ने र पीरव्यथा बिसाउने तीज किन तडकभड्क हुँदै गइरहेको छ ? गीतहरु पनि तीजलाई सम्झाउने भन्दा पनि तीजलाई तर्साउने खालका बिनाढङ्गका किन आइरहेका छन् । अझ् टिकटकले एउटा भावको गीतलाई अर्कै भाव र अर्थमा रुपान्तरण गर्दैछ । शलील गीतहरु पनि अशलीलतामा परिवर्तन गराइदिने चलनले आकासै छोएको छ ।

संकटको बेला तामझामयुक्त तीज न मनाउँदै राम्रो होला । आर्थिक संकटबाट समाधान खोज्दै गएको यो परिवेशमा देश राम्रोसँग समृद्ध भएपछि फेरि धुमधामले तीज मनाउँला नि हुन्न र ? अनिकालमा बीऊ र हुलमुलमा जीऊ जोउन सकिएमा उत्तम हुनेछ । एक माघले जाडो जाने होइन क्यारे पक्कै !
तीज मनाऔं । कम खर्चमा । महिला दिदीबहिनीहरुलाई तीजको शुभेच्छा ।