ताजा अपडेट »

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

सोमबार, २५ भदौ २०८०
1 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइतबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो ।

लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन्। ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारहरूको भ्रमण रोकिएको छ। यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।

अहिले परराष्ट्रमन्त्री एनपी साउद गइसकेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भ्रमण टोलीमा ५ सदस्यीय टोली रहने जनाइएको छ ।