बुटवल । तिनाउ गाउँपालिका,शिक्षा, युवा तथा खेलकूद शाखा,दोभान (पाल्पाको आयोजनामा तिनाउ गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुको शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा एवम् कक्षा १२ को नतीजा विश्लेषण कार्यक्रम सोमवार पालिकाको सभाहलमा सम्पन्न भएको छ ।
तिनाउमा रहेका नौ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक सत्र २०७९ को एसईई र कक्षा १२ को आ(आफ्ना नतीजाहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एवम् शिक्षा समितिका संयोजक प्रेम श्रेष्ठले पालिकाको शैक्षिक नतीजा गतवर्षको तुलनामा राम्रो भएतापनि सोचजति प्रगति हुन नसकेको ओैल्याए । तिनाउको शैक्षिक अवस्था सुधार्न पालिका कटिवद्व रहेको बताउँदै शैक्षिक उन्नयनका लागि शैक्षिक योजना बनाई कार्यान्वयन गर्ने बताए ।
गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउको शैक्षिक उन्नतिका लागि सक्दो वजेट विनियोजन गरिएको बताए । भौगोलिक कठिनाई र विद्यार्थीका अभावले गर्दा शैक्षिकस्तरमा कठिनाई भएको उल्लेख गरे । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले तिनाउको शैक्षिक उन्नतिका लागि प्रधानाध्यापकहरुले एक साताभित्र विद्यालयको शैक्षिक योजना अनिवार्य पेश गर्न शिक्षा शाखामा पेश गर्न अनुरोध गरे । उनले प्रधानाध्यापकहरुलाई जिम्मेवारीपूर्ण तरिकाले अघि बढ्न समेत अनुरोध गरेका छन् ।
गाउँ शिक्षा समितिका सदस्य दलबहादुर गुरुङले तिनाउको शैक्षिक विकासमा प्रधानाध्यापकहरुको नेतृत्वदायी भूमिका हुनुपर्न बताए । साथै उनले नतीजाहरुको विश्लेषण गरि आवश्यक योजना,कार्यक्रम तय गरि कार्यान्वयनमा जोड दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पालिकाका प्रबक्ता यादवप्रसाद अर्याल र वडा नं ६ का वडाध्यक्ष टोमबहादुर पुन,शिक्षा शाखाका प्रमुख लक्ष्मी कुँवर,किसन ज्ञवाली लगायतले शैक्षिकस्तर उकास्न आआफ्ना क्षेत्रबाट लागि पर्नुपर्ने बताए ।
प्रतिक्रिया