काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास बन्द गराएका हुन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । पूर्व निर्धारित विरोधका कार्यक्रम अनुसार भदौ २५ गते सोमबार र भदौ २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए। सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।
सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसंग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
पक्राउ गरिएका कर्मचारीको गोपनीयताको हक सुनिश्चित नभएको र वैयक्तिक विवरण सार्वजनिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरूले माग गरेका छन् । यद्यपि अपराधमा संलग्न व्यक्ति नछुटुन् भनेर आफूहरू सचेत रहेको र त्यसमा आफूहरूको सहयोग रहने कर्मचारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया